काठमाडौँ, 
फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।
उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको जनाइएको छ । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् ।
यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ ।






























