लकडाउनको असर: गाँउमा तरकारी कुहियो,शहरमा भान्सा महंगियो

0
1163

नरेन्द्र ढकाल / विर्तामोड ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइसरबाट बच्न सरकारले गरेको लकडाउन पाँचौं हप्तामा पुगेको छ । लकडाउन लम्बिएरसंगै कृषकका उत्पादन बारीमै कुहिएको छ भने उपभोक्तको भान्सा महंगीएको छ ।

लकडाउनका कारण शहरी क्षेत्रमा रहेका उपभोक्ता महंगो मूल्यमा तरकारी किन्न बाध्य भएका छन् । कृषकले उत्पादन गरेका सागसब्जीहरु बजारसम्म ल्याउन नपाउँदा शहरी क्षेत्रका उपभोक्ताको भन्सा मंहगीएको बताएका छन् । बिर्तामोड नगरपालिकाले नगरक्षेत्रमा बिहान ८ देखि ११ बजेसम्म उपभोगिय सामान किन्ने समय दिएको छ ।

गत चैत ११ गतबाट भएको लकडाउनको तेस्रो दिनपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरपालि तथा वडा कार्यालय, कृषि थोक उपज समितिसंगको सहकार्यमा बिर्तामोडको कृषि बजार बन्द गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । कृषि बजारमा उपभोक्ताको भीड हुने र कोरोना भाइसरको जोखिम उच्च हुनेभएकाले नगरपालिकाले उपभोक्ताको सहजताका लागि टोल–टोलमा होम डेलिभरीको ब्यवस्था गरेर बजार बन्द गरिएको डीएसपी रिजालले बताए ।

शहरी क्षेत्रका उपभोक्ताको घर–घर मै सागसब्जी आएको तर केही मंहगो भने भएको बिर्तामोडकी जानुका रेग्मीले बताइन् । उनले पछिल्लो समय लसुन, प्याज, आलु लगायतको भाउ बढेको बताइन् । बजार खुल्ला भएको भए सबै तिरबाट तरकारी आउने थियो तर, लकडाउनका कारण सिमति क्षेत्रका मात्रै तरकारी आयत भएकाले मंहगो भएको उपभोक्ताको भनाई छ ।

तर उपभोक्ता भने आफुले उत्पादन गरेको तरकारी तथा अन्य फलफुल नबिक्दा निरास भएका छन् । उत्पादन भएपनि बजारसम्म पु¥याएर बेच्ने अवस्था नभएकाले समस्या भएको कृषकहरुको भनाई छ । झापाको शिवसताक्षी–५ का शिव मण्डल हिजोआज बेचैन छन् । कोरोना भाइरस (कोभिड–१९) फैलने खतराका कारण सरकारले लकडाउन गरेपछि उनको काँक्रा र खरबुजा बारीमै कुहिने अवस्थामा पुगेको छ ।

लकडाउन भएयता उनले न काँक्रा टिप्न पाए न टिपेको बेच्न नै । जसका कारण काँक्रा बारीमै कुहिएको छ । खरबुजा बारीमै बिग्रने अवस्थामा पुग्नेछ । शिवसताक्षी–६ का अर्का कृषक नरप्रसाद राजवंशीको व्यथा पनि उस्तै छ । अढाई बिघामा लगाएको काँक्रा र खरबुजा टिप्नु नपर्ने भएको छ । ‘विगतमा सिजनमा खर्च कटाएर कम्तिमा ५ लाख कमाउथ्येँ’ उनले भने, ‘यसपालि त लगानी समेत नउठ्ने भयो ।’

शिवसताक्षी नगरपालिका ५ र ६ नम्बर वडाका दर्जनौँ कृषकले कन्काई नदीको किनारमा काँक्रा र खरबुजा खेती गर्दै आएका छन् । नदी आसपासको जमिन भएकाले त्यहाँका किसानले स्थानीय त्रिभुवन माविलाई ठेक्काबापत रकम बुझाउँछन् ।

प्रतिबिगा १० हजारका दरले जमिनको ठेक्का तिर्दै खेती गर्दै आएका छन् । करिब २ सय बिगा जमिनमा कृषकले लगाएर काँक्रा र खरबुजा लकडाउनका कारण बारीमै कुहिन थालेपछि उनीहरु चिन्तित छन् । काँक्रा फल्ने मुख्य सिजन सुरुभएदेखि नै लकडाउन सुरु भएपछि बजार बन्द भए । जिल्लाको तरकारी बिक्री हुने मुख्य बजार बिर्तामोड र दमक हो । लकडाउनमा त्यहाँका कृषिथोक उपज पूर्ण बन्द छ ।

विगतमा बारीमै काँक्रा र खरबुजा खरिद गर्न व्यापारी पुग्थ्ये तर,लकडाउनका कारण उनीहरुले पनि जोखिम मोल्न चाहेनन् । स्थानीय हाटहरुसमेत पूर्णरुपमा बन्द भएपछि कृषकका उत्पादन बारीमै थन्किएको हो ।

स्थानीय जनप्रतिनिधि पनि ठूलो परिमाणमा उत्पादन गर्ने कृषकलाई समस्या भएको बताउछन् । लकडाउन सुरुवातका दिनहरुमा कृषकका उत्पादन अन्यत्र लैजान समस्या भएपनि अहिले त्यो अवस्था नरहेको शिवसताक्षी–६ का वडाध्यक्ष मनोज काकीले बताए । तर पर्याप्त बजार नहुँदा किसानले उत्पादन गरेका तरकारी तथा फलफुल बारीमै कुहिने अवस्थामा पुगेको छ भने शहरी क्षेत्रका उपभोक्ताले महंगोमा तरकारी किन्न बाधय भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here