कोरोना कहर : सतासीधाम जेसीजको ‘एसईई अनलाइन कोचिङ’

0
1134

विनोद सापकोटा / शिवसताक्षी,

विद्या सिग्देल झापाको दुधे स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयकी कक्षा १० की छात्र हुन् । गएको चैत ६ गते एसईईको परिक्षा दिन उनले सबै तयारी गरेकी थिइन् ।

तर अघिल्लो साँझ सरकारले कोभिड १९ (कोरोना) को संक्रमण फैलन सक्ने भन्दै एसईई परिक्षा स्थगित गरेपछी उनको दाँतमा ढुङ्गो लागे जस्तै भयो । सिग्देल कक्षाकी अब्बल छात्रा हुन् । उनका शिक्षकले पनि एसईईको नतिजामा विद्याको कम्तिमा ‘ए’ आउन सक्ने सम्भावित छात्रा भएको बताए ।

सरकारले लकडाउन गरेपछी एसईईको कोचिङ र ट्युसन क्लास हुन पाएको छैन । पाठ्यक्रमका कतिपय नजानेका विषयमा शिक्षकलाई सोध्न र आफू निपुर्ण हुन नत उनले साथीलाई सोध्न सकिन नत शिक्षकलाई नै । दिनभर घरमा बस्नुपर्ने कहर । किताब पल्टायो । नजानेको कुरा कसलाई सोध्नु ? उनलाई खुल्दुली हुन थाल्यो । अब एसईईको तयारी कसरी गर्नु ?

सतासीधाम जेसीजले शिवसताक्षी नगरका सामुदायिक तथा संस्थागत विद्यालयका एसईई परिक्षा दिने विद्यार्थीका लागि अनलाईन कोचिङ सुुरु गरेपछि उनको समस्या हल भएको छ । विद्याको मात्र होइन, अनलाईन कक्षामा उनि जस्ता अन्य ३० जनाको समस्या पनि समाधान भएको छ । अध्ययनगर्न चाहने तर अवसर नपाएका विद्यार्थीका लागि सतासीधाम जेसीज विद्यार्थीको अभिभावक बनेको बताउँछिन् विद्या सिग्देल । उनले भनिन् ‘लकडाउनका बेला सतासीधाम जेसीजले विद्यार्थीलाई अध्ययनशील बनायो ।’

अनलाइन कोचिङमा गणित र विज्ञान विषयमा अध्ययन अध्यापन हुन्छ । राष्ट्रिय रमणीय आदर्श माविका प्रधानाध्यापक कालिप्रसाद रिजाल अनलाईन कक्षाका शिक्षक हुन् । घरैमा बसी बसी विद्यार्थीलाई सिकाउने गरेका छन् । उनका कक्षामा ३० जना विद्यार्थी सम्म हुन्छन् । ४० मिनेटको कक्षामा आफुले सधै चिनेका र नचिनेका विद्यार्थीलाई अनलाइन कोचिङमा पढाउने गरेका छन् । अनलाईन कक्षा पढाए वापत शिक्षकले कुनै शुल्क लिदैनन् ।

सतासीधाम जेसीजका महासचिव विवेक ढकालका अनुसार यो कक्षा अध्ययन गर्न चाहने शिवसताक्षी नगरका विद्यार्थीहरुले जुम एप डाउनलोड गरेर गुगल अथवा फेसबुकमा जोडिनु पर्छ । होष्टले दिएको युजर आइडी र पासवर्ड हालेर लग इन गरेपछी अनलाईन कोचिङमा सहभागी हुन पाईन्छ ।

अनलाइन कोचिङ्गका परिकल्पनाकार गोविन्द काफ्ले हुन् । उनि राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षक हुन् । लकडाउनलाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर सतासीधाम जेसिजले अनलाइन भिडियो कन्फ्रेन्स गरेको थियो । त्यै कन्फ्रेन्समा एसइइ परिक्षा दिने विद्यार्थीलाई अनलाईन कोचिङ गराउन सतासीधाम जेसिजलाई काफ्लेले प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा शिवसताक्षी नगरका करिव ५५ विद्यार्थीले अनलाइन कोचिङमा सहभागी हुन पाएका छन् ।

शिक्षक र विद्यार्थी बिच संवाद हुने गरी यो कक्षा संचालन भईरहेको सतासीधाम जेसीजका महासचिव विवेक ढकालले बताए । बन्दाबन्दीमा विद्यालय बन्द रहेको र घरमै बस्न बाध्य विद्यार्थीहरुलाई परीक्षाका लागि तयारी हुन इन्टरनेट प्रविधिको प्रयोग गरी ई–कक्षा सञ्चालन गरिएको सतासीधाम जेसीजले जनाएको छ ।

शिवसताक्षी नगरमा यो कक्षा चैत १६ गते देखी सुरू भएको हो । विहान ११ बजे गणीत विषयको अध्ययन अध्यापन हुन्छ भने दिउँसो ३ बजे विज्ञान विषयको पढाईहुने गरेको छ । गणीत विषय राजन दाहालले पढाउने गरेका छन् । यो कक्षामा शिवसताक्षी नगरका न्यु ज्योफ्रि, सेभेनसिज, धु्रवतारा, राष्ट्रिय रमणीय आदर्श मावि लगायतका विद्यार्थी सहभागी छन । बन्दाबन्दी बढ्दै गए अन्य विषयमा पनि यो प्रविधिमार्फत शिक्षण गर्ने तयारी भइरहेको अनलाईन कोचिङका कार्यक्रम संयोजक गोविन्द काफ्लेले बताए ।

ई–कक्षामा सहभागी विद्यार्थी आकृती दाहालले इनटरनेट प्रविधिमार्फत प्रत्यक्षरुपमा हुने पढाई शान्त, रमाइलो र लाभदायक भएको बताइन् । ईनटरनेटको सहि सदुपयोग गर्न सक्दा जीवनमा घाटा भन्ने केहि नहुने उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here