झापामा सजगता फितलो

0
883

पार्थ मण्डल/भद्रपुर।

कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट बच्न सरकारले सजगता अपनाउन विभिन्न निर्णय गर्दै देशभर लागू हुने गरी कडा निर्देशन जारी गरेको छ ।

सरकारले कडा निर्देशन जारी गरे पनि झापाको सीमा नाकामा कोरोनाविरुद्ध त्यस्तो सजगता अपनाएको देखिएन । भारतको विहार तथा पश्चिम बंगालसँग जोडिएको भद्रपुर सीमा नाकाबाट आवतजावत गर्ने सर्वसाधारणको स्वास्थ्य परीक्षण सीमित समय अवधि सम्म मात्र हुने गरेको पाइएको छ । भारतको पश्चिम बंगाल सरकारले भद्रपुरतर्फ आउने नाका बन्द गरिसकेको छ ।

विहार सरकारले नाका खुल्ला राख्दा त्यहींबाट दैनिक सयौँको संख्यामा दुवै देशका नागरिक आवतजावत गरिरहेका छन् । तर, तिनीहरूको स्वास्थ्य परीक्षण बिहान साढे १०देखि बेलुका ५ बजेसम्म मात्र हुने गरेको छ । भद्रपुर नगरपालिका कार्यालयको स्वास्थ्य शाखा र वडा प्रहरी कार्यालयले संयुक्त रूपमा भद्रपुरमा हेल्थ डेस्क स्थापना गरेर ज्वरो नाप्न थर्मल गन प्रयोग गरेर सर्वसाधारणको स्वास्थ्य परीक्षण शुरु गरेको छ ।

हेल्थ डेस्कमा तीन जना प्रहरी र एक जना स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्यकर्मी कार्यालय समयसम्म मात्र हुने गरेकोले सीमामा जोखिम बढेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए । बिहान ६ बजेदेखि राति १० बजेसम्म नाका खुल्ला हुन्छ । बिहान ६ देखि १० र बेलुका ५देखि राति १० बजेसम्म कुनै स्वास्थ्यकर्मी हेल्थ डेस्कमा नहुँदा भारतबाट आउनेको स्वास्थ्य परीक्षण हुन नसकेको उनको भनाइ छ ।

बिहान र बेलुका हेल्थ डेस्कमा प्रहरीले मात्र ड्युटी दिएर केही नहुने बताउँदै– उनले भने– ‘कोरोनाबिरुद्ध भद्रपुर नगरपालिकाले तत्काल स्वयम्सेवक परिचालन गर्न आवश्यक देखिन्छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म स्वास्थ्यकर्मी र स्वयम्सेवक परिचालन गरे मात्र कोरोना नियन्त्रण हुन्छ, प्रहरीले मात्र केही गर्न सक्दैन ।’

यता भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले भद्रपुर नाकामा स्वास्थ्यकर्मी जानै डराइरहेको बताएका छन् । स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामग्री नहुँदा समस्या भइरहेको बताउँदै उनले भने– ‘यसका लागि छलफल भइरहेको छ, अब चाँडै सीमामा जनशक्ति थपिनेछ ।’ कोरोनाबिरुद्ध लड्न सबै सजग हुनुपर्ने उनको भनाइ छ ।
मेची अस्पतालमा आइसोलेसन वार्ड

कोरोनाबाट बच्न मेची अञ्चल अस्पताल भद्रपुरमा ८ बेडको आइसोलेसन वार्ड तयार गरिएको छ । आइसोलेसन वार्डमा संक्रमित बिरामीका लागि चाहिने सम्पूर्ण स्वास्थ्य उपकरणसहित सामान खरिद गरी अस्पतालले तयारी अवस्थामा राखेको जनाइएको छ । सो आइसोलेसन वार्ड बाहिर सेवाग्राहीलाई आवतजावतमा बन्देज लगाइएको छ ।

शंकास्पद बिरामी आएमा तिनको उपचारमा खटिने रेपिड रेस्पोन्स टिम डाक्टर गोविन्द कँडेलको नेतृत्वमा गठन भइसकेको अस्पतालका मेसु डाक्टर पीताम्बर ठाकुरले जानकारी दिए । अस्पतालमा सेवा लिन आउने हरेक बिरामी वा आफन्तले हात धोएर, थर्मल गनले ज्वरो जाँच गरेर मात्र प्रवेश गर्न थालिसकेको उनले बताए । ‘कोरोनाको कारणले अस्पतालमा आकस्मिक बाहेकका सबै शल्यक्रिया सेवा बन्द गरेका छांै’– मेसु ठाकुरले भने– ‘कोरोना संक्रमित बिरामीका लागि आवश्यक परेको बेला आइसीयु पनि तयारी अवस्थामा राखेका छौं ।’

आपत्कालीन अस्थायी क्वारेन्टाइन

सरकारको निर्देशन बमोजिम भद्रपुर–१०स्थित कलवलगुढी प्रशिक्षण केन्द्रको भवनमा आपत्कालीन अस्थायी क्वारेन्टाइन बनाउने काम धमाधम भइरहेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए । ‘कोरोना संक्रमितको शंका लागेकालाई उचित स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सेवा प्रदान गर्न प्रशिक्षण केन्द्रमा ३२ बेड क्षमता भएको क्वारेन्टाइन बन्दैछ’– उनले भने ।

यसका लागि भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटीसहितको समिति क्वारेन्टाइन बनाउने काममा लागीपरेको छ ।

क्वारेन्टाइनमा चाहिने खानेपानी, बिजुली, घेरावारा, सरसफाई, स्वास्थ्य सामग्री, निर्माण सामग्रीको व्यवस्थापन कार्यमा अन्तिम चरणमा पुगेको जनाइएको छ । बिहीबार बेलुकासम्म क्वारेन्टाइन निर्माण भइसक्ने नगरपालिकाका मेयर श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here