नेपालमा खाधान्न संकटको खतरा र कृषकहरुको वर्तमान समस्या

२५ चैत्र २०७६, मंगलवार मा प्रकाशित

भरत शिवकोटी ।

विश्व आज चिनबाट शुरु भएर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID19) को चपेटामा रुमल्लिरहेको छ । यसको संक्रमणबाट संक्रमीत हुने सँगै मृत्यु हुनेको संख्या डरलाग्दो छ, बढदो छ । विश्वमा शक्तिशाली र धनी मानिएका रास्ट्रहरु समेत यो महामारिबाट प्रभावित भएका छन, चिन्तित छन । पछिल्लो तथ्यांक अनुसार विश्वका विभिन्न मुलुकमा यो भाइरसका कारण मृत्यु हुनेको संख्या पैसठी हजार नाघीसकेको छ भने संक्रमितको संख्या बाह्र लाख सोह्र हजार नाघीसकेको छ । हालसम्मको स्थितिलाई हेर्ने हो भने यो दुवै संख्या घटने होइन अरु बढने पुर्वानुमान गरिएको छ ।

हाम्रो देश नेपालमा समेत यो महामारीले छोइसकेको छ । यसलाई नियन्त्रण गर्न सरकारले आफ्ना जनतालाई सु-सुचित गरिरहे पनि कतिपय मानिसहरु यसलाई बेवास्ता गरिरहेका छन, जुन आँफैमा खतरापूर्ण छ,उच्च जोखिमपूर्ण छ । यो महामारीलाई नियन्त्रण गर्ने सबैभन्दा ठूलो उपाय भनेको नागरिक आँफैको सावधानी हो,सतर्कता हो,सचेतता हो । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि अवलम्बन गरेको नितिलाई नागरिकको साथ,सहयोग र हातेमालो भएमा यसले भयावह रुप नलिएला तर सरकार र प्रतिपक्षको जस्तो व्यवहार यो महामारिमा सरकार र जनता बिचमा भएमा यसले सिङ्गो रास्ट्र अन्ततः धेरै बर्षका निमित्त थलिनेछ भन्नेमा आशंका छैन ।

एकातिर यो महामारी नियन्त्रणमा चुनौती र जोखिम त छदैछ यसलाई सामान्य अवस्थामा ल्याउन कति समय लाग्छ त्यो अहिले नै भन्न हतार हुनेछ तर यो संकट नसकिदै अर्को संकटको खतरा नआउला भन्न सकिने अवस्था भने छैन । त्यो अर्को संकट हो खाधान्न संकट । हाम्रो देश तिनतिर भारत सँग सिमाना जोडिएको छ र एकतिर चिन सँग सिमाना जोडिएको छ । यी दुवै देश कोरोना भाइरसको माहामारी सँग युद्द गरिरहेका छन । नेपाल चिन भन्दा धेरै भारतको खाधान्न आयातमा निर्भर रहेको छ र भारत आँफै वर्तमान महामारीको आगोमा सल्किएको हुँदा भोलि उसलाई आवश्यक पर्ने खाधान्न नि अपुग हुने खतरा छ । आफ्नो देशमा रहेका नागरिकका निमित्त खाधान्न अपुग हुँदाहुँदै अथवा आफ्ना देशका नागरिक भोका हुँदाहुँदै अर्को देशमा कुनैपनी मित्र रास्ट्रले खाधान्न निर्यात गर्ने छैनन । त्यो अवस्थामा नेपालको स्थिती के होला ? अहिले नै सरकार र सम्बद्द निकायले सोच्न जरुरी छ ।

अहिले नेपाली किसानहरु हिउँदे धान लाउने बखतमा छन,मकैबालिको गोडमेलमा छ्न र अन्य बालिहरु लाउन किसान कर्ममा लागिरहेका छन । ठिक यहि बेला मुलुकमा महामारी छ र लकडाउनको अवस्था छ । लकडाउनको असर, प्रभाव धेरैतिर छ तर सबैभन्दा ठुलो असर किसानहरुमाथी छ सँगै त्यो सिङ्गो देशको भविश्यमा हुने खाधान्न संकटको समाधान सँग जोडिएको छ । किसानहरु बिशेसत अहिले मलखाद नपाएर छटपटाइरहेका छ्न । एकाद स्थानमा पाएको मलखाद मुलुक लकडाउन भएका कारण किसानले सहज गरि आफ्नो घर सम्म ल्याउने अवस्था छैन । अभाव भएको मलखाद प्रतिकुल अवस्थाका बाबजुद कसरी किसानहरु सम्म पुर्याउने,कसरि आपूर्ति सहज बनाउने भन्ने बारे तुरुन्त सरकारले र सम्बद्द निकायले ध्यान दिन जरुरी छ । यदि सरकारले किसानको समस्यालाई महत्व नदिएको खण्डमा अथवा बेवास्ता गरेको खण्डमा सिङ्गो कृषी क्षेत्रको उत्पादनमा गम्भीर गिरावट आउने निश्चित छ । यो गिरावटले किसानहरु हैरान त हुने नै छन त्यो भन्दा ठूलो यो देशमा खाधान्न संकटको घडी आउनेछ र भोकमारी चल्ने खतरा हुनेछ । यो समस्या केवल हाम्रो देशमा मात्र होइन विश्वका धेरै देशहरुमा निम्तिने खतरा छ र भविष्यमा खाध्य संकट हुने खतरा बारे सचेत समेत गराइसकिएको छ । यस्तो बेलामा अहिलेको महामारीबाट आक्रान्त बनेका दाता रास्ट्रहरु समेत आँफै खाधान्नको प्रतिरक्षाको स्थितिमा हुन सक्ने हुँदा सहयोग दिने अवस्थामा नरहन पनि सक्दछन ।

यो डरलाग्दो भविश्य तर्फ अहिले सरकार सँगै हरेक नागरिक सचेत नभए फेरी अर्को महामारीबाट गुज्रिनुपर्ने निश्चित छ । यदि यस्तो महामारी भएमा यो महामारी अहिलेको महामारी भन्दा भिन्न किसिमको खतरापूर्ण हुनेछ जसको कल्पना गर्दा समेत कहाली लाग्नेछ । यस्तो अवस्था निम्तिन नदिन किसानहरुले चनाखो भएर आफ्नो आवाजलाई हाम्रो समाज हुँदै सरकारको ढोका सम्म पुर्याउन जरुरि छ ता कि रास्ट्र खतरापूर्ण अवस्थामा भएको बेला भविष्यमा आइपर्ने कठिनाई तर्फ किसानहरुको ध्यान केन्द्रित रहोस र रास्ट्रको खतरालाई कम गर्न योगदान रहोस ।

देश लकडाउन भएको बेला सरकारसँग गाँसिएको दिर्घकालिन महत्वको विषय कृषि क्षेत्र हो तर अहिलेकै अवस्थामा सरकारले सम्बोधन गर्नैपर्ने, व्यवस्थापन गर्नैपर्ने अन्य कतिपय व्यवसाय र उत्पादनहरु पनि नभएका होइनन । जस्तो अहिले नेपालका अधिकांश चिया बगानहरूमा चियापत्ती टिप्ने समय भएको छ,यदि यो चियापत्ती समयमा टिप्न सकिएन भने यसको असर गम्भीर रहनेछ र यसले सिङ्गो अर्थतन्त्रमा समेत असर पार्नेछ । तसर्थ यसको समाधान के हुनसक्छ अथवा यसलाई कसरि समाधान गर्ने सरकार र सरोकार पक्षले बेलैमा सोच्न जरुरी छ । त्यसैगरी कुखुरापालन खासगरी बोइलर कुखुरा र अण्डा उत्पादन गर्ने प्रयोजनका निमित्त गरिएका व्यवसायहरु समेत लकडाउनबाट प्रभावित भएका छन् ।

यी व्यवसायीका निमित्त कुखुराको चारो आपूर्तिमा कठिनाइ भए व्यवसायीको व्यवसाय धाराशायी हुने मात्र होइन विस्थापित समेत हुन सक्नेछ, यसको असर अन्यक्षेत्रमा पनि गाँसिएको हुनेछ । त्यसैगरी दैनिक उत्पादन भएको अन्डाको बजार र मासुका निमित्त तयार भैसकेको बोइलर कुखुराको बजारलाई पनि प्रतिकुल महामारीका बाबजुद व्यवस्थापन गर्न जरुरी छ ता कि सर्प पनि मरोस र लौरो पनि नभाँचियोस । किनभने उपरोक्त वस्तुहरुलाई हामी पछी गर्ने गरि थाती राख्न सक्दैनौ जो निश्चित समयमा नस्ट हुनेछ अथवा खेर जानेछ ।

अत: अहिलेको अवस्थामा सरकारको प्रमुख प्राथमिकता कोरोना भाइरस नियन्त्रण गर्ने हो भन्नेमा दुविधा छैन तर सरकारले केवल भाइरस नियन्त्रण गर्नेबारे मात्र सोच्ने र अरु दिर्घकालिन महत्वका विषय तर्फ वेवास्ता गरेमा यो एउटा गम्भीर भुल हुनेछ जसका कारण देशका जनता भोका मात्र रहने छैनन भोकमारिका कारण मृत्युको शिकार समेत हुन सक्नेछन । भविष्यको यस्तो विकराल समस्यालाई बेलैमा न्यूनीकरण गर्नेतर्फ स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारले ध्यान दिनुको विकल्प छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here