जनआन्दोलनको रकम कोरोना विशेष अस्पताललाई

0
659

बुटवल,

जनान्दोलन २०६२÷०६३ मा नागरिकस्तरबाट संकलन गरी आन्दोलनमा घाइतेको उपचारबाट बचेको रकम कोरोना विशेष अस्पताललाई प्रदान गरिएको छ ।

बुटवलका समाजसेवी बावुराम भट्टराईको संयोजकत्वमा गठित जनआन्दोलन आकस्मिक राहत कोष व्यवस्थापन समितिले उक्त रकम बुटवल धागो कारखानामा निर्मित कोरोना विशेष अस्थायी अस्पतालका लागि बुधबार हस्तान्तरण गरिएको हो । संयोजक भट्टराईले सो रकम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीलाई हस्तान्तरण गर्नुभयो ।

उक्त समयमा कोषमा जम्मा भएको रकममध्ये जनान्दोलनका घाइतेको उपचार गरेर केही बचत रहेको थियो । तत्कालीन अवस्थामा घाइतेको उपचारबाट बचेको रकमबाट लुम्बिनी अंचल अस्पतालमा बिरामी प्रतीक्षालय निर्माण गरी बाँकी रु पाँच लाख ८७ हजार ४९५ कोरोना उपचारका लागि बनाइएको कोषमा हस्तान्तरण गरिएको हो ।

उक्त रकम बैंकमा रहिरहनाको कुनै औचित्य नरहेकाले अहिलेको विशेष परिस्थितिमा अस्पताल निर्माणका लागि बाँकी रकम हस्तान्तरण गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

यस्तै कोभिड–१९) को जोखिम नियन्त्रण तथा रोकथामका लागि खटिएका सुरक्षाकर्मीका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ पश्चिम नवलपरासीले व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई) उपलब्ध गराएको छ ।

भाइरसको जोखिमबाट नागरिकलाई जोगाउन विशेषगरी सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीका लागि ४१ थान पिपिई प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई हस्तान्तरण गरिएको र युवा सङ्घका जिल्ला संयोजक युवराज डुम्रेले राससलाई जानकारी दिनुभयो ।

यस्तै रुपन्देहीको भैरहवा क्याम्पसमा अध्ययनरत विद्यार्थीको संस्था राइजिङ क्लबले सिद्धार्थनगर नगरपालिकाको कोरोना विपद् कोषमा रु ११ हजार १११ जम्मा गरेको छ । क्लबले नगर प्रमुख हरिप्रसाद अधिकारीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

क्लबका अध्यक्ष सागर न्यौपानेले देश महासंकटमा परेको बेला सदस्यले पनि सकेको आर्थिक सहयोग गरौंँ भनेर उक्त सहयोग गरिएको बताउनुभयो । पाल्पाको रामपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा पनि नेपाली कांग्रेस रामपुर नगरले रु एक लाख ७७ हजार बराबरको राहत सहयोग गरेको छ ।

क्वारेन्टाइनमा बसेका ११० फिर्ता

गुल्मी– जिल्लाका विभिन्न स्थानीय तहमा क्वारेन्टाइनमा रहेका ११० जना व्यक्ति घर फर्किएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन जिल्ला बाहिर र भारतबाट घर फर्केका उनीहरुलाई कोरोनाको कुनै लक्षण नदेखिएको हुँदा सातदेखि १४ दिनसम्म सम्बन्धित स्थानीय तहमा क्वारेटाइनमा राखेर घर पठाइएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानीप्रसाद शर्माले बताउनुभयो ।

जिल्लाका छ पालिका क्वारेन्टाइनमा अझै ३२ व्यक्ति बसिरहेका छन् । स्वास्थ्य कार्यालय गुल्मीले जिल्लाका मदाने, धुर्कोट, गुल्मीदरबार र रुरुक्षेत्रका क्वारेन्टाइनमा रहेका २५ जनाको ¥यापिड टेष्टसमेत गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा शर्माले जानकारी दिनुभयो ।

मंगलबार रुरुक्षेत्र गाउँपालिकावाट थप एक जनाको स्वाब परीक्षणका लागि बुटवल पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

लकडाउनको ड्रोनबाट अनुगमन

तानसेन– पाल्पामा लकडाउन प्रभावकारी बनाउन ड्रोनबाट अनुगमन गरिने भएको छ ।

कोरोना नियन्त्रण तथा उपचार सहयोग सहजीकरण समितिको बुधबार बसेको बैठकले जिल्लामा जारी लकडाउनलाई कडाइका साथ कार्यान्वयन गराउनका लागि ड्रोनबाट अनुगमन गरिने, आफ्ना वडा क्षेत्रमा बाहिरबाट जो जहाँ भेटिन्छ त्यही क्वारेन्टाइनमा राख्नुपर्नेलगायत निर्णय गरेको समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो ।

समितिले औषधि, खाद्यान्न, दूध, स्वास्थ्योपचारलगायत अति आवश्यक सेवा लिने व्यक्तिबाहेकलाई अनाश्यक हिँडडुलमा कडाइका साथ रोक लगाउने निर्णय पनि गरेको जिल्ला प्रशासन कार्र्यालय पाल्पाका सूचना अधिकारी यज्ञेश्वर पन्थीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here