झापा ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको सम्भाव्य सङ्क्रमणबाट जोगिनकै लागि शहरमा विभिन्न सेवा, पेशा र व्यवसाय गर्दै आएका गाउँ फर्कन थालेपछि बजार सुनसान बन्दै गएको छ ।
झापाको बिर्तामोड, कांकरभिट्टा, दमक, भद्रपुर लगायतका स्थानमा मानिसको चहलपहल घटेको बताइएको छ । सडकमा मानिसको संख्या घटेकोभने गाँउ जानेको संख्या बढ्दै गएको हो।
सरकारले कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजगर गर्दै विद्यालयमा चैत ४ गतेभित्र परीक्षा सक्न दिएको निर्देशनसँगै शैक्षिक संस्था बुधबारदेखि बन्द भएका छन् ।
विद्यालय बन्द भएसँगै बालबच्चा पढाउनकै लागि डेरा गरी बसेका अभिभावक बालबच्चासहित घर फर्कन थालेका कारण पनि बजार सुनसान बन्दै गएको हो ।
गाउँतर्फ जाने सार्वजनिक सवारी साधनमा यात्रु देखिने गरे पनि शहरी क्षेत्रमा गुड्ने सवारी साधन भने अत्यन्त कम यात्रु लिएर गुडिरहेका देखिन्छन् ।
बाहिरबाट समान आउन अहिलेसम्म खासै समस्या नरहे पनि व्यापार नै नहुँदा व्यवसायी मर्कामा परेको ब्यवसायीहरुले बताएका छन् । कति पयले आफ्नो ब्यवसाय बन्द गर्न शुरु गरेका छन् । सरकारले २५ जनाभन्दा धेरै बेला नहुन निर्देशन जारी गरेपछि अहिले सार्वजानिक कार्यक्रमहरु स्थगित भएका छन् ।





























