विपन्नलाई सहयोग गर्दै सन्तोष

0
917

विनोद सापकोटा / झापा,

कोरोना (कोभिड १९) को लकडाउनका कारण सरकारले दिने राहतको छनौटमा नपरेका शिवसताक्षी नगरका विपन्न परिवालाई स्थानीय सामाजिक अगुवा सन्तोष थोप्राले शुक्रबार घरैमा पुगेर राहत प्रदान गरेका छन् ।

थातथलो नगर बाहिर रहेका शिवसताक्षी नगरमा ज्याला मजदुरी गरी जीविकोपार्जन गरिरहेका परिवारलाई थोप्राले राहत प्रदान गरेका हुन् । राहत पाउने लाभग्राहीको पारिवारीक अवस्था उनले अघिल्लो दिन गाँउमा पसेर संकलन गरेका थिए ।

‘ह्युमेनिटी नेपाल’ नामक संस्थाका प्रमुख हुन् थोप्रा । उनी लायन्स क्लव अफ शिवसताक्षीको पनि अध्यक्ष हुन् । ०७२ सालको भुकम्प, बाढी पहिरो लगायतका विपत्मा उनले यसअघि पनि मुलुकका कुना कुनामा पुगरे राहत वितरण गर्ने गरेका थिए ।

सडक बालबालिका, बेसहारा र अति विपन्न वर्गका मानिसको उनले उद्धार र पूर्नस्थापना गर्न थालेको एक दशक भयो । मुलुकका जुनसुकै कुनामा पुगेर पनि उनले अप्ठेरोमा परेका नेपालीको उद्धार गर्ने गरेका छन् । कोरोना नामक भाइरसका कारण मुलुक बन्दा बन्दी भएको १ महिना भयो । कोरोनाको कहरमा परेका कयौ विपन्न वर्गको अवस्था दयनिय बनेको भन्दै उनले राहतका कार्यक्रम अघि सारेको बताए ।

‘दिनमा १० देखी १५ वटा सम्म फोन आउछ । सबैको फोन राहतका लागि नै हुन्छ । यसअघि पनि लायन्स क्लव शिवसताक्षीले प्रति वडाका १५ परिवारलाई राहत प्रदान गरेको थियो । सरकारले राहतका लागि एकद्धार प्रणाली अपनाएको छ । कतै स्थानीय सरकारलाई बाईपास गरेर राहत बाड्यो भन्ने आरोप आउछ कि भनेर शिवसताक्षी नगरपालिका संग समन्वय गरे । नगरपालिकाको अख्तियारी पछि ३५ घरका परिवारलाई राहत वितरण गरेको हुँ,’ उनले भने । २५ घरका परिवारलाई शुक्रबार राहत वितरण गरेको उनले बताए । बाँकी १० घरका परिवारलाई शनिबार वितरण गर्ने तयारी उनले गरेका छन् ।

थोप्राको अभियानलाई शिवसताक्षीका युवा पुस्ताका सामाजिक अगुवा तपन गुरुङ्ग, शक्तिमान थाम्सुहाङ र मोहन तामाङले सघाएका थिए । विपन्न वर्गका घरैमा पुगेर भकारी र चुल्हो हेरेपछी मात्र राहतका लागि योग्य हुन वा होइनन् भन्ने निरक्योल उनीहरुले गरेका थिए । कतिपयको घरमा हप्ता दिन देखी चुलोमा आगो नबलेको उनीहरुले देखे ।

लाभग्राहीले उनिहरुलाई भन्थे, ‘सर राहत कहिले आउछ ?’ उनीहरुले राहतका लागि हामी आएको होइन भन्दा विपन्न परिवारका मानिसको अनुहारमा देखिएको चमक त्यसै हराएको उनिहरुले देखे । अभियानका सदस्य शक्तिमान थाम्सुहाङ्गले भने, ‘यस्तो अवस्थाका परिवारलाई राहत दिन ढिला गर्नुहुन्न भनेर शुक्रबार देखीनै शुरु गरिएको हो ।’

सन्तोषले दिएको राहत गोरे मोचीले पनि पाएका थिए । २ हप्ता देखी उनले खाना खाएका थिएनन् । चाउचाउमा दिन रात कट्दै थियो । ‘सरकारले राहत दिएन,’ उनले भने, ‘किन्न जाँउ गोजीमा पैसा रित्तिएको छ । उधारो कसैले पत्याउदैन । आज देखी आँत मर्नेगरी खाना पकाएर खान्छु ।’

गोरे जुत्ता चप्पल सिलाउने र पोलिस गर्ने काम गर्छन । लकडाउनले बजार बन्द भएपछी उनको आम्दानीको बाटो पनि बन्द भएको छ । गोरे जस्तैका परिवारलाई सन्तोषले राहत दिएका हुन् । सन्तोषले गोरे बसेको कोठाको मुल दैलोमा शुक्रबार राहतका सामग्री भएको पोको राखिदिए । अनि भने, ‘घर मा को हुनुहुन्छ हजुर ?’ भित्रबाट गोरे वाहिर निस्किए र भने, ‘यो कस्ले ल्याएको ?’ सन्तोषले भने, ‘तपाईको चामल नभएकै कारण खाना नपाएको दुई हप्ता भएको हामीले बुझ्याँै र तपाईलाई चामल, दाल, नुन, तेल र हात धुने सामुन ल्याइदिएका छौ । सकिएपछी खबर गर्नुहोस है ।’

थोप्राले राहत पाउने लाभग्राही संग तस्वीर खिच्न ईन्कार गरे । उनले भने, ‘पिडीत भनेर तस्वीर खिचाउने अनि सामाजिक संजाल लगायतका संचार माध्यममा राखेर प्रकृतीले पिडीत बनाएकालाई थप पिडा दिन हँुदैन ।’ नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीका सचीव गोविन्द काफ्लेले सामाजिक काम कसैले गर्नु छ भने सन्तोसबाट सिक्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here