लक्ष्मी उप्रेती
मैले २०७२ साल बैशाख १२ को भूकम्पपछि मेची अभियानको भूमिकाको भित्री मनदेखि खुलेरै प्रशंसा गरे । एउटा आर्टिकल समेत लेखेँ । आर्टिकलको वीड मार्ने क्रममा मैले भनेको थिए—‘अहिलेमात्र होइन बेला बखत देशमा हुने प्राकृति प्रकोप र विपित्तिका बखत बेसहारा बनेकाहरुलाई अभियानले सहारा र छहारी प्रदान गर्न सकोश, विपत्तिका बखत अभियानले निरन्तरता पाओस’। मैले उसवेला दिएको शुभकामना र कामको प्रशंसा साच्चै पुर्णरुपमा सावित गरेको छ मेची अभियानले यतिखेर पनि ।

जब जब आपत विपद आइलाग्छ अभियानले तुरुन्त निरन्तरता पाईहाल्छ । बर्षेनी आउने बाढी पहिरो वा आगलागि यस्ता विपत्तका बखत अभियानको खोजी हुन्छ र अभियानको उपस्थिती तत्कालै हुन्छ । २०७२ साल बैशाख १२ को महाभुकम्पले नत पहाड भन्यो न, तराई न पूर्व भन्यो न पश्चिम नत उत्तरै भन्यो न दक्षिण नै हिमाल, पहाड तराई जो जहाँ रहेपनि यो भूकम्पको पीडा नव्योहोर्ने नेपाली शायद कोहि पनि भएनन् त्यस बखत । भूकम्पका कारण धेरै घरवार विहिन भए धनजन गुमाए । परिणाम उच्च घरानकादेखि सामान्य मानिस समेत एउटै पालमूनि खुल्ला चौरमा अटाए ।
मुलुकको यस्तो पीडा देखेर कुन नेपालीको मन नदुख्ला । शायद त्यहि भएर पनि होला मेचीनगरवासीको सक्रियतामा सुरु भयो मेची अभियान । उस्ले आफ्नो व्यानरमै लेख्यो ‘जब पहाडलाई दुख्छ तब मल्हम बन्छ मधेश’ अभियानको संयोजन गर्यो मेचीनगरका उद्योगी व्यवसायीहरुको छाता संगठन मेची उद्योग बाणिज्य संघले । अनि यसका अभियान्ता संयोेजक बने संघका तात्कालिन अध्यक्ष विजय डालमिया ।
अभियानमा विभिन्न राजनीतिक दल, संघ संस्था, उद्योेगी व्यवसायी, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मीलगायत सबैले तन मन धनका साथ जुटे । सवै अभियान सफल बनाउन लागे । अभियान साञ्चै सफल भयो । त्यसबेला मेची अभियानले एउटा गतिलो पाठ सिकायो भने भूकम्प पछि मेची अभियानको सन्देश प्रशंसा गर्न लायक बन्यो । त्यही भएर मैले शब्दमा धन्यवाद ज्ञापन गरे ।

अहिले पनि विपद्का बखत धेरैले मेची अभियानलाई एक पटक सम्झिने गरेकाछन् । यतिखेर विश्व नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण र सन्त्रासमा छ । हजारौै मानिसकोे ज्यान गइसकेको छ । लाखौं मानिसहरु संक्रमित छन् । अहिले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण र सन्त्रासबाट उत्पन्न हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न विश्वले आफ््ना हरेक संयन्त्र परिचालन गरेको छ । नेपाल समेत यसको नियन्त्रण र रोकथाममा सक्रियपुर्वक लागेको छ । मुलुुकमा लकडाउनको अवस्था छ । नेपाल सरकारले गरेको यो निर्णय स्वगतयोग्य छ । अहिले यातायातका साधन, कलकारखना, चिया बगान प्रायः सवै ठप्प छन् ।
हाम्रो समाजमा यस्तो समुदाय छ दिनभरि मजदुरी नगरे विहान बेलुका घरको चुल्होमा आगो बल्दैंन । तर, त्यो समुदाय अहिले बाच्नैका लागि घरभित्र सुरक्षित बसेककोे छ । रोगबाट बच्न सके पनि भोकले पो मरिने हो की भन्ने चिन्तामा छ, त्यो समुदाय यतिखेर । अनि मेची अभियान भन्दैं छ ‘तपाईहरु रोगबाट बच्नुहोस हामी भोकले मर्न दिदैंनो ’अभियानका संयोजक विजय डालमिया आफ्नो टिम लिएर हरेकक दीन दुःखीको घरमा पुग्ने गरेका छन् । र, सोध्दैछन ‘केही समस्या छ भनेर’ । त्यसबेला भुकम्पका कारण क्षतविक्षत भएका भौतिक संरचना निर्माणमा मेची अभियानको टोलीले श्रमदान गर्यो ।
‘मेची अभियान’ले काभ्रेपलाञ्चोक जिल्लाको विकट गाउँ शिखर अम्बोटेमा भूकम्प पीडितका लागि ३५ वटा अस्थायी घर निर्माण गरेर त्यहाँका मानिसको चहर्याई रहेको घाँउमा मल्हम पट्टीको काम गर्यो । सियाँलेमा १९, गढिडाँडामा ८ र फलाँगे गाउँमा ८ वटा गरी ३५ घर अभियान अन्तर्गत नै निर्माण भए । भूकम्पमा वासस्थान मात्र होइन, आफन्त समेत गुमाएका पीडित परिवारमा मेचीको टोलीले अस्थायी घर निर्माण गरेरै भएपनि ठुलो गुण लगाएको थियो ।
त्यही मेची अभियान अहिले लकडाउनका कारण नबलेको हरेकको घरको चुल्होमा आगो बलोस र रोगबाट बचे पनि भोककै कारण कसैले पनि अकालमा मृत्युवरण गर्नु नपरोस भनेर राहतका लागि खाद्यन्न बोकेर गाउँ गाउँ पसेको छ । २०७२ सालमा ‘म र म बाट हामी, दल र दल बाट दिल, दिल र दिल मिलेर देश बन्नुपर्छ’ भन्ने सन्देश बोकेर देशको दुरदराजमा पुगेकोे मेची अभियान त्यसको चारवर्ष पछि ‘अहिले तपाईहरु रोगबाट बच्नुहोेस हामी भोकले मर्न दिदैंनौ ’भन्ने सकरात्मक सन्देशसहित राहत स्वरुप चामल, दाल, आलु, तेल नुन बोकेर मेचीनगरका सवै ठाउँमा पुग्ने गरेको छ ।
अभियानका संयोजक डालमियाका अनुसार अभियानले नगरका ६, ७, ९ र १० वडाका एकसय बढी परीवारलाई राहत स्वरुप खाद्यन्न सामाग्री वितरण गरेकोे छ । संयोजक डालमियाले बताए अनुसार प्रत्येक परीवारलाई १५ केजी चामल, ३ केजी आलु, २ केजी दाल, १ केजी नुन आधा लिटर खानेतेल वितरण गरिएको थियो । यसले हाम्रो समाजमा रहेका आर्थिक अवस्था न्यून, विपन्न र दयनिय अवस्थामा रहेका हरेक समुदायलाई थोरैै भएपनि राहत मिलेकोे छ । अनुहारमा खुशी छाएको छ ।
यतिमात्र मेची अभियानले १ नम्बर प्र्रदेशका मुख्यमन्त्री शेरधन राईलाई पर्सनल प्रोटेक्टीभ सामग्री अर्थात पिपिइ एक सय थान मेची अभियानका तर्फबाट हस्तान्तरण गर्यो । सरकारले पर्याप्त मात्रामा पुरर्याउन नसकिरहेको बेला स्वास्थ्यकर्मीहरुका लागि उपयोगि सामग्री दिएर मेची अभियानले ठूलो गुन लगाएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की समेतको उपस्थितिमा हस्तान्तरण गरिएको पिपिइ स्थानीय स्रोत र साधनको प्रयोग गरि झापा अभियानका संयोजक विजय डालमियाको सक्रियतामा काकँरभिट्टामा तयार गरिएको अभियानले जनाएको छ । यसअघि मेची अभियानकातर्फबाट मेचीनगर नगरपालिकालाई समेत यस्ता सामग्री उपलब्ध गराईएको अभियानका कोेषाध्यक्ष सुशील आचार्यले बताए ।
अभियानलाई साथ दिइरहेका छन् नेकपा मेचीनगर अध्यक्ष माधवलाल अर्याल राप्रपाका सुशील आचार्य समाजवादी पार्टीका ओेमप्रकाश खापुङलगायतले । अभियान्तहरुले अभियानमा जोडिन सामाजिक सञ्जाल मार्फत देश विदेशमा रहेका सवैलाई आग्रह गरे अनुसार अहिले अभियानले सबै बिचार, आस्था, जात र धर्मका मानिसलाई एक्कै ठाउँमा जोेडेको छ । जो जो जुन जुन जात, धर्म, दल, विचारमा रहेपनि यस्ता विपत्तिका बखत बेला सबै एक्कै ठाउँमा उभिनु पर्छ भन्ने पनि सन्देश यो अभियानले दिएको छ ।
शुरुमा मेचीनगरका विभिन्न राजनीतिक दल, संघ संस्था, उद्योगी, व्यवसायी, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मीलगायत सामेल भएपनि यतिखेर अभियानमा स्वदेशका मात्र होईन विदेशमा बसेका नेपालीहरु समेत जोडिएका छन् । विदेशबाट समेत अहिले अभियानलाई आर्थिक जिन्सी सहयोग उपलब्ध भइरहेको छ ।


























