सिमानाकामा रोकिएकाको प्रश्न, कहिले नेपाल आउन पाउने हो ?

0
610

नरेन्द्रसिंह कार्की/कञ्चनपुर । 

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएको एकमहिना पुरा भयो । सिमानाकामा धेरै नेपाली रोकिएका छन् । “भारत पिथौरागढको दार्चुलाको क्वारेन्टाइनमा मात्र बसेको एक महिना बित्न लाग्योे । पौडिन सक्ने जति महाकाली तरेर दिनहुँ गइरहन्छन् । हामी पौडन नसकेरै क्वारेन्टाइनमै छौँ”, बैतडीका दीपक चुनाराले भन्नुभयो, “स्वदेश फिर्ता ल्याउँछाँै ल्याउँछौँ भनेर भन्छन्, तर हामी कहिले आउन पाउने हो ?”

उहाँले क्वारेन्टाइनमा अहिलेसम्म स्वास्थ्य जाँच नभएकोमा दुःखेसो पोख्नुभयो । गत चैत १३ गते दार्चुला पुगेदेखिका नेपालीहरु घर फर्किन पाएका छैनन् । क्वारेन्टाइनमा बसेकाहरु अझै स्वदेश फर्किन नपाउँदा निराश भएका छन् ।

भारत पिथौरागढको दार्चुलास्थित मिनीस्टडियममा बस्नुभएका उनीहरुले अहिलेसम्म आफूहरुको स्वास्थ्यप्रति सरकारले ध्यान नदिएको गुनासो गरेका छन् । उनीहरु एक महिनासम्म आफूहरुलाई सरकारले घर फर्काउन पहल नभएकोमा चिन्तित छन् ।

अमृत बोहरा भन्नुहुन्छ, “क्वारेन्टाइनमा न खाना समयमा पाइन्छ, न बास बस्न नै राम्रो व्यवस्था छ । एउटै देशका नागरिकमाथि किन विभेद ।” नेपालमा पौडिएर गएकाहरु राम्रो गाउँघरका क्वारेन्टाइनमा छन् भने कोही गाउँ पुगिसके । हामी भाग्न नसक्नेहरु यहाँ बस्नुपरेको बोहराको भनाइ छ ।

उहाँले भन्नुभयो, “क्वारेन्टाइनबाट भागेर जानेहरुका कारण आफूहरुले समस्या झेल्नुपरेको छ । शौचालय जाँदा पनि केरकार गर्न थालेका छन् । दिशा गर्न महाकाली किनार जानुपर्छ । प्रत्येकलाई पाँच मिनेटको समयावधि दिइएको छ । गालीगलौच र कुटपिट हुन्छ, हाम्रो कहिले उद्धार हुन्छ”, उहाँले भन्नुभयो ।

तर उहाँहरुसँगै क्वारेन्टाइनबाट भागेर आउने तथा ट्युब, महाकाली पौडिएर शुक्रबारसम्म २२० जना नेपाल प्रवेश गरेका छन् । लकडाउन अवधिमा अन्तर्रा्ष्ट्रिय सीमानाका बन्द गरी सीमानाकामा हुने अवैध आवतजावतलाई पूर्णरुपमा नियन्त्रण गर्ने भनिए पनि उनीहरु महाकालीबाट अवैध रुपमा भित्रिएका हुन् ।

गत शुक्रबार मात्र मार्मा गाउँपालिका–६ का २५ वर्षीय प्रजापति देउरुखी र उहाँका श्रीमती २२ वर्षीया रेखा बोहरा महाकालीमा ट्युबमार्फत नेपाल भित्रिएका छन् । उनीहरु महाकाली नगरपालिका–९ उडै क्षेत्रबाट स्वदेश प्रवेश गरेको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले जानकारी दिनुभयो ।

रोजगारीको सिलसिलामा गएका दार्चुला, बैतडी, बझाङलगायत क्षेत्रका स्थानीयवासी दिनहुँजसो महाकाली नदी तरेर स्वदेश भित्रिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो ।

आजसम्म यहाँका पाँच वटा क्वारेन्टाइनमा एक हजार ६३ जना व्यक्ति रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतमा रहेका नेपालीलाई उद्धार गरेर ल्याउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पुनः अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा क्वारेन्टाइनमा रहेकाकोे समयावधि पुगिसकेका कारण स्वदेश ल्याउनका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

“हामीले उनीहरुको व्यवस्थापनका लागि स्थानीय तहलाई तयार रहन भनेका छौँ”,ं प्रजिअ पौडेलले भन्नुभयो, “सरकारले निर्णय गर्ने्बित्तिकै उद्धार हुन्छ । अहिले स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनलाई यथावत् राख्न आग्रह गरेका छौँ । ”

भारतमा रहेका नेपालीलाई यही वैशाख १५ गतेभित्र स्वदेश ल्याउन स्थानीय तहका जनप्रतिनिधिले समेत आग्रह गरेका छन् । बैठकमा सहभागी मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले समस्यामा रहेको भन्दै तत्काल उनीहरुको उद्धार गर्नुपर्ने बताउनुभयो ।

“चार सातादेखि उनीहरु अप्ठ्यारोमा छन्”, उहाँले भन्नुभयो, “उनीहरुलाई तत्काल ल्याउने व्यवस्था मिलाउनुपर्छ ।”

जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्की बैठकले सरकारलाई धार्चुलामा रहेकाहरुलाई उद्धारका लागि आग्रह गर्ने निर्णय गरेको बताउनुभयो । तर १५ गतेसम्म पनि कुनै निर्णय नआए पनि दार्चुलाका स्थानीय तहहरुले व्यवस्थापन गर्ने गरी उद्धार गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको उहाँल जानकारी दिनुभयो ।

बैठकका एक सहभागीका अनुसार दुई÷तीन दिनभित्र सरकारले आदेश नगरे पनि स्थानीयस्तरमा सहमति गरेर ल्याउने कुरामा बैठकका सहभागी एकमत देखिएका छन् ।

बैठकमा महाकाली नगरपालिका प्रमुख हंशराज भट्ट, मार्मा गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी र मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी सहभागी हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here