विर्तामोड । 
चुनावमा राजनीतिक दलका उम्मेदवार भाग लिन्छन् । जनताको मत पाएर विजयी हुन्छन् पनि । विजयी भएपछि उनीहरुले जनतासामु गरिएका वाचा प्रतिवद्धताहरु विर्सिएर आफ्नै दुनो सोझ्याउन तिर लाग्छन् । तर , चुनावमा पराजित भएका उम्मेदवार भने तिनै जनताका सुख दुःखका साथी बनेका छन् । यिनै मध्येका एक हुन् ईलामको माई नगरपालिका वडा नम्बर ९ घर भइ हाल झापाको विर्तामोडमा बस्दै आएका टुपेन्द्र एक्तेन ।
२०७० सालको संसदिय चुनावमा मोरङको क्षेत्र नम्बर २ बाट तत्कालीन लिम्बुवान पार्टिका तर्फवाट प्रत्यक्षतर्फका प्रतिनिधि सभा सदस्यका उम्मेदवार वनेर पराजित भएका एक्तेन अहिले दुवै मृगौलापीडित मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० का ४५ बर्षिय कृष्णबहादुर थाम्सुहाङ लिम्बूलाई बचाउन लागीपरेका छन् ।
दुवै मृगौला फेल भएर आर्थिक अभावका कारण जीवन मरणको दोसाँधमा रहेका लिम्बूको अवस्था थाहा पाएपछि आफ्नै चुनावी क्षेत्रका लिम्बूको अवस्था यस्तो हुँदा आफुले सहयोग गर्नुपर्छ भन्ने ठानेर देश विदेशमा कृष्ण लिम्बू बचाउँ अभियान सञ्चालन गरेर उनलाई बचाउन लागीपरेको एक्तेन बताउँछन् ।
एक्तेनको पहलमा लिम्बूलाई उपचारार्थ नेपाल , कोरिया , कुवेत लगायतका देशमा कृष्ण लिम्बु बचाउँ अभियान सञ्चालन गरीे संकलन गरिएकोे एक लाख ६ हजार ९५ रुपैँया लिम्वूको घरमै गएर प्रदान गरिएको छ । उक्त रकम अभियानका सहयोगी एक्तेन अभियान कर्मी अभिषेक किराँतीलगायतले लिम्वूकी श्रीमती गंगामाया लिम्बुलाई हस्तान्तरण गरेका थिए ।
शुरुमा सामान्य पथरीया देखिएर निको भएका लिम्वू अचानक दुवै मृगौलामा समस्या आएको बताउँछन् । हाल हप्ताको दुईपटक धरानको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा डाईलोसिस गराउँदै आएका उनी हातखुट्टा सुन्नीएर र दमको समेत समस्या थपिएको बताउँछन् । हप्ताको दुईपटकसम्म धरानको घोपामा डाईलोसिस गर्दै आएको र त्यसका लागि चार हजार भन्दा वढी खर्च लाग्ने गरेको उनले बताए ।
अर्काको मजदुरी गरेर आफ्नो परिवार पाल्दै आएका लिम्बूले सम्पतिको नाममा एउटा घर भएपनि उपचार गर्दागर्दै उक्त घर पनि बैङ्कको नाममा रहेको बताए । घरखर्च चलाउन र परिवार पाल्न धौ धौ परेको बेलामा दुवै मृगौला फेल भएर मृगौला प्रत्यारोपणका लागि ठूलो धनराशि खर्च हुने भएकाले आर्थिक अभावका कारण उपचारमा समस्या भएको उनकी श्रीमती गंगामाया लिम्बुले बताइन् । उनले आफ्ना श्रीमान्लाई बचाउन आर्थिक सहयोग गरिदिन सवैलाई अनुरोध गरेकी छिन् ।
दुवै मृगौला फेल भएर आर्थिक अभावका कारण जीवन मरणको दोसाँधमा रहेका लिम्बूको उपचारमा सहयोग गर्न आफूले अभियान चलाएको एक्तेन बताउँछन् । दुवै मृगौलापीडित लिम्वूलाई सहयोग गर्नको लागी टुकेन्द्र एक्तेनको सम्पर्क नम्बर ९८१६९१०००८ मा सम्पर्क गर्न र नविल बैंकको खाता नम्बर २११००१७५०५०२४ मा रकम सहयोग गर्न सकिने उनले बताए ।






























