नेपालले नामिबियामा खेल्ने सिरिज अन्योलमा

६ चैत्र २०७६, बिहीबार मा प्रकाशित

विक्रम गिरी/काठमाडौँ,

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले नामिबियामा खेल्ने सिरिजबारे अन्योल देखिएको छ । आइसिसीले यही चैत १९ देखि २६ गेतसम्म लिग दुई अन्तर्गतको पाँचौँ चरणको अमेरिका, संयुक्त अरब इमिरेटस् (युएई) र स्कटल्याण्ड बीचको सिरिज रद्द गरेपछि नेपालले खेल्ने छैटौँ चरणको नामिबिया सिरिजबारे द्विविधा उत्पन्न भएको हो ।

आइसिसीले नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज आगामी वैशाख ८ देखि १५ गतेसम्म गर्ने तालिका सार्वजनिक गरेको थियो । आइसिसीले कोरोना भाइरसका कारण पाँचौँ चरणको सिरिज रद्द गरेपछि छैटौँ चरणको नामिबिया सिरिज पनि रद्द गर्ने सम्भावना बढेको छ । प्रतियोगिताबारे नामिबिया क्रिकेट सङ्घको आधिकारिक जवाफ प्राप्त नभएको नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । “हामी आइसिसीको आधिकारिक निर्णयको पर्खाईमा छौँ”, उहाँले भन्नुभयो । प्रतियोगिताका लागि क्यानले सञ्चालन गर्ने प्रशिक्षण पनि अन्योलमा छ ।

आइसिसी विश्वकप लिग दुई सन् २०२२ सम्म सञ्चालन हुनेछ । लिग दुईमा नेपालसहित अमेरिका, स्कटल्याण्ड, ओमान, युएई, नामिबिया र पपुवा न्यू गिनी छन् । प्रत्येक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्नेछन् । लिगको शीर्ष तीन टोली सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुईसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।

नेपालले माघ तेस्रो साता घरेलु मैदानमा ओमान र अमेरिकासँग विश्वकप लिग दुईको पहिलो त्रिकोणात्मक सिरिज खेलको थियो । उक्त सिरिजमा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो भने अमेरिकासितको दुवै खेल जितेको थियो । नेपालले हालसम्म खेलेको चार खेलमा दुईमा जित तथा दुईमा हारका साथ चार अङ्क बटुलेको छ । नेपालले लिग दुईअन्तर्गत अब ३२ खेल खेल्न बाँकी छ ।

लिग दुईमा हालसम्म ओमान शीर्ष स्थानमा छ । ओमानले खेलेको १० खेलमा आठमा जित तथा दुईमा हारसँगै १६ अङ्क बटुलेको छ । लिगको दोस्रो स्थानमा अमेरिका रहेको छ । उसले १२ खेलमा छ मा जित तथा छ मा हारसँगै १२ अङ्क बनाएको छ । यस्तै स्कटल्याण्ड आठ खेलमा चारमा जित तथा तीनमा हारका तेस्रो स्थानमा छ ।

यसैगरी नामिबिया सात खेलमा चारमा जित तथा तीनमा हारका साथ चौथो स्थानमा छ । युएई सात खेलमा तीनमा जित तथा तीनमा हार ब्यहोर्दै लिगको पाँचौँ स्थानमा छ । नेपाल चार अङ्क बटुल्दै छैटौँ स्थानमा छ भने पपुवा न्यू गिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित हुँदै अङ्कबिहीन अवस्थामा छ । आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । आइसीसी लिग दुई सन् २०१९ को अगस्तदेखि शुरु भएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here