तबलीगी जमातको धार्मिक सभामा सहभागी बनेका बाह्रदशी गाउँपालिकाका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि (विज्ञप्ति सहित )

१४ बैशाख २०७७, आईतवार मा प्रकाशित

झापा,

नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगी जमातको हेडक्वाटरमा भएको धार्मिक सभामा सहभागी बनेका झापाको बाह्रदशी गाउँपालिकाका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

बाह्रदशी गाउँपालिका – ४ निवासी ५० वर्षीय उनको आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको हो । गत मार्च १ देखि १५ मार्चसम्म चलेको सभामा सहभागी हुन उनी मार्च ३ गते दिल्ली पुगेका थिए ।


११ गते घर फर्किएका उनको यस अघि आरडीटी परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ देखिएपनि विराटनगरमा गरिएको पीसीआर रिपोर्टमा उनमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनको गत बैशाख ४ आरडीटी परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ देखिएपनि पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनुअघि उनी होम क्वारेन्टाइनमा रहेका थिए ।
बाह्रदशी गाउँपालिकामा एक व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएसंगै गाउँपालिका शील गर्ने निर्णय गरेको छ । जसका लागि विहान ८ वजे बैठक बसेर गाउँपालिका कति दिन शील गर्ने भन्ने विषयमा टुङ्गो लगाउने गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले जानकारी दिनुभयो ।


यो संगै झापामा कोरोना संक्रमितको संख्या दुई पुगेको छ । यस अघि बैशाख १२ गते दमक निवासी ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) फैलाउन भूमिका खेलेको एक धार्मिकसभामा १९ जना नेपाली पनि सहभागी भएका थिए ।
मार्चको सुरुवातमा नयाँदिल्ली स्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगी जमातको हेडक्वाटरमा यो धार्मिक सभा भएको थियो । १ देखि १५ मार्चसम्म चलेको सभामा करिब आठ हजार सहभागी भएको त्यो सभामा विभिन्न देशका मानिसहरु पनि आएका थिए । नेपालबाट पनि १९ जना सहभागी भएका थिए । जसमा झापाका दुई जना सहभागी थिए । दमकका एक व्यक्ति उनीसंगै सो सभामा सहभागी भएपनि उनमा कोरोना संक्रमण नरहेको जनाइएको छ ।
कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले सभा सम्मेलन गर्न रोक लगाएको बेला यो धार्मिकसभा भएको थियो । तर, सभा भएको स्थान नजिकै पर्ने दक्षिणी दिल्लीका केही मानिसमा आइतबार कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि भारतभर त्रास फैलिएको थियो ।
दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार त्यो धार्मिक सभामा सहभागीमध्ये २४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको थिए ।
यस्तै तेलङ्गना सरकारले त्यही सभामा सहभागी ६ जनाको कोरोनाकै कारण मृत्यु भएको बताएको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ ।
भारतीय सञ्चार माध्यमहरुले गृह मन्त्रालयलाई उद्दार गर्दै जनाएअनुसार सभामा दुई सय ८१ जना विदेशी थिए । जसमा नेपालसहित अफगानिस्तान, मलेसिया, म्यानमार, कीर्गिस्तान, थाल्याण्ड, श्रीलंका, बंगलादेश, इंगल्याण्ड, फिजी, फ्रान्सलगायत मुलुक छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here