कुरा सुनेर मेरो नाकमा डुङ्ग सिनु गनायो !

८ चैत्र २०७६, शनिबार मा प्रकाशित

व्यंग्यनारान पाँडे,

म धारानेरको आँटीमा बसेर दाँत माझ्दैथेँ, गौंथलीको बाऊले मलाई सँधै झैं बरण्डामा नदेखेपछि त्यहीँ आए र फटाफट भने— “हन तपइँ एस्बेला दाँत मात्तै माज्दैछौ ? हन नउ–दस बज्न कति घण्ट पनि छैन त हँ ? सप्पै हामेरका कम्रेटेली नेपालीले एस्तै सामान्ती पारा तपइँहेरु जइसा अकम्रेटबड सिके भने एस देशाँ सम्बिर्दि आउँछ त ?”
मैले मुख कुल्ला गरेर थुकेपछि भनें— “बिहानै छ त दाइ, अहिले सात पनि बजेको छैन ।”
उनले डेब्रो कुरो गर्दै भने— “सात बजी ट्याम कम हो त ? अब दुई घण्टपछि नउ बज्दैन त अनि ? फेरि तो नउ बजीको ए घण्ट देरीमा दस बज्छ कि बद्दैन ? एस्ता सामान्ती चालाले के गर्न भ्याइँच त ?”
मैले सजिलै भनें— “मैले के गर्न भ्याउनु छ र हतार गर्नु ? एकाबिहानै छरछिमेकीका कुकुर भुकाउने पेशा पनि होइन मेरो । अझ आज त छिट्टै पो दाँत माझें ।”

उनले आँखाले मेरो अनुहार पढे र के बुझे कुन्नि, भने— “मेरो त यो हामेरको गनतन्त्रलाई कतैबड छ्यास्स केइ पो भइहाल्छ कि भन्र मेरा गाम–टोल छेत्रको एरिआका घरहर्मा डेल्लीका डेल्ली सररर एक ए’खेप भर्मन नलाई हुँदै हुँदैन । होल–टोट्टल इन्फोरमिसन माथि पठाउने जम्मै जिम्मावारीको जिम्मावाल पदमा म छु भन्ने त तपइँहर्लाई किल्लेरै छइँछ ।”

उनी भन्दै गए— “हुन त म हिन्दीमा दो पन्ता एक काच भन्या जइसो एउडा बाटो दोडा काम गर्ने सिकेन्स मिलाइरछु । अर्ताथ, बेहानको मर्निङ टरममा एफेमबड बजेर रेड्योले फइलोट गर्ने न्यूचको समचार म रेग्गुल्लरका रेग्गुल्लर सुन्छु । हामेरको समचारको न्यूच सुन्न र हामेरका नेता–कम्रेटहर्का डेल्लीका डेल्ली च्यान्ज हुने बिचार र ह्वाँहर्को डेल्लीका डेल्ली अक्कासिने हाइब्रीट पर्गति–धन्दउलत सनबन्दी ग्यान जान्न एब्दम जडुली छ । कम्मिनिसको कम्रेट गर्न जान्ने हुनु भन्या नै यइ र एति नै त हो टोट्टलिङमा । अन्तखेरि हिँज्आज म दो पन्ता–एक काच अर्ताथ एउडा बाटो दुईडा काम गर्दैछु । म बेहान उठ्ता एफेमबड न्यूच बज्ने ट्याम भइराख्या हुन्च र सर्बपैला जुल्पे मियाँ केटोकाँ जान्छ र रेड्यो खोल्छु । त्याँ एक अद्दे न्यूच सुनेसि बिग्यापनको लागि इन्ट्रबल लाग्छ । तेससि म पल्ला गाम्की गोताम्नी आमैकामा करिभन छे–सात मिलिटमै पुग्छु । त्याँ दुस्रो अद्दे न्यूच फिनिसिएसि पुनह बिग्यापनको इन्टङबल लाग्छ र फोके कान्छीको च्या दोगानतिर लाग्छु । त्याँ पुग्न छे–सात मिलिटै अथैवा बाटामा पेसाप–उसाप फेर्नु परो पनि मेस्सिमम् सात मिलिट लाग्छ । त्याँ पुग्दा लास् अद्दे न्यूच ठ्याक्क भेट्छु र एक पेला च्या मागेर सुक्र्याउँदै सुन्छु । एसो भएसि छिमेकीहर्सित भेटाघाटा जन्सन्पर्क पनि भो चाइनेकेरे बेहान–बेहानको फुल–टोट्टल कोटा न्यूच पनि सुन्न पाइयो । कम डिफिकल छ हामेरलाई गनतन्त्रको कम्रेट गर्न । हरेक थोक जानेको हुनै पर्च अनि बेहान एकामर्निङ काममा नलाग्ने भ्याइनेभा पो !”

मैले सोधें— “दाइकहाँ चाहिँ रेडियो छैन ?”
उनले तुरुन्त भने— “किन नहुनु, छ नि छन ता । भख्खर पोरप्रार एलेक्सिनको भोटको कमाइका ट्याममा टन्न नयाँ एर्भीडे बइटरी हाल्या थेँ र राम्रै बोल्दैथ्यो, अस्ति पचात्तर साल जेठदेखुन्, बोल्नै छोडो ठाँडो । पुराना रेड्याका थोत्रा ठाँडा त झन एक डोकै छन्, छोरीहर्ले उन्का सरहेरुबड हातलागी गर्दै गीद–गाना बजा’र थोत्रा पारेका ! तेसो त टिबीका थोत्रा बाकस पनि गोडा तिनेक छन् । पोर रामदुलारीलाई काट्माडुँमा टुरिङ गर्न लग्दा दश दिन लागो । हामेरुसँग पअअअर झोडाको चउधरीको परहरी छोरो पनि गइरथो । हामेरु काट्माडुँ ओर्लेका भोलिपल्टदेखुन् नै रामदुलारीले सो–उक्त लाठेलाई साथी बना’र पोखरा घुम्न जाने भन्र उँधेरु हिंडेका साता दिन्मा मात्तै घुरे र हामेरु भेला भ’र एता घुर्न ढिला भो । र, तेस दस दिनाँ मुसाका ढाडेले ती तिन्टै टिबीमा इलेक्टरी जोर्ने तार र पलक काटेर भुर्कुट पारेका राँन । नयाँ पलक र तार कम्रेट हरिराम बाजेले पारि इण्डेतिरका जेजेमानकाँ पुरेत गर्न जाँदा फिरीमा लेराइदिन्छु भन्र आसबासुन देका पनि अस्ति फग्वा–होलीका दिन एक बर्ख ठ्याक्क पुगो, किन लेराइदेनन् भन्र सोद्न पनि भ्याइया छैन । उन्सँग डेल्ली भेट हुन्छ नि कैलुका भट्टी हुटेलमा, त्याँ बोल्या कुरा फास्स न फुस्स ! आफूले तेस्ता सिम्पुल जिनिस किनिहिन्न पेस्टिचले दिंदैन । अब कुरा दिन कुँडाकर्कट–भाँडाटुटाको बेपारी बेहारीलाई तराजुमा ओएट गरा’र बेत्छु ती जम्मै ठाँडा कर्याककुरुक पारेर चाइनेकेरे बोरामा हालेर चाइनेकेरे पलासटीकको भाउमा र तेस दिन रीस्सैले अघाउन्जी बोइलारका आन्द्राभूडीको भुटुवासित झीएपी झ्याप भउन्जेल एक जर्किन कोदाको तीनपाने र तेइ कैलुको भट्टी हुटेलको बिरेन्चीमै सुतिदिन्छु, लु खा त, तेस्सिमालाने इजोत न सिजोत । थाइ नपा’सि भुत्राको पेस्टिच ! तर, अ‍ैले थोत्रा पलासटीकको भाउ पो के छ कोनि र सारै घमनको कुरो गरिहाल्नु पनि म जत्तिका व्यात्तित्वका लागि मुन्नासिब हुँदैन, होइन्त ?”

मैले प्रश्न राखें— “एउटा न्यूज एक ठाउँको रेडियोबाट सुनिसकेर छ–सात मिनटमा अर्को ठाउँ पुगी अर्को न्यूज पूरै सुन्न भ्याइन्छ र दाइ ?”
उनले फुर्केर भने— “गज्जपले भ्याइँच । न्यूच बजाउने टोट्टल ट्याम आदा घण्ट हुन्च । आदा घण्ट भन्या टोट्टलिङ तीन मिलिटको हुन्च । तेसमा तीन–तीन मिलिट न्यूचले खान्च भने बिग्यापनको इन्टङबलले सात–सात मिलिट खाँदा टोट्टल एक–बीस एक मिलिट खान्छ । नउ मिलिट र एकबी–स एकले तीस मिलिट भ’न त ?”
मैले फेरि प्रश्नै राखें—“दाइ सिनियर मान्छे, पुराना सामान त थुप्रै होलान् नि दाइ ? के–के छन् हँ ?”
उनले दुबै ओठ जिब्रोले हिल्याए अनि सुख्खा नाकबाट स्याँक्क उँभौली सास तानेपछि भने— “रामदुलारीले काँसा–ताँबाका हाँडाभाँडा जति मलाई ‘आइ लप इउ’ भन्दै फका’र उस्का देशतिर नओसारेकी भादेखुन् त थे नि झन्नै एउडा टडकले पनि बोक्न नसक्ने । तपइँलाई मेरा ती सप्पै समानको लिस्टी, तिन्का मूल्लेवानता, तिन्मा मेरो लगनी र अ‍ैलेको दाम नेरु–भारु र डल्लरमा कति हज्जार, कति लाख र कति सहे हुन्च भन्ने एचुएल हिसाप चाइया हो भने अलि धइरजे गरी ठेर हए, रामदुलारीलाई टुरिङबड घुर्न देऊ ।”
सोधें मैले— “रामदुलारी दाइसित छैन ?”

उनले आँखा अँध्यारो पार्दै भने—“हत्तेरिका ! कस्तो लोदरे वाक्के निकाल्छौ हउ हन ? एता नेपालको मेरा घराँ टुरिङ सकेर उस्को देशमा उस्को मुर्धुमे मरद भा’घराँ नगउन्जेल रामदुलारे सिरिप मेरी हो, मसित नहुने त कुरै नट नि । उस्का कतिपए इन्पोरट्यान जिनिस बाएक धेरैपए लुगाफाटा, मजेत्रो, च्याफ्लीहेरु मेरा घरमै छन् । अस्ति फग्वा–होलीका दिनदेखुन् बाइरबाइरै बास छ भन्ने त उस्को सम्बिदानिक सोतन्त्रता नै हो । ऊ पनि नेपाली नागृकता पर्चीवाली हो । अब भोलिर्सिसम्म आइहाल्छे भन्ने सिउरली छ । हाल ऊ नागृकता पर्ची किन्दा अपुग रुप्पे हाल्दिने हामेरकै सेटिङका मूल इण्डन तस्करज्यूको टडकका पञ्जापी डाइबरलाई बोडदी गाठ बना’र सिल्गढीको टुरिङमा गकी आज बल्ल छे दिन–छे रात त भो । ती डाइबर कठबाँस जइसो ज्यूज्यानका तगडा भकाले मलाई नलगेर उल्लाई लगेकी । सिल्गढी जइसो चोराखन्ती थुप्रै भा’ठाममा हेर्दै उस्ती माक्कमुक्क र हेरिरउँ जस्ती बिउटीएस मैलालाई बल्यो बोडी गाठ बिना त के पठाउँथे म ! म जस्तो व्याक्तिले तेती बुद्दि पनि नपुराउनु हो भने एत्रो छेत्रको एरिआमा के कम्रेट गर्न सक्थें त ? योग्गेता भन्या योग्गेताइ हो नि । तेल्ले मेरा कन्टोलमा मसित भउन्जेल मलाई छोड्ने त कुरै नट् नि हओ, कुरै नट् नि गाँठे ।”
अनि उनले आँखा चम्किला पार्दै चाम बाँधेर आफूलाई कल्पनाविभोर बनाइरहेका बेला मेरो नाकमा चाहिँ आँखै फुला पर्ला झैं डुङ्ग सिनु गनाइरहेको थियो ।….

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here