झापामा सुरक्षाका लागि गो–प्रो बडी क्यामेरा

0
1003

भद्रपुर ।

शान्ति–सुरक्षामा प्रविधिको जोड भन्ने योजनाका साथ जिल्ला प्रहरी कार्यालय झापाले गो–प्रो बडी क्यामेरा प्रयोगमा ल्याएको छ । जिल्लामा प्रविधियुक्त सुरक्षा प्रदान गर्नुका साथै घटनास्थलमा भएका घटनालाई भिडियो रेकर्ड गरेर जनतामा प्रहरीलाई पारदर्शिता र विश्वसनीयता बनाउन गो–प्रो बडी क्यामेरा प्रयोगमा ल्याएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

सोही प्रविधियुक्त सुरक्षा योजना बमोजिम प्रहरी कार्यालय झापाले बुधवार १५ वटा गो–प्रो बडी क्यामेरा आफ्ना मातहतका प्रहरी कार्यालयहरूलाई वितरण गरेको छ । इलाका प्रहरी काँकडभिट्टा, अनारमनि र दमकलाई २ –२ थान, इलाका प्रहरी कार्यालय धुलाबारी, झिलझिले, गौरीगञ्ज र वडा प्रहरी कार्यालय भद्रपुरलाई १–१ थान र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडलाई ५ थान गरी १५ वटा गो–प्रो बडी क्यामेरा प्रदान गरेको हो ।

प्रहरी उपरीक्षक कोइरालाले मातहतका प्रहरी इन्चार्जहरूलाई सो क्यामेरा हस्तान्तरण गरेका थिए । अहिले प्रविधियुक्त सुरक्षा योजना अघि बढिसकेको बताउँदै प्रहरी उपरीक्षक कोइरालाले भने, ‘गो प्रो बडी क्यामेराले फिल्डमा खटिएका प्रहरी कर्मचारीले जनतासमक्ष गरेको काम, कर्तव्य थाहा हुन्छ ।’

‘विशेष गरी सडकमा खटिएका ट्राफिक प्रहरीलाई यस क्यामेराले निक्कै सहयोग पुर्‍याउने छन्,’ उनले भने, ‘सवारीसाधन चेक जाँचको क्रममा सवारी चालकसँग हुने विवादको यसले अन्त्य गर्छ ।, ‘कसैले बिना हेलमेट, तीन जना सवार, मादक पदार्थ सेवन, सवारी कागजात नबोकेको दृश्य प्रहरीले लगाएको क्यामेरामा कैद हुन्छ, र विवाद पनि हुँदैन, उनले थपे ।’ साथै समाजमा हुने विकृति, झैझगडा लगायत गम्भीर खालका आपराधिक घटनामा पनि यस क्यामेराले झापा प्रहरीलाई अनुसन्धानमा सहयोग पुर्‍याउने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here