बनियानी,
झापाको बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना सङ्क्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा यहाँका विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरेका छन् ।
राहत कोषका लागि संस्थागत रुपमा १६ र व्यक्तिगत रुपमा एक जनाले गरी रु नौ लाख ७६ हजार ५०० सहयोग गरेको बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिनुभयो ।
राहतको कोषमा कर्णाली साकोस र सिम्रिक साकोसले रु एक÷एक लाख, कञ्चनजङ्घा अङ्ग्रेजी मावि, न्यूटन र एभरेष्ट एकाडेमी, गोमेन्द्र बिर्ता मोडेल र गोमेन्द्र बहुमुखी कलेज, एमिटी एजुकेसन फाउन्डेसन, लिटल फ्लावर इङ्लिस स्कुल, कनकाई एजुकेसन फाउण्डेसनले रु रु ५०÷५० हजार, कञ्चन निर्माण सेवाले रु ५१ हजार सहयोग गरेका छन् ।
त्यस्तै, रोटरी क्लब अफ बिर्तामोडले रु एक लाख एक हजार, विराटपोखर महिला समूहले रु १० हजार, कमला आचार्यले रु २५ हजार, धौलागिरि पारिजात साकोस रु ५१ हजार, कृष्ण प्रणामी सेवा समाज, सद्गुरु देवचन्द्र सदन चारपानेले रु ५१ हजार, अनन्त परोपकार समाज सहकारीले रु २५ हजार, विराट–अर्जुन उपभोक्ता सहकारीले रु १० हजार ५०० र प्रथम बहुउद्देश्यीय सहकारी संस्था रु ५१ हजार सहयोग प्रदान गरेको नगरप्रमुख शिवाकोटीले जानकारी दिनुभयो ।
बिर्तामोड नगरपालिकाले रु ५० लाखको राहत कोष स्थापना गरेको छ । जसमा नगरप्रमुख शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, अधिकृत देवराज कार्की र सबै वडाध्यक्षलगायत जनप्रतिनिधिले एक÷एक महिनाको पारिश्रमिक राहतकोषमा सहयोग गरेका छन् ।































