किसानका तरकारी किसानलाई नै

0
451

खोटाङ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ‘लकडाउन’का कारण बिक्री गर्न नपाएका किसानको तरकारी खरिद गरी अन्य किसानलाई राहतमा वितरण गर्न शुरुआत गरेको छ । किसानका खेतबारीबाट काउली र बन्दा खरिद गरी सो गाउँपालिकाले तरकारी अभाव रहेका किसानलाई वितरण शुरु गरेको हो ।

लकडाउनका कारण बजार नपाउँदा अधिकांश तरकारी कुहिने र सड्ने अवस्थामा पुग्दा मारमा परेका किसानको राहतका लागि खरिद गरेर वितरण शुरु गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिनुभयो । “लकडाउनका कारण तरकारी कुहिएर तथा सडेर खेर जाने भएपछि किसान चिन्तित बनेका रहेछन्”, उहाँले भन्नुभयो, “लकडाउनमा किसानले उत्पादन गरेका कुनै पनि कृषि उपजले बजार पाउँदैन, कुहिएर वा सडेर जान्छ भनेर चिन्ता गर्नु पर्दैन । स्थानीय सरकारले बजारको सुनिश्चित गर्छ ।”

गाउँपालिकाले वडा नं २ डाँडागाउँका आठ किसान र वडा नं ५ सछितापोखरीका एक किसानले लगाएको १२८ केजी काउली प्रतिकेजी रु ४० र ८२ केजी बन्दा प्रतिकेजी रु ३२ का दरले खरिद गरिदिएको छ । किसानले उत्पादन गरेका तरकारीको बजार सुनिश्चितता गर्न गाउँपालिकाले पहिलोपटक रु सात हजार ७४४ बराबरको तरकारी खरिद गरिदिएको जनाइएको छ ।

गाउँपालिकाले खरिद गरेको तरकारी वडा नं ४ बतासेका स्थानीयलाई राहतस्वरुप वितरण गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “क्रमशः अन्य वडाका किसानले उत्पादन गरेको तरकारी खरिद गरेर अन्य स्थानीयलाई खाद्यान्नसँगै वितरण गरिनेछ”, उहाँले भन्नुभयो, “सबै किसानका तरकारी किनिदिन्छौँ भनेका छौँ । वडामा चिट्ठी पनि पठाएका छौँ । हामी ट्र्याक्टर लिएर जान्छौँ । किसानको तरकारी खरिद गरेर अन्य सर्वसाधारणलाई निःशुल्क वितरण गर्छौँ ।”

यसैबीच सो गाउँपालिकाले लकडाउनको समस्यामा परेका दलित, अल्पसङ्ख्यक तथा सीमान्तकृत, एकल महिला, ‘क’ वर्गको अपाङ्गता भएका व्यक्ति, विपन्न तथा सुकुम्वासी परिवारलाई खाद्यान्न वितरण शुरु गरेको छ । लकडाउनका कारण दैनिक ज्याला मजदुरीको काम गर्न नपाउँदा बिहान–बेलुका छाक टार्नै धौधौ अवस्थामा पुगेका परिवारलाई गाउँपालिकाले खाद्यान्न वितरण शुरु गरेको हो ।

बतासेबाट राहत वितरण शुरु गरेको गाउँपालिकाले बुधबार सो स्थानका दलित तथा सीमान्तकृत, ‘क’ वर्गको अपाङ्गता भएका परिवार र अति विपन्न गरी १४५ परिवारलाई खाद्यान्न प्रदान गरेको छ । दलित तथा सीमान्तकृत समुदायका १३३ परिवार, ‘क’ वर्गको अपाङ्गता भएका आठ तथा छाक टार्नै नसक्ने अवस्थामा पुगेका अतिविपन्न चार घरपरिवारलाई खाद्यान्न प्रदान गरिएको वडाध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।

प्रतिघर २५ केजी चामल, दुई केजी दाल, एक पोका तेल, एक केजी नुन र काउली बन्दा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । राहत वितरण कार्यक्रम क्रमश ः अन्य छ वटै वडामा पुगेर सञ्चालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले जानकारी दिनुभयो । दोस्रो चरणमा मध्यम वर्गका परिवारलाई पनि सहुलियतमा खाद्यान्न उपलब्ध गराइने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । लामो समयको लकडाउनले मध्यम वर्गका परिवार पनि समस्यामा पर्न थालेका कारण उनीहरुलाई पनि ढुवानी खर्च व्योहोरेर खाद्यान्न उपलब्ध गराउने तयारी गरिएको जनाइएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा राहत वितरण गरिरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रत्येक वडामा रु एक÷एक लाखको खाद्यान्न खरिद गरेर वितरण शुरु गरेको छ । जिल्लाका कतिपय स्थानीय तहमा हुनेखाने व्यक्तिले पनि राज्यबाट निःशुल्क पाउने भन्दै राहत लिएको गुनासो आएको छ । राहत वितरणको नाममा जनप्रतिनिधिले बढी प्रचारबाजी गरेको भन्दै सामाजिक सञ्जालमा विरोध पनि भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here