कोरोना लाग्यो साँइली आईरहन पाउँदिन

0
1310

(कथा)

भुवन तामाङ,

कोरोना लाग्यो साँइली आईरहन पाउँदिन । हो साँइली कोरोना लाग्यो आईरहन पाउँदिन । कोरोना लाग्यो साँइली तिमीलाई भेट्न आईरहन पाउँदिन । पटक्कै आईरहन पाउँदिन । तिमीलाई हेर्न देख्न र माया गर्न आईरहन पाउँदिन । कोरोना लाग्यो साँइली आईरहन पाउँदिन ।

हेर साँइली डाँडाबजार शुनसान छ । साँइली पञ्चमीबजार शुनसान । बतासेबजार शुनसान छ । आईतबारे देखि शनिबारे बजारसम्म सबै सबै शुनसान छ । बुधबारे बजार शुनसान छ । बिर्तामोड बजार शुनसान छ । एकादशीदेखि नवमी, दशमीबजार सबै शुनसान छ । औँशी देखि पूर्णीमाबजार नि शुनसान छ । सबैतिरका भएभरका बजार शुनसान छ । जहाँ हामी मिठो मायापिरती साटा साट् गर्दथ्यौँ । मनको धित मरुन्ज्याल यता र उता घुम्दथ्यौँ । हामी डुल्ने गल्ली शुनसान छ । हामीले मायाको चिनो र कोशेली किन्ने दोकानको गल्ली शुनसान छ । हामीले पिरतीका कुरागर्दै मुस्कुराउँदै खाजा खाने हुटेल शुनसान छ । हामीले चटपटे र पानीपुरी खाने सडक शुनसान छ । भोर्लाको पातमा थापेर ढुङ्गाको पिरामा बसेर मासु चिउरा खाने गोसखान पनि शुनसान छ । हामी हिँड्ने बाटो शुनसान छ । हामी चोचोमोचो मिलाएर घण्टौँ कुरागर्ने चौतारो र चप्लेटी ढुङ्गा शुनसान छ । लभ डाँडा नि शुनसान छ । हेर साँइली नेपाल भरीकै सबै ठाऊँ शुनसान छ । हो साँइली सबैतिर शुनसान छ । किनकि कोरोना लाग्यो साँइली सबै शुनसान छ । घरबाहिर निस्कन पाइँदैन । मोटर चल्दैन । त्यसैले साँइली तिमीलाई भेट्न आईरहन पाउँदिन । कोरोना लाग्यो साँइली आईरहन पाउँदिन ।

यस्तो बेलामा त साँइली मन थाम्न साह्रो पर्दो रै’छ । सात डाँडापारी रहेकी मेरी साँइलीलाई केही भयो कि भनेर उदुमै पिरलो पो हुँदो रै’छ । तिमीलाई सम्झेर मन कुटुकुटु खाँदो रै’छ । तिमीलाई सम्झि ल्याउँदा साँइली आँखाबाट तुरुक्क आँशु नै झर्दो रै’छ । लोग्ने मान्छे भएर रुनु हुन्न भन्छन् । नत्र त ग्वाँ ग्वाँ रुन हुन्थ्यो । डाँडाकाँडा थर्कने गरी । शुनसान वातावरणमा मेरो रुवाईको आवाज तिमीसम्म आइपुग्दो हो । हुन त तिमीलाई पनि त्यस्तै लाग्दो हो । मलाई सम्झेर तिमीलाई पनि रुन आउँदो हो । मन थाम्न सकिनौ भने बरु रोइदेऊ साँइली । डाँडाकाँडा पाखा पखेरा र गनन थर्कने गरी । म तिम्रो रुवाई सुनेर बसौँला । तिम्रो रुवाईसँगै मेरो रुवाई पनि मिसाउँला । लकडाउनको पीडा कस्तो हुन्छ भनेर संसारलाई बुझाउँला । अरु भन्दा पनि त्यो दुष्ट कोरोना भाइरसलाई सुनाउँला । ए कोरोना भाइरस तँइले पाप गरिस् । विश्व मानव समुदायलाई तँइले साह्रै दुःख दिइस् । हामीलाई बिछोडमा र वियोगमा पारिस् । आँशुमा डुबाईस् । ठाउँको ठाउँ चुपचाप धुम्म परेर बस्न बाध्य पारिस् भनेर कोरोना भाइरसलाई भनौँला ।

हुन त साँइली यो हाम्रो मात्र पीडाको कुरा रहेन । देशभरीका सबै नेपालीलाई पीडा भइरहेको छ । तिम्र्रो र मेरो जस्तो व्यथा अरु धेरैका पनि हुन्छन् नै । संसार भरीका मानिसहरुका पनि हाम्रै जस्तै व्यथा होलान् । सबैले अहिलेको पीडा खपेकै छन् भने हामीले पनि खप्नै पर्छ । मेरी प्यारी साँइली तिमी जहाँ छ्यौ त्यहाँ सुरक्षित बस्नु । कोरोना भाइरसको संक्रमण हुन नदिन नेपाल सरकारले लागू गरेको लक डाउनका सबै नियम पालना गर्नु । लक डाउनको नियमभित्र रहेर सुरक्षित बस्नु । अरुलाई पनि सुरक्षितसाथ घरमै बस्न भन्नु । म पनि सुरक्षित घरमै बसेको छु । यतिबेला हामी नेपाली नागरिकले नियम र कर्तव्य पालना गर्नुको विकल्प छैन । नेपाल सरकारको अर्को सूचना नआउन्जेल असल नागरिकको भूमिका निभाउनु हामी सबैको कर्तव्य हो साँइली ।

आउन त आउँछनि साँइली तिम्रो त्यो जुन जस्तो मुहारको याद । कहिले हेर्न पाउँजस्तो भैरहेछनि । मन्दमन्द समीरले उडाइरहेको तिम्रो त्यो सिल्की केशराशी हेरिरहन मन न त लाग्छ नि । सुस्तसुस्त तिम्रो त्यो हिँडाइको चालसँगै कतै टाढासम्म तिम्रो मुलायम समाएर तिमीलाई आडदिँदै हिँडिरहुँ मन लाग्छ नि । हिँडाइसँगै तिम्रा ती पाउजूका मादकतायुक्त छिर्लिङ् छिर्लिङ् आवाजहरु सुनिरहुँजस्तो लाग्छ नि । प्रकृतिका ती छटाहरु दृष्यालोकन गर्दै अनि तिम्रो त्यो कोमल वदनबाट आउने खाट्टी अर्गानिक सुवासहरु अनुभूति गर्दैै कताकता मनलाग्दी टाढा पुगौँ जस्तो लाग्छ नि । तिम्रो त्यो उन्मुक्त हाँसोहरु अनि खित्खिताईहरु सुनिरहुँ त लाग्छ नि । हो साँइली अरु धेरै धेरै, खोइ के हो के के गर्न त मन लाग्छ नि । तर कोरोना लागिहाल्यो । अहिलेलाई चुपचाप घरमा बस्नु नै उत्तम उपाय हो साँइली हामी सबैका लागि ।

हाम्रो सुरक्षाका लागि दिनरात नभनी हरदम कर्तव्य परायण भई खटिइने धेरैधेरै डाक्टर, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, प्रशासन कर्मचारीहरु, स्थानीय जनप्रतिनिधिहरु र सम्पूर्ण सरोकारवालाहरु स्वयम्ले पनि लकडाउनको नियम पालना गर्दै आम नेपाली नागरिकहरुलाई लकडाउनको नियम पालना गर्न अनुरोध, आग्रह गरिरहेका छन् । त्यसैले सरकारले लागू गरेको लकडाउनको नियम पालना गर्नु हामी सबै नेपाली नागरिकहरुको प्रमुख कर्तव्य हो साँइली ।

कोरोना भाइरसको संक्रमणबाट बच्न हामी नागरिकहरु अझ धेरै जिम्मेवार र कर्तव्य परायण हुनु जरुरी छ । त्यसैले साँइली लकडाउनको नियमको उलङ्घन नगर्नु । म पनि नियम पटक्कै उलङ्घन गर्दिन । नत्र मैले तिम्रो त्यो पूर्णिमाको जुनजस्तो मुहार कहाँ हेर्न पाउँला र ? अनि तिमीले पनि खरायोको जस्तो मेरो यो चुइँसे अनुहार कसरी हेरौली ? हो साँइली कसरी हेरौली ? हामी बाँचे मात्र एकले अर्कालाई माया गर्न पाउँला ।

आ हो ! मुसेज लामो पो भयोकी ? लु मेरो यो ठेउके मुबाईलको फ्याँसबुकको मुसेन्जरमा कनिकुथि मुसेज लेखि पठाएको छु है साँइली । खुसुक्क हेर्नु र उसैगरी खुसुक्कै मोलाई पनि मुसेन्जरमा मुसेज लेखि पठाउ है ल साँइली । तिमीलाई उद्दुम माया गर्ने उही तिम्रो खरायो जस्तो चुँइसे साँइलो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here