आहा ! मनै लोभ्याउने तिम्बुङ पोखरी (फोटोफिचर)

1
2090

नन्दहाङ नेम्बाङ,

यसै त पाँचथरको दुर्गम गाउँ फलैंचा । फिदिमबाट १८ कोष टाढा कालिखोला र फलैंचाको उत्तरी खण्डमा अवस्थित थप विकट तिम्बुङ पोखरीको यात्रा मेरो लागि त्यति सहज थिएन ।

(नियात्रा)

मेरो तिम्बुङ पोखरी दर्शनको यात्रा विर्तामोडबाट २०७६ भदौ ८ गते आइतबार तय भयो ।मेचीराजमार्ग हुँदै साँझ फिदिम बजार पुगियो । बेलुका बस्ने व्यवस्था भाइ मनकुमार आङदेम्बेले मिलाउनु भएको रहेछ । भोलिपल्ट जोरपोखरी, गोपेटार, थर्पु, च्याङथापु बजार हुँदै फलैंचाको बेतेनी पुग्दा झमक्कै रात परिसकेको थियो । बेलुका बास त्यही एक होटलमा बस्यौं ।



बिहान सबैजना हिड्ने तरखरमा लागियो । यहाँबाट पैदल यात्रा सुरु हुँदोरहेछ । अब भने ४/५ दिनसम्म कहिँकतै घर, बस्ती भेटिँदो रहेनछ । त्यसैले बस्ने, खानेको सबै व्यवस्था यहीँबाट गरेका थियौ । त्यसो त तिम्बुङ पोखरी पुग्नलाई यहाँबाट दुईवटा रूट रहेछन् । सबैभन्दा छोटो तर अत्यन्तै अफ्ठ्यारो रूट कालिखोलाको बाटो रहेछ । अर्को रूट चाहीं केही घुमाउरो तर हिड्न सहज, रमणीय बाटो मेजरको रूट रहेछ । जाँदा मेजरको रूट र फर्किन्दा चाहिँ कालिखोला रूट आउने सल्लाह भयो ।

मुकुम नेम्बाङ, सन्तोष तुम्बापो र मनकुमार आङदेम्बे हामी सबैलाई यो गन्तव्य नयाँ भएकोले एक जना गाइड र एकजना सहयोगीको व्यवस्था गरेका थियौ । गाइड भाइ धनकुमार (धनेन्द्र) माङमु हामीलाई निगालोको एक-एक वटा टेक्नको लागि लौरो दिँदै अगाडि लागे । हामीले पनि पछ्याउन थाल्यौं । हाम्रोपछि केही सामानका भारी बोकेर जितबहादुर बेघा दाइ पनि उकालो चढ्न थाल्नु भयो । सेपी, टिमुरे हुँदै धनमाने जङ्गलको उकालो पार गरेर बिब्ल्याँटे पुग्दा ११ बजेको रहेछ । त्यही चन्द्र बेघाको गोठमा खाना खाएर हामी बाटो लाग्यौं ।

त्यसपछि केही पर घमाइलेको उकालो र चित्रे छिचोल्दै टोर्के उकालोको दारमेभीरले मेरो होस् उडायो । बेलाबेलामा हावाको वेग चल्दा खरको चुल्ठो बेस्सरी समाएर उभिनु पर्दोरहेछ । यो रूटको सबैभन्दा जोखिमपूर्ण यात्रा यहि क्षेत्रको रहेछ । दारमेभीर बल्लतल्ल पार गरियो।

सुकुचुलीलाई क्यामेरामा कैद गर्दै बिहानको खाना डुडको उराङ गोठमा खायौं । त्यसपछि डुड पोखरी, देउराली उकालो, पेदुङ निकासबाट केही पर बाटोमै तरुनीपानी भेटिँदो रहेछ । कन्चन सफा तरुनीपानीले कयौं बटुवाको प्यास मेटाउँदो रहेछ । हामी पनि तरुनीपानी पिएर अघि बढ्यौं । मेगुओडार छोडेर केही पर जाँदा अत्यन्तै रमणीय ठाउँ पहाडे मेगु भेटिँदो रहेछ ।

आँखाले नभ्याउने ठूला-ठूला हिमाली चौरका फाँटहरूमा झपक्कै फूलेको विभिन्न हिमाली फूलहरूले साच्चिकै फूलैफूलको बगैंचा घुमेको आभास दिलायो । यस्तो लाग्यो, सारा संसार भूलेर केही दिन यताकतै रमाउँ । हामीलाई सुर्केको उकालोले धेरै थकायो । त्यसपछि तल्लो सानो घुम्ने हुँदै इवा खोलातिर झरियो ।

चोखो सफा एकनासले कलकल सदियौंबाट बगिरहेको इवाले जो कोहीको मन तान्दो रहेछ । इवा माथि अशक्त वृद्ध शरीर लम्पसार परेझैं थोत्रो पुल पसारिएको थियो । केही पर खोला टाँरी हुँदै उकालो उक्लिएर ठूलो भन्ज्याङ पुग्दा झमक्कै भइसकेको थियो ।

यहाँबाट तिम्बुङ पोखरी पुग्न १ कि.मि. मात्र रहेछ । त्यसैले हामी त्यही ठूलो भन्ज्याङको डिही गोठमा बास बस्यौं । कहाँ पुगेर बस्ने, खाने इत्यादिको प्रबन्ध भाइ घनेन्द्रले गर्नु भएको हुँदा हाम्रो यात्रा धेरै सहज भएको थियो । अझ गोठालो दाइहरूले गरेको अतिथि सत्कार र मानवीय व्यवहारले यात्रा थप अविस्मरणीय बनिरहेको थियो । यो ठाउँ अत्यन्त चिसो हुनाले चाडै खाना खाएर हामी ओछ्यान लाग्यौं । भोलिपल्ट बिहानै पोखरी दर्शनको लागि निस्क्यौ । केही माथि चढेपछि कान्छी धारा भेटिँदो रहेछ । यो धारामा स्नान गरी शुद्ध भएर मात्र पोखरीको दर्शन गर्नुपर्ने जनविश्वास रहेको हुनाले हामी पनि स्नान गरी अघि बढ्यौं पोखरीको दर्शन गर्न ।

तिम्बुङ पोखरीको अनुपम सौन्दर्य देखेर मेरो मननै भुरूङ्ग भयो । समुन्द्री सतहबाट ४ हजार ४ सय ८० मिटर उचाइमा अवस्थित यो पोखरीको उत्तर-दक्षिण लम्बाई ४६६ मिटर र पूर्व-पश्चिम १४५ मिटर चौडाइ रहेछ । पोखरी अत्यन्त गहिरो हुनाले यसको गहिराई अझैसम्म पत्ता लागेको रहेनछ । पानी अत्यन्त सफा भएकोले चढाएको पैसा पोखरीको पिँधमा बिस्कुन सुकाएको झैं प्रष्ट देखिँदो रहेछ। पात झरेर पोखरी फोहोर भयो भने धोवी चराले टिपेर सफा गर्दो रहेछ ।

तिम्बुङ पोखरीको यो मनमोहक सुन्दर दृश्यहरू नेपाल सरकारले देखेको रहेनछ । देखेका रहेछन् त केबल गोठालाहरूले मात्र । धार्मिक, जैविक तथा सांस्कृतिक महत्त्व बोकेको तिम्बुङ पोखरीलाई जैविक विविधताको संरक्षण, पर्यटन पूर्वाधारको विकास र सांस्कृतिक सम्पदाको प्रबन्ध गर्न अत्यन्त जरुरी रहेछ । यस क्षेत्रमा पाइने विभिन्न प्रजातिका फूलहरू केन्जो (रेनुम नोविल), माईकोपिला, सिक्पा, भैरूङ्गपाती,सुनपाती आदिले जो कोहीको मन लोभ्याउँदो रहेछ । साथै विभिन्न जडिबुटीहरू पाँचऔंले, पदमचाल, विखमा, कुड्की, चिराइतो, बुढीओखती, यार्सागुम्बा लगायत अन्य थुप्रै बहुमूल्य जडिबुटीहरू यहाँ प्रसस्तै पाइँदो रहेछ।

पोखरीबाट बेलाबेलामा बुङ, बुङ गरेर बन्दुक पड्केकोजस्तो आवाज निस्कने हुँदा लिम्बुभाषामा बन्दुकलाई तिम्बक हुँदै तिम्बुङ वारक (पोखरी) नाम रहन पुगेको रहेछ । यो पोखरी ताप्लेजुङ जिल्लाको साविक कालिखोला-९, हालको सिदिङ्वा- १ र पाँचथरको साविक फलैंचा-९ हालको याङरक-२ मा अवस्थित रहेछ । सालमा आठ महिना हिउँले ढाक्ने हुँदा यो पोखरी आउने उपयुक्त समय जेठ पहिलो हप्तादेखि भदौ अन्तिम हप्तासम्म हुँदोरहेछ । तिम्बुङ पोखरीको आसपासमा अन्य पोखरीहरू खोपी पोखरी, कान्छी पोखरी, हाडी पोखरी पनि रहेछन् । तिम्बुङ वरपरका मनोरम् दृश्यलाई मैले धित मरून्जेल हेरेँ, रमाएँ अनि क्यामेरामा कैद गरें ।

अब हामीहरू घर फर्कन लाग्यौं । पुन: ठूली भन्ज्याङमा झरेर पुष्प बानियाको डिही गोठमा खाना पकाएर खाँदा दिउँसोको १ बजे भइसकेको रहेछ । त्यहाँबाट हामीहरू कालिखोलाको रूटको बाटो ओरालो झर्न लाग्यौ । अबको प्रायः जसो सबै बाटो ओरालो र तेर्सो आउने रहेछ । केही तल दन्दुबारी गोठ बाटोमै रहेछ तर गोठमा कोही थिएनन् । सायद गोठाला गएका थिए होलान् ।डडेलीको ओरालो हुँदै थाङमा खोलामा पुगेर चिया पियौं । बिखे मावोबाट इवानाँगी र तावानाँगी जाने बाटो छुटिने रहेछ । केही पर पाङ्तुवा हुँदै पोखरी तालमा पुगेर इम्बुङको चौरी गोठमा बेलुकीको बास बस्यौं।

भोलिपल्ट बिहान सबेरै उठेर बाटो लागियो । केही तल नुनथला, पाथिभरा हुँदै देउराली भन्ज्याङ पुग्यौं । यहाँबाट सुरूम्खीम जाने बाटो छुट्दो रहेछ । हामीहरू फेरि ओरालो लाग्यौ । तल्लो निकास, झोडेनीओरालो झरेर थामडाँडामा केहीबेर आराम गरेर कुवापानी हुँदै कालिखोला झरेर शेरबहादुरको घरमा खाना खायौं । त्यसपछि कालिखोलाको कहालिलाग्दो झोलुङ्गे पुल तरेर भट्टीडाँडाको ओरालो, ईवाखोला, हकुबारी तेर्सो नेभारे, भुनि हुँदै रविखोला पुगियो ।

खोला तरेर धिमाले उकालो, मैनाली डाँडाबाट चिहान डाँडाको उकालो काट्दा धेरै पटक थकाइ मार्यौं ।त्यसपछि हामी पुन: बेतेनी डिल्ली ओलीको होटलमा पुग्दा साँझ ६ बजेको थियो । धेरै दिनको हिडाइले होला जिउ सारै शिथिल भएको थियो । त्यसैले बेलैमा सुत्यौं ।

भोलिपल्ट बिहान टेक्सीको हर्नको आवाजले हाम्रो निद्रा खुल्यो । त्यसपछि त्यही टेक्सीबाट फिदिमसम्म आयौं । सबै साथीहरू फिदिम तिरै रहनुभयो । म चाहिँ यात्रा अत्यन्तै अविस्मरणीय साथै सहज भएकोमा खुसी हुँदै भोलिपल्ट विर्तामोड तिर फर्किएँ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here