‘अझै धैर्यको खाँचो छ’

0
705

सम्पादकीय

आपसी सद्भाव , हार्दिकता र सहिष्णुता नेपालीको विशिष्टता नै हो। त्यही कारण नेपालीले आजपर्यन्त कस्तै विपत्ति र संकटहरूलाई सहजै परास्त गरेका छन् । यदाकदा राजनीति नामको सङ्कीर्णताले नेपालीवीचको एकता र अविच्छिन्नतालाई चिथोरे पनि अन्ततः त्यो पराजित नै भएको छ । अहिले विश्व कोभिडले विस्तार गरेको साम्राज्यका विरूद्ध संघर्ष गर्दैछ । नाङ्गो ऑखाले नदेखिने, छामेर वा छोएर अनुभूत गर्न नसकिने र अत्याधुनिक हातहतियार वा औषधिहरूले पनि नछुने त्यसको असर, प्रभाव र फैलावट रोक्न हम्मेहम्मे परेको यो समयले विज्ञानलाई समेत परास्त गरेको छ।

ईश्वरको अनुकम्पाले होला आजसम्म नेपाली माटोमा कुनै नेपालीले कोरोना आतंकमा अमूल्य जीवन गुमाउनु परेको छैन । एउटै लक्षण, पहिचान र संकेत नभएका कारण एकातिर यसको पहिचानमा समस्या छ भने अर्कातिर उपचार नै दुरूह भएकाले सुरक्षित हुन त्य त्यत्तिकै चुनौति छ। यस्तोमा स्वयंको सावधानी र सजगता हाम्रो ठूलो हतियार हो यसबिरूद्ध लड्ने। बिषाणुले प्रवेश पायो भने स्वास्थ्य सेवाको पहुँच र उपलब्धताको अभावमा मृत्युवरण गर्नुको विकल्प रहने छैन। ऊ स्वयं अतिथि बनेर आउँदैन- विज्ञहरू भनिरहेका छन् । लिन जाँदा मात्र आउने सजिलो अतिथिलाई आउन नदिने सहज उपाय भनेको विश्व स्वास्थ्य संगठनले भने जस्तो ‘लकडाउन’ नै हो।

कोरोनाबिरूद्धको मोर्चामा रहेका स्वास्थ्यकर्मी एवम् चिकित्सकहरू यो युद्धका प्रमुख सैन्य हुन्। उनीहरूको उत्साह बढाउनु राज्यको जिम्मेवारी हो। उनीहरुलाई सहित आम नागरिकको सुरक्षामा संलग्न प्रहरी, सेनालगायत सम्बद्ध सबैको जीवन र उनीहरूका आश्रित परिवारप्रति पनि राज्यको प्रतिनिधित्व गर्ने सरकारले जिम्मा लिनु पर्छ। जनतालाई ‘बन्दाबन्दी’ का कारण पर्ने असुबिधा र अभावबाट सुरक्षित राख्न सरकारले नै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । श्रम गरेर मात्रै हातमुख जोर्न सक्ने वर्गको पहिचान गरी उनीहरुको जीवनरक्षाको प्रत्याभूति सरकारले गर्नु पर्छ । विश्व स्वास्थ्य संगठनले भने जस्तै हो भने कोरोना त्रास त्यति छिट्टै हट्ने छैन। त्यसैले ‘बन्द’ झनै लम्बिन सक्छ । त्यही सुझाब मानेर शायद सरकारले अन्तर्राष्ट्रिय उडानलाई रोकेको छ, यो अझै थपिएको पनि छ। त्यसैले लिन जानै नपाइने कोरोना नआउला तर आइसकेकोलाई ब्यवस्थापन गर्न स्थानीय, प्रदेशहुॅदै संघीय सरकारले उच्च सक्रियता देखाउनै पर्छ । यहींनेर कमी भएको छ।

सरकारको आवश्यक उपस्थिति र अभिभावकत्व अनुभूत गर्न सकिएको छैन । विपन्न वर्गले कि राहत पाएकै छैनन्, पाएकाले पनि दुई चार किलो चामल र नुन मात्रै । त्यही कारणले राजधानीमा बसेकाहरूलाई यसबेला घर जान दिॅइदैछ। खानै नपाइने अबस्थामा रहेकाहरू झोला बोकेर गाँउ आउँदैछन्, थाह छैन यसले जोखिम के गर्छ! जनताका प्रतिनिधि भनिने संघीय सांसदहरू, प्रदेश सांसददेखि मन्त्रीहरूको उपस्थिति देखिएको छैन जनताको ऑगनमा। जनताकै करबाट तलब सुविधा लिने उनीहरूको फरक भूमिका नदेखिनु दुर्भाग्य नै त होला! तर विपद्को समयमा मान्छे चिनिन्छ भन्छन्। एउटा माघ गए पनि अर्को बर्ष फेरि ऑउछ अनुभबले चलाएको भनाइ हो। आखिर कुनै विभेद बिना आउने यस्ता विपद्लाई आफैँले प्रतिकार र सामना गर्नु पर्छ । त्यसैले सामाजिक विरासत र परम्परालाई बिग्रिन नदिई सबै मिलेरै यो कष्टको सामना गरौँ । धर्म वा वर्गको नाममा हार्दिकता र सहिष्णुतामा खलल् नआओस् , हाम्रो चेतना सजग रहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here