सजगता, एकता र सहकार्य चाहियो

९ चैत्र २०७६, आईतवार मा प्रकाशित

सम्पादकीय

विश्व स्वास्थ्य संगठनले अहिलेसम्म सुरक्षित तर उच्च जोखिममा रहेको उल्लेख गरेको देशका भाग्यमानी नेपालीलाई यसको प्रतिरक्षाका लागि सचेत रहन जरुरी छ । वरिपरिका सबै देशहरु कोरोना संक्रमणको चपेटामा परेका बेला सरकारले सेवाग्राहीहरुको भीड रहने कार्यालयहरु, शिक्षण संस्थाहरु, मेला–जात्रा, सिनेमाघर, भोजभतेर लगायतका कार्यक्रमहरु बन्द गर्न आग्रह गरेपछि आम मानिसमा केही सजगता आएको छ । त्यसकै परिणाम हो कि सडकमा ट्राफिक भीडभाड कम छ, सवारी र यात्रुहरुको चाप घट्दै गएको छ । यहीबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ विशेष सम्बोधन गर्दै खानेपानी, सञ्चार, स्वास्थ्य, विद्युत्, होटल, ढुवानी, बैंक, खाद्यवस्तु, पेट्रोलियम र फोहोर व्यवस्थापन लगायतलाई अत्यावश्यकीय सेवा घोषणा गरे । यस बाहेकका अन्य सबै प्रकृतिका सेवा हाललाई बन्द गर्न प्रधानमन्त्रीले निर्देशन दिए ।

विश्वमा नवीन भाइरसका रुपमा देखिएको यसको संक्रमणका कारण दश हजारभन्दा बढी मानिसले जीवन गुमाइसकेका छन् । नयाँ भएकै कारण यसको निश्चित उपचार र औषधि आविष्कार भयो भनिए पनि आधिकारिकता नभएका कारण कोरोना आजका दिनसम्म त्रासदीकै रुपमा रहेको छ । त्यही कारण छिमेकी देश भारतले यसअघि नै उच्च सतर्कता सँगै प्रतिरक्षाका उपायहरु अवलम्बन गरिरहेको छ । कोरोना त्रासले वैदेशिक रोजगारीमा गएका लाखौं युवा मानसिकरुपले कमजोर भइरहेका हुन सक्छन् । भारतमा रहेकाहरु भने ठूलो संख्यामा बिना रोकटोक, बिना परीक्षण नेपाल भित्रिरहेको सूचना पनि सार्वजनिक भइरहेको छ । सीमा नाकामा यथेष्ट सुरक्षाको प्रबन्ध गर्न नसक्दा कोरोना भाइरसले महामारीको रुप नलियोस् ढिलै भए पनि सरकारले प्रतिरक्षाको उपाय गर्न थालेको देखिएको छ ।

आर्थिक रुपले कमजोर भएकै कारण संक्रमण पछिको उपचार व्यवस्थापन गर्न कठिन भएकाले हुनसक्छ नेपाल जोखिममा छ भनिएको हो । त्यसैले यस्ता रोगसँग लड्ने हतियार भनेको सूचना र सतर्कता नै हो । त्यसकै लागि सरकारले ‘लक डाउन’को घोषणा गरेको छ । तर, हाम्रा गतिविधि त्यस विपरीत भइरहेका छन् । भीडभाड हुने, भोज गर्ने, अनावश्यक स्वतन्त्र घुमफिर गर्ने अथवा यसै भनौं सरकारको अपिलको अवमानना गर्ने प्रवृत्तिले आफूसँगै अरुलाई पनि क्षतिको ढोकामा पु¥याउँछ । त्यसैले सरकारको अपिललाई आम जनताले गम्भीरतापूर्वक ग्रहण गर्नुपर्छ । भीडभाड गराउने अनावश्यक हिँडडुल गर्ने, प्रतिरक्षाको उपायको अनुशरण नगर्ने चरित्रले पश्चाताप बाहेक केही दिने छैन ।

संक्रमण पछिको अवस्थाका लागि सरकारले अभिभावकत्व ग्रहण गर्ला, तर त्यसका लागि आवश्यक प्रविधि, उपकरण, जनशक्ति र भौतिक पूर्वाधार हामीसँग छैन । यो सत्यलाई प्रत्येकले आत्मसात गर्नुपर्दछ । यस्तो चेतना प्रवाह गर्न स्वयम्सेवी संघ–संस्थाहरु अघि आउनु पर्दछ । नागरिक समाजले पनि सचेतना र प्रतिरक्षाका लागि आ–आफ्नो तह र क्षेत्रबाट सुसूचित गराउनु पर्दछ । सेवा, अवस्था र प्रविधिको पहुँचमा नरहेको नेपाली समाजमा सचेतना अभियान अझै महत्वपूर्ण हुन्छ । रेडियो, पत्रपत्रिका, टेलिभिजन लगायत सामाजिक सञ्जालबाट अछुतो रहेको समाजमा स्वयम्सेवक परिचालन गरेर भए पनि प्रतिरक्षाका उपाय गरिनु पर्दछ । कोरोना नियन्त्रणका लागि सरकारले शुरु गरेको अभियानमा सबै वर्ग, तह, क्षेत्र र वाद वा विचारहरुको हातेमालो आजको आवश्यकता हो । स्वयम्को चेतना, एकता र उदारताले मात्र यस्ता संकटबाट मुक्ति पाइन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here