कोरोना भाइरसविरुद्ध : सामाजिक दूरी र सामाजिक एकता सँगसँगैे

१० चैत्र २०७६, सोमबार मा प्रकाशित

तीर्थराज खरेल,

अहिले विश्व कोरोनाभाइरसको महामारीबाट आक्रान्त छ । सम्पूर्ण आमसञ्चारमा सबैभन्दा बढी चाख र चासोको विषय बनेको छ कोरोना भाइरसको सन्त्रास । डर, त्रास र निराशा नकारात्मक संवेगहरु हुन् । तर, यसभित्र सकारात्मकताको पाटो पनि छ । त्रासले चिन्ता र चिन्तन एकैपटक सृजेको छ, सतर्कता र सजगता बढाएको छ । २०१९ को डिसेम्बरमा मध्य चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको कोभिड–१९ नामको भाइरसका कारण विश्वका दुई लाख ५० हजारभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने १० हजारभन्दा ज्यादाको ज्यान गइसकेको छ । चीनमा तीन हजार दुई सयभन्दा बढीको ज्यान लिएर यो भाइरस चीनबाहिर फैलिँदै गर्दा अहिले यसको आक्रमणको केन्द्र युरोपमा सरेको छ र त्यहाँ सबभन्दा बढी प्रभावित इटाली हुन पुगेको छ, जहाँ चार हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ४० हजारभन्दा बढी संक्रमित भएको तथ्याङ्क बाहिर आएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का सम्बन्धमा अनेकौं भ्रमहरु फैलिएका छन् र फैल्याइएका छन् । तर, यथार्थ चाहिँ आधिकारिक संस्थाका दस्तावेजहरुबाट पाउन सकिन्छ भन्ने सच्चाइलाई हामीले आत्मसात गर्नैपर्छ । गलत हल्ला र भ्रमहरूको पछि लाग्दा जनस्वास्थ्यमा गम्भीर असर पर्ने निश्चित छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ नेपाल लगायतका संस्था तथा निकायलाई हामीले आधिकारिक मान्न जरुरी छ । युनिसेफ नेपालले हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाइबाट सरेको पुष्टि नभएको, यो श्वासप्रश्वासबाट सर्ने भाइरस भएको र यसबाट संक्रमित व्यक्तिले खोक्दा र हाँच्छ्यु गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने प्रष्ट पारेको छ । हालसम्म लसुन खानाले कोरोना भाइरसको संक्रमण हुनबाट रोकथाम भएको तथ्य प्रमाणित भएको छैन । तिलको तेलले मालिस गर्नाले कोरोना भाइरस शरीरमा प्रवेश गर्नबाट रोक्दैन ।

तिलको तेलले कोरोना भाइरसलाई मार्न सक्दैन । भुइँ वा सतहमा भएको कोरोना भाइरसलाई निःसंक्रमण गर्न ७० प्रतिशत इथानोल, ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइटहरू भएको रसायन वा घोलक, प्रयोग गर्नुपर्छ र यी रसायनहरू कहिले पनि मानिसको शरीरमा प्रयोग गर्न हँुदैन भनेर युनिसेफ नेपालको दस्तावेजमा छ । सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्दछ । तर, ज्येष्ठ नागरिक र पहिल्यैदेखि नै दम, मधुमेह, मुटुको रोग जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई भने यो भाइरसले गम्भीर बिरामी बनाउने जोखिम हुन्छ । विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसार यस भाइरसबाट बच्नको लागि बेला–बेलामा साबुन पानीले मिचि–मिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गर्ने, श्वासप्रश्वास सम्बन्धी सरसफाईमा विशेष ध्यान दिने जस्तै खोक्दा, हाँच्छ्यु गर्दा नाक मुख छोप्नु पर्दछ । अर्को भ्रम कोरोना भाइरसबाट बच्न र संक्रमितको उपचारको लागि एन्टिबायोटिकको प्रयोग प्रभावकारी हुन्छ भन्ने छ । एन्टिबायोटिकले ब्याक्टेरियाविरुद्ध मात्र लड्न सक्ने क्षमता हुने भएकोले एन्टिबायोटिकको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन वा उपचार गर्न सकिँदैन ।

धर्मको नाम गरेर वा आयुर्वेदिक वा अन्य कुनै उपचार पद्धतिको नाम बेचेर कोरोना भाइरसविरुद्धको औषधि बनिसकेको भनेर भ्रम फैल्याइएको छ, तर हालसम्म कोरोना भाइरसबाट बच्न वा उपचारको लागि कुनै औषधि पत्ता लागिसकेको छैन । तर, संक्रमितलाई देखिएको लक्षण अनुसारको औषधि उपचार गरी स्याहार गर्नुपर्छ । यस भाइरसबाट संक्रमित गम्भीर बिरामीलाई अस्पतालमा भर्ना गरी लक्षण अनुसारका विशेष उपचार तथा स्याहार गरिन्छ । यसको उपचारको बारेमा धेरै देशहरुमा अध्ययन अनुसन्धान भइरहेको छ भने विश्व स्वास्थ्य संगठनले साझेदारहरुसँगको समन्वयमा यस विषयमा अध्ययन र अनुसन्धानलाई तीव्ररुपले अघि बढाइरहेको छ । पुरै शरीरमा अल्कोहल वा क्लोरिन लगाएमा वा छरेमा कोरोना भाइरस मर्छ भन्ने भ्रम छ । तर, शरीरभित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि अल्कोहल वा क्लोरिन पुरै शरीरमा लगाउँदा वा छर्कंदा यो भाइरस मर्दैन । बरु यसरी छर्कनाले तपाईको लुगा वा शरीरमा रहेका स–साना छिद्रहरुका साथै आँखा, मुख, नाक आदिमा हानी पुग्न सक्दछ । सहि मात्रामा प्रयोग गरिएको खण्डमा अल्कोहल र क्लोरिनले भुइँ वा सतहलाई निःसंक्रमण गर्न मद्दत गर्दछ । हालसम्म घरपालुवा जनावर जस्तैः कुकुर, बिरालो आदि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छैन ।

निमोनियाविरुद्धका खोपहरू जस्तै ‘न्युमोकोकल भ्याक्सिन’ र ‘हेमोफिलस इन्फ्लुएन्जा’ टाइप बी भ्याक्सिनले कोरोना भाइरसबाट जोगाउन सक्दैन । यो नयाँ र फरक किसिमको भाइरस भएकोले यसको लागि छुटै प्रकारको खोप चाहिन्छ । कोरोना भाइरसविरुद्धको खोपको विकासका लागि अनुसन्धान भइरहेको छ, तर अहिलेसम्म पत्ता लागिसकेको छैन भन्ने सच्चाइलाई हामीले बुझ्न जरुरी छ । कोरोना भाइरस सम्बन्धमा अर्को भ्रम भनेको यो जाडो ठाउँमा संक्रमण हुन्छ र गर्मी ठाउँमा यो बाँच्न सक्दैन भन्ने छ, तर कोरोना भाइरस गर्मी वा जाडो र आद्रता वा सुख्खा तापक्रम भएका सबै ठाउँहरुमा फैलिसकेको छ । गर्मी वा जाडो जहाँ बस्ने भए पनि सावधानी अपनाउनुपर्छ । लसुन, बोझो र बेसार खानु स्वास्थ्यको लागि लाभदायक हो, यसले हामीलाई स्वस्थ राख्न मद्दत पनि गर्दछ । तर हालसम्म लसुन वा बोझो वा बेसारको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित भएको तथ्य फेला परेको छैन ।

कोरोना भाइरसको इपिसेन्टर अहिले युरोप भएको छ । अहिले बढी प्रभावित भइरहेका मुलुकहरुमा युरोपमा स्पेन, जर्मनी, फ्रान्स, पोर्चुगल आदि छन् भने युरोपमा बाँकी अन्य सबै नै मुलुकहरुमा कोभिड–१९ भाइरसले प्रवेश पाई असर देखाउन थालिसकेको छ । एशियामा चीनपछि सबभन्दा बढी प्रभावित मुलुकहरुमा इरान, दक्षिण कोरिया, जापान आदि परेका छन् । झण्डै दुई सयको हाराहारीमा रहेका विश्वभरिका मुलुकहरुमध्ये मुश्किलले अब १५÷२० वटा मुलुकहरु मात्र कोरोनाबाट अझै प्रभावित हुन बाँकी छन् । अहिले भारतमा तीव्र गतिमा यो भाइरस फैलिने क्रम चलिरहेको छ । नेपालमा भने अहिलेसम्म एकजनामा मात्र यो भाइरस देखिएको छ, जो उपचारपछि निको भई सामान्य दिनचर्यामा फर्किसकेका छन् । तर, विश्व स्वास्थ्य संगठनले उच्च जोखिमको देश भनी सतर्क हुन आह्वान गरेपछि अहिले नेपाल सरकारले विद्यालय, कलेज, विश्वविद्यालय तथा सार्वजनिक भेला हुने सिनेमा हल, खेल क्षेत्र लगायतका सम्पूर्ण स्थलहरुको सञ्चालनमा कम्तीमा चैत मसान्तसम्मका लागि रोक लगाएको छ । अन्तर्राष्ट्रिय हवाइ उडान मात्र होइन लामा दूरीको यातायात सेवा तथा आन्तरिक उडानहरु पनि केही समयका लागि रोक्ने नेपाल सरकारले निर्णय गरिरकेको छ ।

कोरोना भाइरस प्राकृतिक जीवाणु वा कृत्रिम जीवाणु के बाट उत्पत्ति भएको हो भन्ने बारेमा तर्क–वितर्क र आरोप–प्रत्यारोप चलिरहेको छ । जे भए पनि कोभिड–१९ संक्रामक रोग हो र महामारीको रुपमा विकास हुनु सबैभन्दा खतरनाक कुरा हो । अहिले धेरै देशमा आवतजावतमा रोक, ठूलो संख्यामा भेला, सभासम्मेलन गर्नमा रोक, विद्यालय, कलेज बन्द जस्ता कार्यनीतिहरु अवलम्बन गरिएका छन् । भारतीय सरकारले ‘जनता कफ्र्यु’ को घोषणा गरेको छ भने दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जनतालाई पाँच जनाभन्दा बढी भेला नहुन उर्दी जारी गरेका छन् । यसले सामाजिक दूरी कायम राख्न र संक्रमणबाट जोगिन सबैमा अपिल गरेको स्पष्ट देखिन्छ । आइसोलेसन र क्वारेन्टाइन लगायतका भौतिक दूरी वा सामाजिक दूरी कायम गरेर कोरोना भाइरसको बढ्दो संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ ।

अहिलेसम्मको सबैभन्दा शक्तिशाली उपायको रुपमा भौतिक वा सामाजिक दूरी कायम गर्नुलाई मानिएको छ । देशान्तर वा देशान्तरिक दुबै अवस्थामा संक्रमणलाई रोक्न जनता र जनताका वीचमा, देश र देशका बीचमा साथै अन्तर्राष्ट्रिय स्तरबाट साझा लक्ष्यका लागि एकताबद्ध हुन जरुरी छ । अहिलेसम्मका घटनाबाट एक दिनदेखि १४ दिनसम्मलाई कोरोना भाइरसको विन्डो पिरियड (झ्याली अवधि) मानिएको छ । त्यसैले मुलुकलाई ‘सेमी लक्डडाउन’ मा राखेर भौतिक दूरी कायम गर्ने हो भने यो महामारीबाट धेरै मात्रामा बाँच्न र बचाउन सकिनेमा शंका छैन । एक करोड १० लाखभन्दा बढी जनसंख्या भएको चीनको उहानमा यो नीति र विधि सफल भइसकेको छ । यो विधिको सफलता सरकारको योजना र कार्यान्वयनमा मात्र छैन, यसको सफलताका लागि जनताको महत्वपूर्ण भूमिका हुन्छ ।

जनताले राज्यको अवज्ञा गर्ने र सरकारविरोधी भावनालाई प्रश्रय दिने हो भने यो विधि असफल हुनेछ र नेपाल कोरोना भाइरसको महामारीको डरलाग्दा दुश्चक्रमा फँस्नेछ । जनताले भ्रम र हल्लाको पछाडि नलागी घोषणा नै नगरिए पनि संकटकाल मान्न सकिने यो अवधिमा सरकारलाई साथ दिन जरुरी छ र आफूसहित देशवासीको जीवनरक्षाका लागि लाग्न आवश्यक छ । कृत्रिम अभाव सृजना गरेर कालोबजारी गरेर रातारात लखपति वा करोडपति हुने सपना देख्ने व्यापारीहरुका कारण जनताले ठूलो दुःख पाउने निश्चित छ । उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श लगायतका व्यवसायी–व्यापारी सम्बद्ध संघ–संगठनले आफ्ना मातहातका सदस्यहरुलाई संकटको घडीमा अझ बढी जागरुक हुन र गैरकानूनी ढंगबाट धन आर्जन नगर्न सजग गराउन आवश्यक छ । भौतिक रुपमा टाढा बस्न परे पनि भावनात्मक रुपमा समस्त मानवजाति एक हुन जरुरी छ, यहाँ धनी र गरीबको भिन्नताको धेरै फरक छैन, यहाँ त सतर्कता, सजगता र एकआपसी सहयोग र सहकार्यको जरुरत छ । यसबाट मात्र सबैको भलो हुन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ । अहिलेको आवश्यकता भनेको सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय समझदारी, ऐक्यबद्धता र सहकार्यको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here