कोरोना कहर : आर्थिक वृद्धिदर घट्दा प्रतिव्यक्ति आम्दानी ३४ डलरले बढ्यो

0
893

काठमाण्डौं ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको छ । नेपाल पनि त्यसबाट अछुतो छैन । सरकारले चालू आर्थिक वर्षमा सामान्य अवस्था रहेको भए कूल आर्थिक वृद्धिदर ८.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

चालू आर्थिक वर्षको बजेटलाई नेपालको अर्थतन्त्रले उडान भर्ने गरी कार्यक्रम तय गरिएको थियो । कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा विषम खालका समस्या देखापरेका छन् । उद्योग प्रतिष्ठान, विकास निर्माणका काम प्रायः ठप्प छ । आर्थिक गतिविधि नहुँदा सरकारले अपेक्षा गरेअनुसारको आर्थिक वृद्धि हासिल हुन नसक्ने अवस्था देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कका आधारमा हेर्ने हो भने चालू आर्थिक वर्षमा मात्रै २.२७ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने देखिएको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा गोरखा भूकम्पका कारण सबैभन्दा कम आर्थिक वृद्धि भएको थियो । भूकम्पले सम्पूर्ण गतिवधि रोकिँदा सो आवमा मात्रै ०.५९ प्रतिशत आर्थिक वृद्धि भएको थियो । सरकारले लिएका नीति तथा कार्यक्रमका कारण पछिल्ला तीन वर्षमा आर्थिक वृद्धिदर छ प्रतिशतभन्दा माथि रहँदै आएको थियो ।

विभागका अनुसार आव २०७३÷७४ मा ८.२२, आव २०७४÷७५ मा ६.७० र आव २०७५÷७६ मा कूल ६.९९ प्रतिशत आर्थिक वृद्धि भएको थियो । कोरोना कहरका कारण आर्थिक वृद्धिमा ठूलो गिरावट आउने विभागको अध्ययनले देखाएको छ । सरकारले चालू आर्थिक वर्षलाई अर्थतन्त्रमा छलाङ हान्ने वर्षका रूपमा हुँदै ठूला भौतिक निर्माणको कामलाई समेत अगाडि बढाएको थियो । गत चैतको पहिलो सातादेखि कोरोना कहरले समग्र क्षेत्रमा जटिलता पैदा भएको छ ।

कालो बादलभित्र चाँदीको घेरा भनेजस्तै समग्र अर्थतन्त्रमा ठूलो समस्या देखिए पनि केही क्षेत्रमा सुधार देखिने विभागको तथ्याङ्कमा समेटिएको छ । कोरोनाको प्रभावले समग्र क्षेत्रमा असर परेको भए पनि नेपालीको प्रतिव्यक्ति आम्दानी बढेको विभागले सार्वजनिक गरेको विवरणमा समेटिएको छ । विभागका अनुसार नेपालीको एक वार्षिक औषत आम्दानी रु एक लाख २६ हजार १८ पुगेको छ । प्रतिव्यक्ति आम्दानी एक हजार ८५ अमेरिकी डलर पुगेको छ । विभागकै अनुसार अघिल्लो वर्ष प्रतिव्यक्ति आम्दानी रु एक लाख १७ हजार २६८ थियो अर्थात् अमेरिकी डलरमा एक हजार ३९ थियो । गत आबभन्दा चालू आवमा प्रतिव्यक्ति आम्दानी ३४ अमेरिकी डलरले वृद्धि हुने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here