दूरशिक्षा : बन्दाबन्दीमा घर नै बन्यो विद्यालय

0
1419

सन्तोष शर्मा/झापा ।

कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशभर बन्दाबन्दी (लकडाउन) गरेपछि झापाका शिक्षण संस्थाले दूरशिक्षा माध्यमबाट पठनपाठन शुरु गरेका छन् । बन्दाबन्दीका कारण विद्यार्थीको पठनपाठनमा असर परिरहेकाले यहाँका विद्यालयदेखि कजेलसम्मले प्रविधिमा आधारित दूरशिक्षा माध्यमबाट पठनपाठन शुरु गरेका हुन् । जसका कारण हरेक विद्यार्थीको घरमै विद्यालय भएको छ ।

कनकाइ आदर्श क्याम्पस बिर्तामोडका क्याम्पस प्रमुख सुरेशकुमार चापागाईँले एमबीएस प्रथम सेमेस्टरका विद्यार्थीका लागि दूरशिक्षा माध्यमबाट पठनपाठन शुरु गर्न लागिएको बताउनुभयो । “बिहीबारदेखि पहिलो चरणमा एमबीएसका विद्यार्थीबाट कक्षा शुरु गर्दैछौँ”, उहाँले भन्नुभयो, “त्यसपछि अवस्थाअनुसार अन्य कक्षा पनि सञ्चालन गर्दै लैजान्छौँ ।” बिहान र बेलुकाको समयमा चार प्राध्यापकले चार सिफ्टमा कक्षा लिने उहाँको भनाइ छ । एमबीएसमा २०० विद्यार्थी भए पनि १५० कक्षाका लागि सम्पर्कमा आएको क्याम्पस प्रमुख चापागाईँले जानकारी दिनुभयो ।

“इन्टरनेटको माध्यमबाट पठनपाठन हुने भएकाले दुर्गम स्थानमा रहेका विद्यार्थीलाई समस्या हुने देखिन्छ”, उहाँले भन्नुभयो, “यसबाट विद्यार्थीलाई फाइदा पुग्ने देखिन्छ ।” त्यस्तै भद्रपुर–१० स्थित विभूति विद्यामन्दिरले इन्टरनेट कक्षामार्फत भिडियो कन्फेरेन्स शिक्षण शुरू गरेको छ । लकडाउनका कारण घरमै बस्न बाध्य विद्यार्थीको सिकाइ उपलब्धि कायम राख्न विद्यालयले ई–क्लास सञ्चालन गरिएको शिक्षक निकाश पाण्डेले बताउनुभयो ।

“जुम एप र भर्व एपको सहयोगमा कक्षा–११ र १२ का विद्यार्थी अध्ययन गराउँदैछौँ”, उहाँले भन्नुभयो, “यसबाट घरमै बसेर विद्यार्थीले पढ्न पाउने वातावरण बनेको छ ।” दूरशिक्षाबाट विद्यार्थी क्षमता बढाउने काम भइरहेको भद्रपुर नगरपालिकाका पूर्व्शिक्षा शाखा प्रमुख उद्धव विष्ट बताउनुहुन्छ । “लकडाउनका कारण सबै विद्यार्थी घरभित्रै बस्नुपर्ने भएकाले यो विधि फलदायी हुनसक्छ”, उहाँले भन्नुभयो, “लकडाउनका बेलामा यो उत्तम विकल्प हो ।”

जिल्लाका बिर्तामोड, भद्रपुर, शिवसताक्षी, दमकलगायत स्थानमा रहेका निजी तथा सामुदायिक विद्यालयले दूरशिक्षा माध्यमबाट एसइईको तयारी कक्षादेखि अन्य कक्षागत पठनपाठन गरिरहेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख जयप्रसाद महत लकडाउनका बेला दूरशिक्षा प्रभावकारी विकल्प भएको बताउनुभयो । “विद्यालय सञ्चालनको अवस्था नरहेकाले विद्यार्थीको क्षमता अभिवृद्धिमा दूरशिक्षा अहिले राम्रो विकल्प हो”, उहाँले भन्नुभयो ।

इन्टरनेटको पहुँच सबै ठाउँमा नभएकाले ई–क्लासभन्दा पनि एफएम र टेलिभिजनबाट दिइने कक्षा प्रभावकारी हुने बताउनुभयो । “सबैको पहुँचमा इन्टरनेट छैन”, उहाँले भन्नुभयो । एनटिभीले बिहान ७–११, दिउँसो १ र बेलुका ४ बजे कक्षा १० का अनिवार्य विषयको कक्षा सञ्चालन गरिरहेको बताउनुभयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोथिमि भक्तपुरले वेवसाइट केन्द्रको वेवसाइट धधध.मयभ.नयख.लउ मा प्रि–प्राइमरी र कक्षा–१ शिक्षण सामग्री राखेको प्रमुख महतले बताउनुभयो । “अभिभावकले उक्त सामग्री डाउनलोड गरेर घरमै बालबालिकालाई पढाउन सक्छन्”, उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here