‘संयमित रहौॅ, सुरक्षित भइन्छ’

0
687

सम्पादकीय

प्रदेश नम्बर एक आजको दिनसम्म चर्चा र चिन्तामा पनि पहिलो नै रहेको छ । नाम र राजधानीको न्वारन गर्न नसकेर अलमलिइरहेका बेला कोरोना भाइरसले आफूतिर आकर्षित गरेर नामकरणको टन्टा केही समयका लागि टारेको छ। हुन पनि नगरी नहुने महामारीबिरूद्धको युद्धबाट बिमुख हुन नपाइने भएकाले अहिले यो प्राथमिकतामा पर्नु हुँदैन पनि। अहिले स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान र क्रियाशील कोरोना रोकथाम, नियन्त्रण र उन्मुलनमा केन्द्रित हुनुपर्दछ । सङ्क्रमण शुरू भएको तीन महिना पछि तदारुकता देखिनाले यसको त्रास निक्कै गहिरिएको हुनसक्छ । अझ यही प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या उच्च रहेकाले मनोवैज्ञानिक रुपमा कोरोना साँच्चिकै कहर बनिएको छ।

प्रदेशमा उदयपुर सङ्क्रमित धेरै भएको जिल्ला भएको छ। यहाँ पहिचान भएका दुई जनाको स्वास्थ्य अबस्था सामान्य रहेको बताइएको छ। तर लक्षण बदलिन थालेको अहिलेको अवस्थामा यसले जोखिम नल्याओस् त्यसतर्फ गम्भीर हुनुपर्छ । अहिले मौसम परिवर्तन हुने समय हो। यो बेला रूघामर्की र खोकी लाग्नु, ज्वरो आउनु सामान्य हो। यसैलाई शुरूवातको लक्षण मानेर सावधानी नअपनाउँदा र परीक्षण पनि नगरिॅदा जोखिममा समुदाय नै पर्नेतर्फ सचेत हुनै पर्छ । यस हुन नदिनका लागि स्थानीय सरकारको तदारुकता र अग्रसरता बढी महत्वपूर्ण रहन्छ।

स्थानीय सरकारका प्रतिनिधिको पहुँच घर-घरमा हुन्छ । यसले समुदायको पहिचान गर्न र आवश्यक सेवा प्रदान गर्न सहज हुन्छ। त्यसैगरी कतिपय स्वयंसेवी संस्थाहरूलाई पनि परिचालन गरेर पहिचानका साथै उद्धार कार्यलाई सहज बनाउन सकिन्छ । अहिलेसम्म दमक र बाह्रदशीमा एक- एकजनामा सङ्क्रमण देखिएको छ। त्यसैलाई आधार मानेर उनीहरूको सम्पर्कमा आएकाहरूको खोजी, पहिचान र परीक्षण गर्न थालिएको पनि छ। यसलाई तीब्रता दिने हो भने जोखिम कम गर्न सकिन्छ । यसका साथै उनीहरूको सम्पर्क र संसर्ग रहेकाहरूले पनि एकान्तबासको पालन गर्नु पर्छ ।

हाम्रो मान्यता अनुशार हामी पूर्व कर्मद्वारा निर्देशित छौं । अर्थात् कर्म, विद्या, आयु, धन र मृत्यु जन्मपूर्व नै निर्धारित हुन्छ। त्यही कारण शायद चाहेको, देखेको र खोजेको भेटिन्न र अनायासै ,नसोचेको परिस्थितिको सामना गर्न पुगिन्छ । त्यसकारण पनि अति चिन्ता वा भय व्यर्थ छ। सचेत रहौं, सजग होऔँ ,सावधानी अपनाऔं र आफूलाई सिर्जनात्मक बनाऔँ- यसैले भयरहीत बनाउँछ । प्रकृतिको संरक्षण गरौँ, यसले दीर्घायु र आरोग्यता प्रदान गर्छ। सकारात्मक र कर्मशील बनौँ यसैले कल्याण गर्छ। संस्कार र संस्कृतिको परिपालन गरौँ यसैले हामी सबैको रक्षा गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here