लकडाउनमा के गर्दैछन् झापाका एसपी कृष्ण काेइराला

0
1115

झापा,

विश्वनै कोरोना भाइसरको महामारीको अवस्थामा रहेको छ । नेपाल पनि कोरोनाबाट अछुतो छैन । हाल सम्म ६ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ । सरकारले लकडाउन गरेको आज १२ दिन भइसकेको छ । यतिबेला झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइराला के गर्दैछन् त ?

यो सर्वसाधारणलाई मात्रै होइन, हामीलाई पनि नयाँ भयो। पहिलो दिन त यो के होला, कस्तो हुन्छ होला भनेजस्तो भयो हामीलाई पनि। तर विस्तारै हामीले बुझ्दै गयौं र बुझाउँदै गयौं टोलटोलमा।

समुदायसँग सहकार्य पनि गर्दै गयौं। सूचना प्रविधिको पहुँच राम्रो भएका कारण पनि हामीलाई केही सहज भयो। सुरुवाती दिनमा मान्छे र सवारी साधन धेरै नियन्त्रणमा लिनु पर्‍यो। अहिले पनि धेरै छाडेका छैनौं, सवारी साधान। दिन बित्दै जाँदा हामीले पनि नयाँ नयाँ तरिकाहरु सिक्दै गयौं।

पसलमा सामान किन्न एकैपटक नजाने व्यवस्था गर्न थाल्यौं। सामाजिक सञ्जालमा देखेको कुरा हामीले पनि लागू गर्‍यौं। पसलका अगाडि गोलो घेरा लगायौं। यसमा व्यवसायीहरुले पनि साथ दिनुभयो।

अहिले पनि हाम्रो समस्या भनेको साँझतिर तरकारी किन्न जाने चलन छ। एक ठाउँमा तरकारी जम्मा गर्ने र त्यहीँ सबै मान्छे घुइँचो लागेर किन्ने चलन छ। यस्तो ठाउँमा अत्याधिक भीड भयो। त्यसको समाधानका लागि हामीले वडासँग मिलेर हरेक वडामा तरकारी गाडीले उठाउने र वडासम्म पुर्‍याउने व्यवस्था गर्‍यौं।

हरेक वडामा २०÷२५ वटा टोल सुधार समिति छन्। उनीहरुसँग समन्वय गरेर आवश्यक खाद्यन्न तरकारीहरु टोलसम्म पुर्‍याइदिने व्यवस्था गरेका छौं। त्यो टोलभरी उनीहरुले वितरण गर्ने। त्यो खालको प्रणाली बसायौं। त्यसले गर्दा साँझ बाहिर निस्किने क्रमलाई पनि निरुत्साहित गर्दै लगेका छौं। बजारमा ल्याउने स्थानीय उत्पादनलाई पनि सकेसम्म आफ्नै टोलमा बेच्न भनेका छौं। यसले गर्दा धेरै हदसम्म नियन्त्रणमा छ।

यतिगर्दा पनि नटेर्नेलाई सम्झाउने बुझाउने र हदै गर्नेका सवारी नियन्त्रणमा लिएका छौं र लकडाउन नसकिएसम्म फिर्ता दिँदैनौं। आवश्यक कामबाहेक बाहिर निस्कनेहरु एकदमै कम छन्। अरु बन्दभन्दा यो एकदमै फरक भयो। मान्छेलाई घरभित्र पनि राख्नु पर्‍यो आवश्यकता पनि पूरा गरिदिनु पर्यो। कर्फ्यु हुँदा एकदिन तरकारी नखाएपनि सकिन्छ भनेर जबरजस्ती पेल्न सकिन्थ्यो तर लकडाउन लामो भयो। बाहिर निस्कनै नदिएर भएन।

एकदिन औषधि नखाएपनि हुन्छ तर यसमा तालमेल मिलाउन पर्‍यो, विभिन्न देशबाट आएका ६ सय जति मान्छेलाई घरभित्र र स्थानीय तहले बनाएका क्वारन्टिनमा राखेका छौं।

सिमानामा जनशक्ति थपेका छौं। भारतपट्टि पनि समन्वय गरिरहेका छौं। स्थानीयको पनि सहयोग छ सीमामा। उहाँहरु पनि आफ्नो ठाउँमा नयाँ मान्छे आउनासाथ खबर गर्नुहुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here