परिस्थिति बिथोल्न खोजे स्वीकार्य नहुने प्रधानमन्त्री ओलीको चेतावनी

0
1092

काठमाडौं।

प्रधानमन्त्री केपी ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको र ती प्रयासमा केही सञ्चारमाध्यम पनि संलग्न रहेको आरोप लगाएका छन् ।

अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले मुलुकको वर्तमान परिस्थितिलाई कसैले बिथोल्न खोजे सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनताले किमार्थ नस्वीकार्ने चेतावनी पनि दिएका छन् ।

सन्देशमा उनले भनेका छन्, ‘आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।’

सञ्चारमाध्यमसमेतलाई दोष थोपर्दै उनी प्रधानमन्त्रीले भने, ‘आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो’ ।

आफ्नो सन्देशमा प्रधानमन्त्री ओलीले अबका सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने भन्दै कोरोना महामारीविरुद्धको लडाईमा एक हुँदै श्रमिकको रोजगारी, आय र सामाजिक सुरक्षा सुनिश्चित गर्ने दिशातर्फ सम्पूर्ण प्रयास रहने बताएका छन् ।

सबैभन्दा पहिले टुटेको उत्पादन सम्बन्धको कडीलाई जोड्ने र अवरुद्ध उत्पादन प्रणालीलाई सुचालु गरिने भन्दै प्रधानमन्त्री ओलीले घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै नराख्ने र आफू नेतृत्वको सरकारले भ्याएसम्म सुविधाको जोहो गर्ने उल्लेख गरेका छन् ।

‘घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन, रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईँहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ’, उनले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here