गौरादहका हाटबजार बन्द गर्ने निर्णय

७ चैत्र २०७६, शुक्रबार मा प्रकाशित

दमक,

महामारीका रूपमा फैलिँदै गरेको कोरोना भाइरसको सङ्क्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न झापाको गौरादह नगरपालिकाकाले नगरभित्रका साप्ताहिक तथा अद्र्ध साप्ताहिक हाटबजार केही समयका लागि बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकामा उद्योग वाणिज्य सङ्घसहितको सर्वपक्षीय बैठकमा नगरभित्रका हाटबजारमा हुने भिडभाडले सङ्क्रमणको जोखिम निम्त्याउनसक्ने भएकाले त्यसबाट सावधानी अपनाउनका लागि स्थानीय हाटबजार बन्द गर्ने निर्णय भएको नगरप्रमुख रोहितकुमार साहले बताउनुभयो । गौरादह बजारमा बिहीबार र आइतबार गरी दुई सातामा दुई दिन हाट लाग्दै आएको छ भने नगरभित्रका ग्वाँलडुब्बा, स्कुलचौन, बैगुनधुरालगायतका स्थानमा साप्ताहिकरूपमा हाटबजार लाग्दैआएको छ ।

नगरभित्र रहेका हाटबजार बन्द गरिए पनि नियमितरूपमा सञ्चालन भइरहेको गुन्द्री बजारलाई भने यथावत सञ्चालन गर्ने निर्णय गरिएको छ । हाटबजार लाग्दा बढी भिडभाड र मानिसहरुको चहलपहल बढी हुने भएकाले केही समयका लागि बन्द गर्ने निर्णय भएको नगर प्रमुख साहले बताउनुभयो ।

यस्तै कोरोना भाइरसबाट सर्तकता अपनाउन नगर प्रमुख साहको संयोजकत्वमा नगरस्तरीय कोरोना रोकथाम तथा प्रतिकारात्मक तयारी समितिसमेत गठन गर्नुका साथै बजारमा हुने कालोबजारीलाई अनुगमन गरी नियन्त्रण गर्ने र नगरभित्रका सबै हाटबजार तथा नाकामा स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको छ ।

बैठकले कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न रोकथाम तथा नियन्त्रणकारी निर्णयसमेत गरेको छ । दमक–९ स्थित हरि हिमा ढकाल स्मृति प्रतिष्ठानले बिरामीको आकस्मिक उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । प्रतिष्ठानका अध्यक्ष टङ्क ढकालले कोरोना सङ्क्रमित बिरामीको उपचारमा सेवा पुु¥याउन प्रदेश नं १ भरि निःशुल्कसेवा उपलब्ध गराउने बताउनुभयो ।

प्रतिष्ठानले प्रदेश १ भरिका अस्पतालमा बिरामी लैजान प्रतिष्ठानको एम्बुुलेन्स तैनाथ गरिने उहाँले जानकारी दिनुभयो । यसअघि उक्त प्रतिष्ठानले बिरामीलाई आवश्यक पर्ने अक्सिजनलगायतका सेवासमेत निःशुल्क उपलब्ध गराउँदैआएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here