भद्रपुरका मारवाडीद्वारा दुई सय विपन्न परिवारलाई वडा कार्यालयमार्फत खाद्यान्न सामग्री

0
440

भद्रपुर।

भद्रपुरका मारवाडी समुदायले वडा कार्यालयमार्फत विपन्न परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ ।

कोरोना त्रासपछि सरकारले लगाएको लकडाउनले विपन्न तथा मजदुर परिवारलाई बिहान र बेलुका छाक टार्न समस्या भएको भन्दै भद्रपुर मारवाडी सङ्घ, युवा मञ्च र युवती मञ्चको संयुक्त पहलमा खाद्यान्न सामग्री उपलब्ध गरिएको हो ।

सङ्घले तीन वटा वडा कार्यालयमार्फत नगर क्षेत्रमा दुई सय प्याकेट खाद्यान्न सामग्री वितरण गरिएको सङ्घका अध्यक्ष अजय साहेवालाले जानकारी दिए । उनका अनुसार वडा नम्बर ५ र ६ मा ८०/८० प्याकेट र वडा नम्बर ८ मा ४० प्याकेट गरी दुई सय प्याकेट उपलब्ध गराएको हो ।

प्याकेटमा चामल, दाल, खाने तेल, चिनी, चाउचाउ, नुन, साबुन, आलु, चिया रहेको सङ्घका पूर्व अध्यक्ष सुबोध कोठारीले जानकारी दिए । संक्षिप्त वितरण कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष महेश मित्तल, युवा मञ्चका अध्यक्ष मुकेश मित्रुका लगायतको सहभागिता रहेको थियो ।

सङ्घका अध्यक्षसहित गएको टोलीले वडा अध्यक्षहरू बन्धु कार्की, गौरव सुब्बा र प्रेम बरुवालालाई प्याकेट हस्तान्तरण गरेका थिए । अब वडा कार्यालयहरूले तयार पारेको सूचि अनुसार ती प्याकेटहरू आआफ्नो वडाका विपन्न तथा मजदुर परिवारलाई घरघरमै गएर वितरण गर्न जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here