अज्ञात रोगबाट दुई नाबालकको मृत्यु

0
598

बाजुरा,

यहाँको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ । वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको स्थानीय आनन्द बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार खम्वीरसिंह थापाको यही चैत ५ गते र डम्मरकला विकको चैत ३ गते दिन मृत्यु भएको हो । अहिले सो गाउँपालिकाको वडा नं १ र २ का बालबालिका तथा वृद्धवृद्धा बिरामी परेको बताइएको छ । ज्वरो आउने, खोकी लाग्ने र हातखुट्टा दुख्ने लक्षण देखिएको गाउँपालिका उपाध्यक्ष मीना बुढाले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले प्रभावित गाउँमा स्वास्थ्यकर्मी परिचालन भएको जानकारी दिनुभयो । यसैगरी चुवाना, छुदरी, सुपेना, फयालगाउँ, वाउनवाडा, माझगाउँ, पुडेनी, लौडीसहितका गाउकाँ बासिन्दा बिरामी पर्न थालेका छन् ।

गत माघ महिनामा ती गाउँमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको थियो । गाउँमा बिरामीको सङ्ख्या धेरै रहेको जानकारी आएको र गाउँपालिकासँगको सहकार्यमा टोली गइसकेकाले प्रमुख पन्तले जानकारी दिनुभयो । अहेब विर्ज विकसहितको टोली प्रभावित गाउँमा पुगिसेको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले दुईनाबालकको मृत्यु भएको र केही बिरामी परेको जानकारी पाएलगत्तै स्वास्थ्यकर्मी परिचालन गरी उपचार शुरु गरिएको बताउनुभयो । गाउँपालिका केन्द्रबाट प्रभावित क्षेत्र अढाइ घण्टाको पैदल दूरीमा पर्छ । प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले पनि सङ्क्रमण फैलिएको खबर प्राप्त भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले स्वास्थ्यकर्मी प्रभावित भनिएको गाउँतिर पठाइसकेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here