अलबिदा यादव !

१८ बैशाख २०७७, बिहीबार मा प्रकाशित

 

 

जीवन बुझ्नु भनेको कठिन रहेछ विषय । ज्ञानहरुको माझमा एउटा भीड मात्र हो जान्ने इच्छा मान्छेको । भोगाई र उमेर अनुरुप बुझाइ र दृष्टिकोण आ–आफ्नै हुँदारहेछन् सबैमा । त्यसैले ज्ञानको पूर्णता सधैं अपूर्ण हो भन्छन् ज्ञानीहरु पनि ।
यो बेला म “लुँडो” को त्यो गोटी भएको छु जो “होम” पुग्नै लाग्दा निलेर सर्पले फेरि पुच्छरमै पु¥याएको छ ! बुझ्नुका थुप्रै प्रयत्नहरुबाट चिप्लिएर “फेल” भएको बिद्यार्थीको निराशा जस्तो भएको छु । अनि, जित्दा–जित्दै हारेको खेलाडीको मनोदशाले घेरिएको छु ।
लाग्छ – सार्है मिश्रित अर्थात “कम्प्लिकेटेड” भ्रमहरुको भुमरीमा घुमिरहेको “त्रिसँकु” हुँ । यसलाई वरिपरिको मनोबिज्ञानले बढी नै “सेन्टिमेन्ट” को अर्थ लगाउला सायद ! सोचिरहेछु म आफैं पनि ।
भरखरै पिताजीको देह रुपान्तरणको आकस्मिक घटनाले जीवनको शास्वततादेखि पनि जिल्लिएको म, संँगसंँगै जस्तो मृत्युवरण गर्न पुग्नु भएका पिताजीका फुपूका ३ छोराहरू को बारेमा पनि सोचिरहेको हुँदो हुँ । लगत्तै उता पहाडमा काकीहजुरआमा र काठमाडांैमा अर्का काकाको मृत्यु शोकको विषय पनि उत्तिकै ताजा हुँदो हो । बैश्विक महामारी त हरपलको सरोकार नै हो । तर, कल्पना नै नगरेको एउटा मृत्युले सार्है नजिकबाट स्पर्श गरेर गयो लकडाउन मै मलाई यो पटक ।
भाइ यादव रिमाल । नाताले उ फुपूको नाति हो र म मामाको नाति । नाताभन्दा पनि धेरै नजिक थियो हाम्रो मित्रता । २०३२ सालदेखि सँंगै थियौं । हामी इलामदेखि र उनीहरु आसामदेखि बसाइँ सरेर झापाको तत्कालीन शनिश्चरे –९ हालको अर्जुनधारा–९ मा स्थायी बासिन्दा बनेका हौं । त्यति बेला म ८ बर्ष र ऊ ७ बर्षको थियो । कलिला हामी सँगसँंगै खेल्थ्यांै, रमाउँथ्यौं, पढ्थ्यांै । र, कुनैदिन वयस्क पनि भयौं सँंगसंँगै ।
झापा शनिश्चरेको गोल्धाप भन्ने यो ठाउँलाई आध्यात्मिक चिन्तनको थलो बनाउनु भो हाम्रा बाहरुले । हामी त्यही सनातन मार्गका उत्तराधिकारी भयौं र आफ्नो संस्कार र संस्कृतिको पक्षपाती बन्यौ । उसका पिता स्व.प.तोयानाथ रिमालले परिकल्पना गर्नुभएको यो आध्यात्मिक गाउँ आज पनि सनातन मार्गमा हिँडिरहेकै छ । गाउँका धेरै जना बाहरुले छोडिसक्नु भएको छ यो थलो । यद्यपि उहाँहरुकै पदचिन्ह छन् यत्रतत्र यहाँ ।
हाम्रा पिताजीले २४ माघ २०७६ साँझ ८ः३० मा देह त्याग गर्नु भो । मैले पहिलो सूचना यादवलाई दिएथें –“बा रहनु भएन अब” । तोयानाथ बा भोलिपल्ट पिताजीको पार्थिव शरीरको छेउमा बसेर असैह रुनु भएको दृश्यले रुवाएथ्यो धेरैलाई । हाम्रा बाहरुले एक सयभन्दा माथि श्रीमद्भागवत कथा प्रवचनसँंगै गर्नु भएको थियो । बाको अन्त्येष्ठी गरिएको रात मात्र तोयानाथ बा यो धर्तीमा रहनु भयो । बिहान यादवको फोन आयो –“बा हुनुहुन्न अब” । सपना जस्तो भयो । मैले दिएको सूचनाको “इको” बनेर आइरहेथ्यो अर्को मृत्युको खबर । बाहरुको सम्बन्ध जीवनमा जसरी थियो नि मृत्युमा पनि उस्तै देखियो अचम्म !
पिताजीको देहान्त भएको ७५ औं दिनमा यादव पनि गयो नफर्किने बाटो । कस्तो बिचित्र ! बिश्वास नै नलाग्ने । बैश्वीक देशानले सस्तिएको मृत्युको छेउबाटै गयो महँगा–महँगा यादहरु छोडेर यादवले पनि फेरि ।
यसो भनिरहँदा मलाई आफ्नै बिश्वासले गिज्याइरहे झैं लाग्छ । मनका कुरा बाढ्ने, सुख दुःख साट्ने भर–अभरको एउटा साथी त हुँदो हो नि मेरो ऊ जस्तै सबैको । आडिलो, भरपर्दो र बिश्वासिलो साथी थियो ऊ । अप्ठ्यारो पर्दा साथ दिने । बोलेको पु¥याउने । ऐनमौकामा उचित सल्लाह र परामर्श दिन सक्ने । सामाजिक कार्यमा रुची भएको थियो ऊ । नजिकको एउटा प्यारो मान्छे आँखाबाट गुमाउनुको पीडा साक्षात्कार गरिरहेछु म ।


मृत्युको ठीक तिन दिनअघि यादव र मसँंगै थियांै हाम्रै घरमा । पहिलोपल्ट उसलाई हृदयघातको लक्षण त्यहीँ देखिएको हो । करिब १० मिनेटको निरन्तर प्रयास पछि बुहारी हिमाले सकुशल घर फर्काउन सफल भएकी थिइन् उसलाई मुटुमा पम्प गरेर । त्यसपछि डाक्टरको सल्लाहमा घरमै आराम गरिरहेको थियो ऊ ।
“मेरो मुटु ठीक छ” भन्थ्यो सोध्यो भने । पाँच बर्ष जति भयो होला उसलाई मुटु सम्बन्धी समस्या देखापरेको । पहिलोपल्ट गङ्गालाल हृदयरोग केन्द्रमा परामर्श र उपचारकालागि जाँदा त्यहीँ थिए म पनि । चेकअप पश्चात् नियमित औषधि सेवन गर्ने र परहेजमा रहने गथ्र्याे ऊ ।
साह्रै धेरै आत्मबल बोकेर हिँड्थ्यो । त्यसैले पनि कहिल्यै बिरामी सम्झेन आफूलाई । सधै ब्यस्त रहन रुचाउँथ्यो र त्यसैमा रमाउने आदत बसाइसकेको थियो । दस बर्षअघि नै माता दमयन्ताको आकस्मिक निधन भएपछि पिताजीले घर व्यबहारको जिम्मा लगाउनु भएथ्यो उसैलाई । कुशलतापूर्वक बहन पनि गर्यो त्यो जिम्मेवारी र सधैंको ब्यस्त मान्छे बनायो आफूलाई ।
सधैं व्यबहारका नयाँ–नयाँ योजना बुन्ने र कार्यन्वयन पनि गरिरहने उसको सकृयता छक्क लाग्दो थियो । उसलाई जागीर खाने फुर्सद नै भएन । हामी त रिटायरमेन्टको बारेमा पनि सोच्थ्यांै तर उसले कृयाशिलतामै टुङ्ग्यायो जिन्दगी । दूरदर्शी पनि थियो उसको सोच भरे, भोलि र आगामी दिनका उसका तयारी अनि व्यबस्थापन हिजै तय भइसकेका हुन्थे । साह्रै हतारे मान्छे कामको लागि । सायद यति छिट्टै जानु थियो उसलाई ।
२०७७ साल बैसाख ११गते राति ९ बजे भाइ बसन्तको फोन आयो काठमाडांैबाट भरखरै अस्पताल लगिएको । त्यसपछि लकडाउन मै दौडिए म बिर्तामोडतिर । बिर्तासिटी हस्पिटल पु¥याइएको उसको सुस्वास्थ्यको खबर सुन्ने एउटै मात्र इच्छा थियो सबैको बाहिर । तर, केही क्षण मै यो हृदयलाई चिरा पार्दै सबैभन्दा अप्रिय लाग्ने खबर लिएर आयो एउटा हावाको झोंका र गयो । यादवले सदाका लागि छोडिसकेको थियो यो दुनियाँ । त्यहाँ छोडिएका थिए उसका सपना र हामी मात्र ।
त्यो बेला मभित्र ज्वालामुखी फुटिरह्यो । आँशु बनेर निस्किए लाभाहरु । यसअघि मैले देखे सुनेको भन्दा धेरै भिन्न थिए यी श्रब्य–दृश्य ।
अनि, सम्झेँ पहिलो हृदयघातको भोलिपल्ट म रिमाल निवास बिर्तामोड पुग्दा ऊ आफू स्वस्थ छु भन्ने दृढ बिश्वासमा थियो । हरतरहले आफ्नो स्वास्थ्यको सबलता पुस्टि गरिरहेथ्यो । अरुलाई तनाव होला भन्ने सतर्कता पनि हुन सक्थ्यो । बडो खपालु स्वभाव हो पहिला पनि । हत्तपत्त ऐया नदेखाउने । भन्थ्यो किन अत्याउनु अरुलाई । यसरी शरीर कमजोर भएको अवस्थामा आत्माबिश्वासले मात्र थेग्नु कति ? मृत्यु हुनु पूर्व मेसेञ्जरमा हाम्रा खबर आदनप्रदान भइरहेथे दिउँसो । सङ्गीत मन पराउँथ्यो खुब । मैले सुझाएथे गीत र जोक सुन्न । हाँस्न र हँसाउन । अनि, तनाव नलिन । तर, काम लागेनन् कुनै । वास्तव मै समयले एउटा क्रुर ठट्टा गर्यो हामीसँंग ।
बुहारी हीमा, छोरीहरु सुम्निमा, सुवेक्षा, छोरो सुवर्ण, भाइ वसन्त, बुहारी पूजा, भतिजो आयुश अनि दिदीहरु टीका, मेनुका र योगकुमारी लगायत आफन्त, कुलकुटुम्ब र मित्रगण सम्पूर्णलाई स्तब्ध बनाएको छ यो मृत्युले ।
बिश्वास नै लाग्न नसकेको दृश्य बारम्बार दोहोरिइरहन्छ मस्तिष्कमा । असमयमा स्थगन भएको छ एउटा ऊर्जा चल्दाचल्दै हावामा । पूर्वस्मृतिहरुको ओइरोले घेरिएको छु म । ऊ गएको बाटो त्यो नफर्किने बाटो हेरिरहेछ्न् आँखाले । अलबिदा यादव ! हार्दिक श्रद्धाञ्जलि !!

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here