अमूर्त सांस्कृतिक सम्पदा र मन्त्रविद्या

0
965

जगमान गुरुङ

अहिले विश्वका कतिपय अमूर्त सांस्कृतिक सम्पदाहरु लोप भईसकेका छन् र कतिपय सम्पदाहरु लोपोन्मुख अवस्थामा रहेकाछन्। त्यसकारण अहिले पूरै विश्व नै अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन अनुसन्धान एवं संरक्षण र संवर्द्धनमा लागेकाछन्।

नेपालका हिमाल, पहाड, डाँडाकाँडा, नदी नाला, खोँच गल्छी, ताल तलैया, छहरा पहरा, टार टारी र समथर फाँटहरु, वन जङ्गल र महभिर, खोलाको बगरदेखि हिमालको खगरसम्मका अनेकन् भू बनावट , वनस्पति , पशु पंक्षी आदि जैविक विविधता हाम्रा भौतिक सम्पत्ति हुन्।

अहिले नेपालमा १२५ समुदाय सूचिकृत छन्। ती १२५ समुदायका भाषा, भेषभूषा, रीतिथिति , तिनका शिपकला, विश्वास र मान्यताहरु हाम्रा अमूर्त सांस्कृतिक सम्पदा हुन्।

नेपाल प्रकृतिको अमूल्य वरदान पाएको देश हो। नेपालीले अनेकन् मूर्त – अमूर्त सांस्कृतिक सम्पदाको सृजना गरेका छन्। त्यसकारण नेपाल मूर्त-अंमूर्त सांस्कृतिक सम्पदाले युक्त धनी देश हो।

नेपाली संस्कृति प्रकृतिबाट अनुप्राणित र अभिप्रेरित छ। त्यसकारण नेपाली आँखाले ठूलो ढुङ्गामा देवता देख्दछ। ठूलो रुख र पानीको छहरा र रहमा कतै भूत , कतै सुनाझाँकृ र कतै देवी देवता देख्दछ। यसैगरी अचम्भको प्राकृतिक वस्तुमा दैवीशक्ति देख्दछ।

एउटा अचम्भको कोत्रे ढुङ्गालाई नेपाली मनले मनकामना माईको रुपमा पूज्द्छ। डाँडाको टुप्पाको पानीको कुण्डलाई कालिन्चोक माई मान्दछ। विद्युतीय आकर्षण भएको चुलिएको डाँडालाई पाथीभरा भगवती मान्दछ। मुक्तिनाथ र दुल्लुका प्राकृतिक ज्वालालाई ज्वालामाई मान्दछ।अक्करो बाटो र चुलिएको डाँडाको टुप्पोलाई बडिमालिका मान्दछ।
कुनै भौतिकवादी चार्वकका मतानुयायीहरुले यसलाई अन्धविश्वास भन्लान् , यस प्रकारका प्राकृतिक श्रोतलाई देवी देवता मानेर विश्वास गर्नेहरुलाई जडसूत्रवादी भन्लान् तर नेपाली समाज र संस्कृति यही श्रद्धा र विश्वासमा अडिएको छ।
अरु ठाउँमा बर्खामा पानीको मूल फुट्छ र हिउँदमा पानीको मूल सुक्छ तर कास्की, सिकलेसको चोखोपानीतीर्थमा पुसको मसान्तको मध्यरातमा पानीको मूल फुट्छ। सिरहाको सलहेस फूलवारीमा चैतको मसान्तको मध्य रातमा हरामको रुखमा सुनाखरीको मालाको आकारको फूल फुल्दछ। लमजुङ, भुजुङ गाउँको खोलाखर्क नामको भेडीखर्क छ। भेडीखर्कको खोलामा अघिपछि सुक्खा हुन्छ तर प्रत्येक दिन मध्याह्नमा हिमालबाट एक हल पानी बगेर आउँछ। यी हाम्रा प्राकृतिक सम्पदा हुन् ।

नेपाली संस्कृति प्रकृतिबाट अनुप्राणित भएको हुँदा प्रकृतिको अनुकूलमा कसरी रहने र पकृतिलाई आफ्नो अनुकूलमा कसरी राख्ने यस्ता विधिहरु छन्।

सुक्खा खरेडी पर्दा पानी पार्ने वर्षापनविधि, असिना पर्न थाल्यो भने असिना रोक्ने मेघविष्फोटनविधि, शत्रुस्तम्भनविधि, महामारीशमनविधि ईत्यादि प्रशस्तै विधिविधानहरु छन्। यी विधिविधानहरु अन्धविश्वास होइनन्, अहिलेका पश्चिमा विज्ञानलाई चकित पार्ने ज्ञान र विद्या हुन्।

के यूरोप र अमेरिकाका वैज्ञानिकहरुले पानी पार्न सक्छन् ? असिना तर्काउन सक्छन् ? लौ हेरम त तिनको पाइन?
चन्द्रशमशेर राणाको पालामा पानी नपरेर सुक्खा खरेडी पर्दा रसुवाको गोल्जुङका लामाले टौदहमा नागसाधना गरेर पानी पार्दा लामालाई नगद बकस दिएको श्रेस्ता ईतिहास संशोधन मण्डलको पूर्णिमा पत्रिकामा छापिएकोछ।

लामाहरुले मेघमाला पढेर असिना तर्काएको अनेकन् श्रुतिपरम्पराहरु सुनिन्छन्। बबरशमशेर राणाका छोरा ध्रुवशमशेर राणा भक्तपुरको बडाहाकिम छँदा नगरकोट, महादेव पोखरीका लामाले दिउँसो मण्डलमा असिना पारेर भक्तपुरको टुँडिखेलमा भकारीमा असिना हुलेको घटना ताजै छ।9851050031 मा फोन गरेर भक्तपुर, दुवाकोटका संहिताशास्त्री अर्जुन बाँस्तोलासंग सोधे हुन्छ।धनकुटा, आँखीभुइँका असिना लामाका छोरालाई ता म आफैँले भेटेको छु। सम्माननीय भद्राकुमारी घले अहिले ८९ वर्षको हुनुहुन्छ। वहाँ ७ वर्षको छँदा अर्थात् अहिले भन्दा ८२ वर्ष अघि वहाँको मामाली गाउँ तामाकोशीको शिर चंखु, गोङटामा लामाले असिना पारेर आफुलाई ओलिपाथी नदिने व्यक्तिको गहूँ भक्राम पार्दिएको घटना बताउनुहुन्छ। 014420461 मा फोन गरेर सोध्नोस्।

काठमाण्डौको काँठ ईलाकामा डेड दुइसय भारि दाउरा बालेर त्यसको तातो भुङग्रोमा नाङ्गो खुट्टाले कुल्चेर खलि खेलेर काँचो वायुलाई पाको बनाउने गरिन्छ।

मेघ शान्ति गर्दा ४/५ भारि दाउरा बालेर हलोको फलामको फालिलाई तताएर भर्भराउदो फलामको फालिलाई आफ्नो नाङ्गो हातले समातेर जिब्रोले चाटी चाटी फालिलाई सेलाएर चिसो पार्न सक्ने गोरखा, भिरसिङका झाँक्रु स्याँगे गुरुङ जीवितै हुनुहुन्छ। कास्की, धम्पुसका झाँकृ बुद्ध गुरुङले पनि तातो फाली चाट्न सक्छ।

हरियो रुखलाई आफ्नो मन्त्रशक्तिद्वारा खग्रङ्गै पारेर सुकाइदिन सक्ने क्षमता भएका नेपाल ललितकला प्रज्ञा – प्रतिष्ठानका पूर्व उपकुलपति ठाकुरप्रसाद मैनालीज्यूलाई 014495454 मा फोन गरेर वहाँको मन्त्रशक्ति बारे सोध्नोस् ।

नेपाली ईतिहास, संस्कृति र पुरातत्त्व विषयका वरिष्ठ विद्वान प्रा. डा. डिल्ली ओलीज्यूका पिता सल्यान, श्रीचौर निवासी हर्षसिंह ओली अग्निस्तम्भन गर्न सक्ने र भूतप्रेत, मशानलाई वश पार्नसक्ने क्षमता भएका प्रसिद्ध व्यक्ति हुनुहुन्थ्यो। 9851106868 मा फोन गरेर प्रा. डा. डिल्ली ओलीज्यूसंग यो कुरा सोध्नोस् ।

अघि माओवादी युद्धताका माओवादीका कमाण्डरले शेखी गर्दा दुल्लु, लम्जीका धामीले भक्भक्ति उम्लिरहेको तातो तावाको दुवै कानलाई हातले समातेर तातो तेललाई सुइय्यँ पिएर तावालाई भूइँमा बजारे पछि माओवादीका कमाण्डर भागेको घटना ताजै छ।

दुल्लुको रावतकोटको मष्टको स्थानका धामीले २००/३०० बोकाको घाँटी आफ्नो दाँतले टोकेर टाउको र शरीर छुट्याइ दिन्छन् । के यो संभव छ त?ए भौतिक विज्ञानवादी हो! के तिम्रो विज्ञानले यसो गर्न सक्छ?

बाराको गढीमाईको स्थानमा संसारको सबभन्दा बढी पशुवलि हुन्छ तर त्यहाँ एउटा झिँगा र माखो पनि आउँदैन।आजभन्दा २० वर्ष अघि मेरै आँखाले यो कुरा देखेकोछु।तिम्रो विज्ञान र शास्त्रले यो कुरालाई के भन्छ त महोदय?

आज संसारभर कोरोनाको विरुद्धमा आ- आफ्ना ढङ्गले पूजा आजा र प्रार्थनाहरु भइरहेकाछन् ।चीनमा शिवको भजन भइरहेकोछ।तिब्बतका लामाहरु कुइरिमण्डल धूँवा पुत्ताएर यज्ञ गरिरहेकाछन्। इटलीवासीहरु आत्तिएर कोरोनाका विरुद्धमा झ्याल झ्यालबाट थाल ठटाएर कोरोना भगाइ रहेकाछन्। के थाल ठटाएर कोरोना भाग्छ त?थाल ठटाएर धामी झाँकृले द्यौ बस्ने ता हाम्रो परम्परा हो।

इटलीमा रुद्री पाठ भइरहेकोछ।स्पेनका चिकित्सकहरु ॐकारध्वनि उच्चारण गरेर प्रार्थना गरिरहेकाछन्। अमेरिकामा लाखौँ लाख जनता हरे राम! हरे कृष्ण ! भजन गाइरहेकाछन्। यसरी अहिले संसार त्राहि त्राहिको अवस्थामा छ।यस्तो बेला तिम्रो भौतिक विज्ञान र औषधीले के गय्रो त नि?

अहिले भारतमा कोरोना उकालो लागेकोछ।भारतबाट पश्चिम नेपालमा डेढलाख नेपाली भित्रिए तर तिनमा एउटा पनि कोरोनाको बिरामी भेटिएन। पश्चिम नेपालमा ता भक्राम परेर मान्छे मर्न पर्थ्यो तर त्यहाँका जनताले कुन शक्तिले कोरोना पचाइदियो?मेरो कृयाकलापप्रति खेद प्रकट गर्ने महोदयको विज्ञानले के भन्छ त?

अहिले भौतिक विज्ञानको उन्नतिमा चुर्लुम्म डुबेका पश्चिमाहरु पूर्वीय सभ्यता र संस्कृतिको अन्वेषणमा लागेकाछन्। नासाका वैज्ञानिकहरु हामीले सूर्यको ध्वनि पहिचान्यौँ।सूर्यको ध्वनिले ॐकारको ध्वनि प्रवाह गर्दो रहेछ भनेर बडो गर्व गर्छन् तर सूर्यको ध्वनि कस्ले कहाँ पत्ता लगायो? सूर्योपासना कहाँबाट प्रारम्भ भयो? तिमीलाई र तिम्रा वैज्ञानिक हरुलाई थाह हुनुपर्ने हो?

देवर्षि विश्वामित्रले नेपालको कोशीको किनार वराहक्षेत्रमा बसेर ब्रह्मगायत्रीको अनुष्ठान गरेकाथिए। यो कुरा ती पश्चिमा वैज्ञानिक र तिनका प्रशंसकहरुले बुझुन्।

अहिले नेपाल मात्र होइन, पूरै विश्व नै विप्लवको अवस्थामा छ।अत: यसको शमनका लागि सबैले आ- आफ्नो क्षेत्रबाट केही न केही सहयोग गर्न अत्यावश्यक छ तर नाकाबन्दीको बेला भ्रष्टाचार गर्ने,भूकम्पको बेला भ्रष्टाचार गर्ने, कोरोनाको बेला भ्रष्टाचार गर्ने ती दुष्टजनको थाप्लामा ईश्वर भगवानले अवश्य पनि वज्रठिङ्गे बजार्नेछ।

कोही मै हुँ जान्बे सुन्ने भन्नेहरु अरि परेको घरिमा कोही पनि क्यै बोलिदिँदैन।मुख लुकाएर बस्छन्। अहिले नेपालमा किन यस्तो गय्रौ? किन यस्तो गरेनौ?भन्ने व्यक्ति र निकाय कोही छैन।राष्ट्र र राष्ट्रीयताका लागि बोल्ने कोही छैन।बोलेपनि एक पक्षको कुरा मात्र बोल्छन्। यसरी विद्वत्ता र प्रज्ञानको खरेडी परेको छ।विज्ञहरुले ता परेको घरिमा बोलिदिनुपर्छ।
मन्त्र भनेको अन्धविश्वास होइन।मन्त्र भनेको मनको भाव र मानसिक शक्ति हो । तन्त्र भनेको मन्त्रको भौतिक स्वरुप हो। जब मन्त्र कृयाशिल हुन्छ, त्यो यन्त्र हो तर अहिलेका मान्छेमा सत् छैन।सत् नभएपछि शक्ति हुँदैन र शक्ति नभएपछि मन्त्र सिद्धि हुँदैन।

त्यसकारण अर्काले लेखिदिएको किताब घोकेर, अर्काले भनिदिएको कुरा सुनेर, अर्काको भरमा कुनै मान्छे विद्वान हुन सक्तैन।विद्वान हुनलाई ता आफ्नै प्रज्ञान चाहिन्छ र समाजमा गएर अध्ययन गर्नसक्नुपर्छ।अनि बल्ल बुद्धि फुर्छ।
जगमान गुरुङ नेपाल प्रज्ञा – प्रतिष्ठानको उप कुलपति भएर Face Book मा मन्त्र तन्त्रको कुरा लेख्ने, के मन्त्र तन्त्रबाट कोरोना शान्त हुन्छ?आधुनिक समाजलाई अन्धविश्वासतिर घुचेट्ने?भनेर खेद प्रकट गर्नेहरुले के बुझ्नुपर्छ भने आज भन्दा १२ वर्ष अघि पनि म साबिक नेपाल राजकीय प्रज्ञा – प्रतिष्ठानको प्राज्ञ परिषदको सदस्य थिएँ।अहिले नेपाल प्रज्ञा – प्रतिष्ठानको उप कुलपति छु तर मेरो लागि नेपाल प्रज्ञा – प्रतिष्ठानको उप कुलपति वा अरु कुनै पद भन्दा मलाई मेरो नेपाल राष्ट्र प्यारो छ, , मलाई मेरो नेपाली राष्ट्रीयता मन पर्छ।

मैले नेपाल प्रज्ञा – प्रतिष्ठानको उप कुलपतिको हैसियतले नभएर नेपालको एउटा नागरिकको रुपमा नेपाल राष्ट्रप्रति मैले आफ्नो क्षेत्रबाट आफ्नो नितान्त व्यक्तिगत अवधारणा र तदनुरुपको कार्य गरेको हुँ।
त्यसकारण नेपाल राष्ट्र र नेपाली राष्ट्रीयताको भावना प्रबोधन र प्रवर्द्धनका लागि नेपालको एउटा नागरिकको हैसिततले आफ्नो मनको भाव प्रजट गरेर तदनुसारको कृयाकलाप गर्न पाउनु मेरो नैसर्गिक हक अधिकार हो।
यसकारण यसमा कसैले खेद प्रकट गरिरहन आवश्यक छैन।विरोध र ईर्ष्या गर्न पनि पर्दैन।यदि तपाईँहरु पनि सक्नुहुन्छ भने आफ्नो कुरा राख्नोस् , मुख नलुकाउनोस् ।

नेपाल आमाको हितका लागि धनीले धन दान गर्नोस् , योजनाविदले कुशल योजना बनाउनोस् ,सेवाकर्मीले अशल सेवा गर्नोस् , शास्त्र र विद्याका धनीहरुले आ- आफ्ना विद्याको सदुपयोग गर्नोस् र अधोगतिमा गइरहेको नेपाल आमालाई उँभो लगाउने काममा लाग्नोस् ।मेरो ईर्ष्या नगर्नोस् ।

त्यसकारण नेपाली समाजको आदर्श र मर्यादा एवं नेपाली संस्कृतिको मूल्य र मान्यता नै नबुझिकन जान्ने पल्टेर कुनै विषयमा कलम चलाएर पापको भागिदार बन्न हुँदैन।विद्याले सराप्छ।

आगतं पन्चवक्त्रात्तु गतं च गिरिजानने।मतं च वासुदेवस्य तस्मात् आगम उच्यते।यो शास्त्र वचन छ।यो नेपाल पार्वतीले रचना गरेको शिवको देश र बुद्धको जन्मभूमि हो।अनेकन् सिद्ध साधकहरुको साधनाभूमि हो।नेपाल तन्त्रले धानेको सत्यवतीको देश हो।

त्यसकारण हामी सत्यमा रहौँ।सत्य वचन बोलौँ।सत्कर्ममा लागौँ।एक अर्कालाई सम्मान गरौँ।आफू पनि बचौँ।अरुलाई पनि बचाउँ।नेपाल राष्ट्र र नेपाली राष्ट्रीयताप्रति समर्पित होऔँ।।

ॐ सत्यं परं धीमहि ।।
ॐ सह नाववतु।सह नौ भुनक्तु।सह वीर्यं करवावहै।तेजस्विनावधितमस्तु।मा विद्विषावहै।।
ॐ शान्ति :।ॐ शान्ति :।।ॐ शान्ति : ।।।
।।शुभम् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here