हात्तीको उपद्रो घट्यो – जङ्गलबाट बाहिर निस्किएनन्

0
739

चन्द्रकला भण्डारी
झापा,

कोरोनाको सङ्क्रमणको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहदा मानव मात्र होइन जङ्गली जनवार पनि बासस्थान बाहिर निस्केका छैनन् । झापामा जङ्गली हात्तीको उपद्रो घटेको छ । बन्दाबन्दीमा घरभित्रै बस्न बाध्य स्थानीयवासीले हात्ती पनि जङ्गलभित्रै बस्नुलाई अनौठो संयोग मानेका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बन्दाबन्दी जारी भएयता हात्तीको गाउँ प्रवेश, बालीनाली क्षति र प्रभाव घटेको जानकारी दिनुभयो ।

‘‘एक दुईबाहेक हात्ती गाउँ पसेको घटना छैन’’, उहाँ हात्तीको त्रास कम भएको बताउँदै भन्नुहुन्छ, ‘‘सधैँभरि यस्तै भइदिए हुन्थ्यो भन्ने हाम्रो विगतदेखिकै प्रयास छ, तर बन्दाबन्दीका बेला उपद्रो नबढ्नु संयोग मात्र हो कि अरु केही छ भनेर कारण खोज्दैछौँ ।’’

जिल्ला वन कार्यालयको तथ्याङ्क अनुसार गत फागुन महिनामा जिल्लाका विभिन्न क्षेत्रमा १९ पटक पाँच वटासम्म हात्ती गाउँ पसेर उपद्रो मच्चाएका थिए । तर बन्दाबन्दी शुरु भएको चैत महिनामा दुई पटक र वैशाख महिनाको १५ गतेसम्म तीन पटक मात्र जङ्गली हात्ती गाउँ पसेको तथ्याङ्क देखिन्छ ।

यहाँको जलथल, चारआली, मागुरमाडी र तेलपानी जङ्गलमा नौदेखि ११ वटासम्म रैथाने जङ्गली हात्ती बस्दै आएका छन् । ती हात्तीले नजिकका गाउँबस्तीमा पसेर मान्छेमाथि आक्रमण गर्ने, घर भत्काउने र बालीनाली खाएर नोक्सानी गर्दै आएका थिए ।

चैत र वैशाखमा जम्मा पाँच पटक गाउँ पसेको हात्तीले भद्रपुर, हल्दिबारी, बिर्तामोड, बाह्रदशी, झापा र मेचीनगरमा सामान्य क्षति पु¥याएको वन कार्यालयले जनाएको छ । बन्दाबन्दीको अवधिमा हात्तीले एउटा घरको झ्याल भत्काएको मात्र विवरण आएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो । गत चैतमा २२ पटक र यही वैशाखमा १३ पटक वन कार्यालयको गस्ती खटिएको उहाँले बताउनुभयो ।

उहाँले बन्दाबन्दीको अवधिमा जिल्लामा एउटा गौरीगाई बाहुनडाँगीमा र एउटा चित्तल बाह्रदशीमा मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो । जलथल जङ्गल क्षेत्रभित्र हात्तीका दुई वटा बच्चा देखिएको र बाह्रदशीको सामुदायिक वनमा ४५ किलोको घाइते अजिङ्गर फेला परेको उहाँले बताउनुभयो ।

हात्ती र मानव द्वन्द्व न्यूनीकरणका क्षेत्रमा लामो समयदेखि क्रियाशील ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्कीले सरकारले बन्दाबन्दी घोषणा गरेपछि शान्तिक्षेत्र जस्तै बनेको जङ्गल क्षेत्रमा मानिसको प्रवेश नहुँदा प्राकृतिक वातावरणमा हात्ती रमाइरहेको बताउनुभयो ।

‘‘जङ्गली हात्ती प्राकृतिक वातावरण रुचाउँछन्, अहिले लकडाउनमा जङ्गल सुनसान छ’’, नेपालकै सबैभन्दा बढी हात्ती प्रभावित क्षेत्र भनेर चिनिएको यहाँको बाहुनडाँगीका बासिन्दा उहाँ भन्नुहुन्छ, ‘‘जसरी अहिले चराचुरुङ्गी रमाइरहेका छन्, हात्ती पनि जङ्गलभित्र शान्तिपूर्र्वक बस्न पाउँदा मान्छेको वासस्थानमाथि आक्रमण गर्न आएका छैनन् ।’’

यतिबेला जिल्लामा गाउँबस्तीतिर मकैबाली हलक्कै हुर्किएको छ । कतिपय ठाउँमा अगुवा मकै पाकिसकेका छन् भने कतिपय ठाउँमा सुत्ला चेप्न थालिसकेको अवस्था छ । मकै खान रुचाउने हात्ती यसपाली गाउँ नपस्नु अनौठो जस्तै भए तापनि खडेरी नपरी लगातारको वर्षाले जङ्गलभित्र फलेफुलेका बिरुवा र कन्दमूल खाएर हात्तीले पेट भरिरहेको हुनसक्ने अनुमान पनि गरिएको छ ।

बन्दाबन्दीले छेकेन चाउचाउ उत्पादनलाई

तयारी चाउचाउ उत्पादन गर्ने झापाको एकमात्र कम्पनी मनसा थाई फुड प्रालिले बन्दाबन्दीको अवस्थामा समेत उद्योग सञ्चालन भइरहेको जनाएको छ ।

दुई वर्षअघि रु ४० करोडको लगानीमा खोलिएको उद्योगमा सयभन्दा बढी कर्मचारी रहेका छन् । स्थानीय क्षेत्रका बासिन्दालाई रोजगारी प्रदान गरेको हुँदा बन्दाबन्दीमा समेत उद्योग सञ्चालन गर्न समस्या नभएको सञ्चालक बुद्धि घिमिरेले जानकारी दिनुभयो ।

उहाँले कच्चा पदार्थको अभावमा मागअनुसारको उत्पादन गर्न नसकेको बताउनुभयो । “काम गर्ने समय आधा घटाएका छौँ”, उहाँले भन्नुभयो, “दैनिक चार हजार ५०० कार्टुन मात्र उत्पादन गर्दैछौँ ।” उद्योगमा यसअघि १६ घण्टा काम हुने र उत्पादनसमेत दोब्बर हुँदै आएको थियो ।

मेचीनगर–१४ मा रहेको सो उद्योगका कामदारहरु मेचीनगर १३, १४ र भद्रपुर नगरपालिका–९ का बासिन्दा रहेका छन् । जसका कारण उनीहरु बन्दाबन्दीको समयमा समेत सजिलै उद्योगमा काम गर्न आइरहेका छन् । उनीहरुलाई उद्योगमा साबुन पानीले हात धुने व्यवस्थासहित सामाजिक दूरी कायम गरेर काम लगाउँदै आएको सञ्चालक घिमिरेले बताउनुभयो ।

उद्योगमा काम गर्ने कर्मचारीले स्थापनाकालदेखि नै हातमा पञ्जा, मास्क र गाउन लगाउँदै आएको उहाँको भनाइ छ । यस उद्योगले मगमग, अकबरे, रेलीमाई, प्यारीलगायत ब्राण्डका चाउचाउ उत्पादन गरी देशभर बिक्री वितरणका लागि पठाइरहेको सञ्चालक घिमिरेको भनाइ छ । – रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here