सर्वदलीय संयन्त्र बनाई अघि बढ्न साना दलको सुझाव

१६ बैशाख २०७७, मंगलवार मा प्रकाशित

बिर्तामोड।

 

झापाका साना राजनीतिक दलका नेताहरुले राहत वितरण विवादरहीत बनाउन सर्वदलीय संयन्त्र बनाउनुपर्ने र महंगी नियन्त्रण गर्न अनुगमन तथा कार्वाही तत्काल थाल्नुपर्नेमा जोड दिएका छन् ।

सबै दलहरुलाई अहिलेको संरचनामा नसमेटिएकोमा गुनासो गर्दै उनीहरुले यो महामारीविरुद्ध सबैले सामुहिक रुपमा अघि बढ्नुपर्ने उनीहरुले बताए । यतिबेला पहुँच र हैसियत देखाउनेभन्दा पनि सर्वदलीय र सर्वपक्षीय रुपमा अघि बढ्नुपर्नेमा उनीहरुको जोड थियो ।

संवाद समूह झापाको संयोजनमा मंगलवार भएको भिडियो कन्फ्रेन्समा दलका नेताहरुले उक्त कुरामा जोड दिएका हुन् । स्थानीय सरकारद्वारा वितरित राहतमा एक रुपता नपाइएको र प्रभावकारी नदेखिएकोले नेपाल सरकारले जारी गरेको निर्देशिका बमोजिम राहत वितरण गर्न र वडाहरुमा सबै दलहरुको समन्वयमा प्रभावकारी र सन्तुलित राहत वितरण गर्न सबै तहका सरकारसँग उनीहरुले आग्रह गरेका छन् ।

त्यस्तै झापामा कोरोना भाइरस संक्रमितका लागि आवश्यकीय स्वास्थ्य उपचारको हदैसम्मको प्रबन्ध मिलाउन पनि उनीहरुले सरकारको ध्यानाकर्षण गरेका छन् । लकडाउनलाई कडा अनुशासनमा बसी पालना गर्न आम नागरिकमा अपिल गर्दै दलका नेताहरुले कहींकतै संक्रमण देखिए रोग नलुकाई तत्काल स्वास्थ्य संस्थामा जान आग्रह पनि गरेका छन् ।

अहिलेको विषम् परिस्थितिमा सीमा नाकामा कडाई हुनुपर्ने र निरन्तर अनुगमन हुनुपर्नेमा उनीहरुको जोड छ । त्यस्तै बजारमा उपभोग्यवस्तुमा बढेको अचाकली मूल्यबृद्धि नियन्त्रणका लागि उनीहरुले अनुगमन र कार्वाहीमा जोड दिएका छन् । यसका लागि तत्काल स्थानीय सरकारले सरोकारवालासँग समन्वय गरी कदम चाल्न ढिलाई गर्न नहुने उनीहरुले बताए ।

लकडाउन अघि वा पछि उत्पन्न हुन सक्ने भोकमरीबाट बच्न स्थानीय सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिँदै दलका नेताहरुले यसका लागि कृषकलाई सहज बजार, मल, वीऊ, इन्धनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै अन्य जिल्लामा रहेका झापावासीलाई घर फर्कन चाहेको अवस्थामा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी ल्याउन र झापामा रहेका अन्य जिल्लाका वासिन्दालाई सहज फिर्ता जाने व्यवस्था मिलाउने उनीहरुले सुझाव दिएका छन् ।

अहिलेको अवस्थामा सबै राजनीतिक दलहरुले राजनीतिभन्दामाथि उठेर मानवीय सेवामा समर्पित हुन बैठकले निष्कर्षसहित आव्हान गरेको छ । लकडाउनलाई प्रभावकारी बनाउन ‘हरियो, पहेंलो र रातो क्षेत्र’ निर्धारण गरी आवश्यकता अनुसार नियन्त्रण र निगरानी गर्नुपर्ने सुझाव समेत दिइएको छ । यसका लागि राजनीतिक दलहरुबाट समेत स्वयम्सेवक र सामाजिक संस्था समेत परिचालित हुनुपर्ने उनीहरुको भनाइ छ ।

त्यस्तै चिया बगानमा कार्यरत मजदुरले सामाजिक दुरी कायम गर्न नसकेको र आवश्यक स्वास्थ्य सामग्री पर्याप्त मात्रामा प्रयोग गरेको नदेखिएकोले सोको प्रभावकारी अनुगमनका साथै हरेक पालिकामा कोरोना सम्बन्धीका समस्या समाधान गर्न छुट्टै हेल्प डेस्क बनाउनुपर्ने सुझाव र निष्कर्ष समेत दलहरुको छ ।

भिडियो कन्फ्रेन्समा नेकपा मालेका केन्द्रीय सदस्य नवराज खरेल, साझा पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद अधिकारी, राष्ट्रिय जनमुक्ति पार्टी झापाका निवर्तमान अध्यक्ष पर्शुराम मगर, मौलिक जरो–किलो पार्टी प्रदेश नं। १का अध्यक्ष इन्द्रप्रसाद ओली, संघीय लिम्बुवान पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा र मञ्च सम्बद्ध संघीय लिम्बुवान पार्टीका जिल्ला अध्यक्ष धनबहादुर पन्धाक सुब्बाले अहिलेको सन्दर्भमा दलहरुको भूमिका, प्रतिबद्धतासहित सरकारले गर्नुपर्ने कामको बारेमा विभिन्न सुझाव राखेका थिए । बैठकले नौ बुँदे निर्णय तथा निष्कर्ष निकालेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here