कोभिड १९ महामारीः सञ्चारकर्मीको भूमिका कस्तो हुनुपर्छ ?

0
1132

मुक्ति पौडेलः संयोजक
प्रेस संगठन नेपाल, झापा

वर्तमान समय मानव सभ्यताका लागि नै चुनौतिपूर्ण बनेको छ । गत वर्षको डिसेम्बर महिनाको अन्त्यतिर चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस संक्रमणले यति बेला विश्व नै आतंकित बनेको छ । हालको यस विषम परिस्थितिलाई नियन्त्रण गर्नका लागि विभिन्न क्षेत्रले खेल्ने भूमिकाले पनि विश्व भविष्यको निक्र्याैल गर्ने निश्चित प्रायः छ ।
महामारीको यो अवस्थामा विश्वस्तरमा र नेपालमा समेत सञ्चारमाध्यमले खेलेको भूमिकालाई नजिकबाट हेर्नुपर्ने हुन्छ । बिगत ५ महिनाको यो अवधिमा नेपाली सञ्चारमाध्यमले खेलेको भूमिकालाई विश्लेषण गर्दा सकारत्मक कुरा धेरै भएका छन् । जनमानसमा चेतनाको स्तरलाई बढाउन साथै सम्बन्धित निकायमा खबरदारी गर्न नेपाली सञ्चारमाध्यम सफल भएको छ । देश लकडाउनको स्थितिमा रहँदा नेपाली सञ्चारमाध्यमले प्रवाह गरेको सूचनाबाट सुसूचित भई आम नागरिक घरभित्रै बसेर राज्यलाई सहयोग गरिरहेका छन् । आज निजी स्रोतसाधन र जोखिम मोल्दै आम सञ्चारकर्मीहरु सत्यतथ्य सूचना सम्प्रेषण गरी आफ्नो कर्तव्यबाट एक कदमपछि हटेको अवस्था छैन ।
यसलाई आम नागरिक र राज्यले नजिकबाट हेर्न जरुरी छ । लकडाउन पश्चात छापा मिडिया प्रायः बन्द छन् भने विद्युतीय मिडियाले सञ्चारको अभावलाई धेरै हदसम्म समेट्ने प्रयास गरेका छन् । यो सराहनी कार्य हो । आम नागरिकको कठिन दिनचर्या सञ्चारकर्मीमा पनि लागू हुन्छ । तर, पत्रकारिताको मूल्यलाई आत्मसात गरी सञ्चारकर्मी यस कठिन समयमा पनि फिल्डमा खटिएका छन् । जसले सूचनाबाट कोही पनि विमुख हुनु परेको अवस्था छैन । यो नै नेपाली सञ्चारमाध्यमले यो विषम परिस्थितिमा देखाएको विश्वास अनि पेसाप्रतिको इमान्दारिता हो ।

इन्दू पूर्वेलीः अध्यक्ष
नेपाल प्रेस युनियन झापा

विश्व कोरोना भाइरस संक्रमणको सन्त्रासमा त्रसित रहेको अवस्थामा आम मानवलाई घरभित्रै सुरक्षित बसेर आफू, आफ्नो परिवार र समाजलाई जोखिम नियन्त्रणका लागि सघाउन अपिल गर्दै यतिवेला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी सडकमा उत्रिएको अवस्था छ । अझ सञ्चारकर्मीले पनि फिल्ड रिपोर्टिङलाई केही मात्रामा कम गरेर टेलिफोन, इमेल, इन्टरनेटको सहयोगमा सूचना प्रवाह गर्न सक्ने अवस्था छ भने नागरिकको सुरक्षार्थ निरन्तर खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मी प्रसंशाका पात्र हुन् ।
आज हामी विश्व प्रेस स्वतन्त्रता दिवस र हाँसो दिवस मनाइरहेका छौं । जोडिएर आएका यी दुई दिवसको सन्दर्भलाई हाम्रो शासन व्यवस्थासँग जोड्ने हो भने सत्तामा बस्नेले गरेका गलत गतिविधिकाविरुद्ध सञ्चारमाध्यममा आएका समाचारहरुका विषयमा प्रमुख उत्तरदायित्वमा बसेकाहरुबाट आएको गाली गलौजपूर्ण धम्की हास्यास्पद छ । तर, हामी पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टीसहित आम मानवको अभिब्यक्ति स्वतन्त्रता सुरक्षित हुँदा मात्रै हास्न सक्ने परिवेशमा छौं ।
संकटको यो समय र लगभग ४१ दिनदेखि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्की प्रविधिको उच्चतम् प्रयोगमार्फत वा निस्कनै परेको अवस्थामा सुरक्षा सामग्रीहरुको पूर्ण प्रयोग गर्दै समाचार, सूचना सम्प्रेषण, सरकारका काम कारबाही, जनताका समस्या र गुनासा आम जनसमुदाय सामु पु¥याउनु सञ्चारमाध्यमको प्रमुख दायित्व हो, यो दायित्व पत्रकारहरुले पूरा गरिरहेकै अवस्था छ । लकडाउनका कारण पत्रपत्रिका प्रकाशन र वितरणमा कठिनाई भए पनि अनलाइन, टीभी, रेडियो आदि सूचनाका प्रमुख स्रोत बनेका छन् अहिले । यस विषम परिस्थिति र यसले भविष्यमा निम्त्याउन सक्ने आर्थिक संकटका कारण कुनै पनि सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीको रोजीरोटी गुम्ने अवस्था नआओस् भन्ने कामनासहित आ–आफ्नो जिम्मेवारी, कर्तब्य पालना गर्दै निस्पक्ष, तटस्थ, सत्य, तथ्य सूचना सम्प्रेषण गर्दै निष्ठापूर्ण पत्रकारिताको विकासमा आजका दिनले विशेष प्रेरणा प्रदान गरोस् शुभकामना ।
विद्रोही पक्षले राज्यसत्ताकाविरुद्ध आन्दोलन गर्दा होस्, राज्यसत्ताले विद्रोही पक्षलाई दमन गरेर विद्रोह मत्थर पार्न गरेको प्रयत्न होस् वा दोहोरो द्वन्द्वको मारमा परेरै किन नहोस्, प्रेस जगतले आम नागरिकसामु सूचना पस्किएका थिए र छन् ।
अझ नेपालमा लोकतान्त्रिक शासन व्यवस्था ल्याउनका लागि सञ्चारकर्मीले अग्रपंक्तिमा रहेर गरेको आन्दोलन अविश्मरणीय छ, यसको एउटै ध्येय र लक्ष्य विश्वव्यापी प्रेस स्वतन्त्रताको मूल्य र मान्यतालाई स्थापित गर्दै आम मानवको अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि थियो ।

रञ्जित प्रसाईंः अध्यक्ष
मिडिया नेपाल, झापा

विश्व प्रेस स्वतन्त्रता दिवसको यस वर्षको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ अनुरुप सञ्चारकर्मीले भयमुक्त भई काम गर्ने वातावरण बनाउन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।
अहिले विश्वव्यापीरुपमा चुनौतिका रुपमा देखिएको कोरोना भाइरसको महामारीको संक्रमणको यो समयमा पनि कोरोनाविरुद्धको लडाइँलाई सार्थक बनाउन अग्रमोर्चामा खटिएका सञ्चारकर्मीलाई भयमुक्त भई काम गर्ने वातावरण बनाउन सञ्चारमाध्यमले सञ्चारकर्मीलाई सुरक्षाका सामग्री उपलव्ध गराउनुपर्छ ।
कोरोना भाइरसको संक्रमणवाट सबैको जीवन सुरक्षित राख्न, यो रोगबारे सचेतना जगाउने, सूचना र जानकारी दिने तथा सतर्कता अपनाउनुपर्ने विषयसमेत सम्प्रेषण गरी सञ्चारकर्मीले कार्यक्षेत्रमा खटिएर गर्ने कार्य झन् जोखिमयुक्त छ । यस्तो बेलामा पनि सञ्चारकर्मीले अग्रमोर्चामा खटिएर सूचना प्रवाह गरिरहेका छन् ।
सञ्चारकर्मीले सूचना प्रवाह गर्दा संवेदनशील भएर आधिकारिक स्रोतबाट पुष्टि भएका सूचना मात्र सम्प्रेषण गर्न म सञ्चारकर्मी साथीहरुलाई आग्रह गर्दछु ।
सञ्चारकर्मीले सूचना तथा समाचार प्रवाह गरिरहँदा समाजमा सकारात्मक सन्देश जाने , सत्य र तथ्यमा टेकेर आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न अनुरोध गर्दछु । सञ्चारमाध्यमहरुमा समाचार ब्रेकिङ गर्ने हतारोमा प्रमाणित नभएका तथ्यहीन समाचार सम्प्रेषण नगर्न पनि म सञ्चारकर्मी साथीहरुलाई आग्रह गर्दछु । मुलुक लकडाउनको अवस्थामा छ  । यस्तो अवस्थामा समेत सञ्चारकर्मीले अग्रमोर्चामा खटिएर सूचना प्रवाह गरिरहेका छन् । यो वेलामा कोरोना भाइरस र लकडाउनको संकटका कारण सञ्चारकर्मीहरुको रोजगार र पारिश्रमिकको समेत ग्यारेन्टी गर्न म सञ्चारमाध्यमहरुलाई आग्रह गर्दछु ।

देशराज नेम्वाङः केन्द्रीय सदस्य
प्रेस नेपाल

नेपाली पत्रकारिता जगत सम्भवत लोकतान्त्रिक इतिहासमा नै अप्ठ्यारो परिस्थितिमा गुज्रिएको अवस्था हो यो समय । तसर्थ यतिवेला राज्यले पत्रकारिता जगतलाई हेर्ने दृष्टिकोण आफैमा असहज छ । यो छुट्टै विषय हो ।
कोरोना भाइरसको महामारीको चपेटाले विश्व आक्रान्त भएको बेलामा नेपाल पनि अछुतो रहेको छैन । विश्वका शक्तिसम्पन्न राष्ट्रहरु, जो आर्थिक सामाजिक र प्राविधिक सबै रुपमा अगाडि भएता पनि कोरोना भाइरसको संक्रमणले त्रसिद भएको वेलामा नेपाल विकासोन्मुख मुलुक भएको हुनाले अति जोखिम हुन्छ भन्ने कुरामा दुईमत छैन ।
यसबेला यो महामारीबाट बच्नको लागि सञ्चारकर्मी र सञ्चारमाध्यमहरुको अहम् भूमिका रहनु जरुरी छ । विशेषगरी अनाधिकृत रुपमा प्रकाशन र प्रशारण भएका समचारहरुले जनमानसमा अत्यन्तै सन्त्रास फैलाएको छ । यसलाई मध्यनजर गर्दै यस्ता गिरोहहरुलाइ निस्तेज गर्न सञ्चारमाध्यमहरुको विशेष ध्यानाकर्षण हुन आवश्यक छ ।
कोरोना भाइरस के हो? यसको संक्रमण कसरी हुन्छ? यसबाट बच्न कस्तो उपाया अपनाउन सकिन्छ? भन्ने जस्ता आधारभुत जानकारी सम्म नपाएका जनताहरुलाइ सुसुचित गराउन स्तम्भ प्रकासन र कार्यक्रम प्रशारणमा विशेष जोड दिनु पर्छ। कतिपय स्थानहरुमा अत्यावश्यक काम लिएर हिडेका जनताहरु असक्षम पत्रकारहरुको प्रतिसोध युक्त प्रश्नहरुबाट प्रताडित भएको उदाहरण प्रसस्त रहेका छ्न । यसतर्फ आधिकारिक संचार माध्यमहरुले साझा धारणा बनाइ त्यसबारेमा सर्वसाधारणहरुलाइ सुचित गराउन आवश्यक छ।
नेपालमा उच्च स्तरका स्वास्थ्य सामग्री र स्वास्थ्य संस्थाहरुको अभाव रहेको छ। तसर्थ कोरोना भाइरसको संक्रमणबाट बच्ने एउटै विकल्प लकडाउन हो। यसकालागी भरपर्दो सुरक्षा नीति अपनाएर स्थानिय बजार सुचारु गराउन सकिन्छ । स्थानीय बाहेक अन्य क्षेत्रबाट आउने जाने क्रम पुर्णरुपमा निशेध गरि स्थानिय बजार संचालन गर्न सुरक्षित हुन सक्ने सम्भावनाको खोज गरि सरोकारवाला समक्ष पत्रकारहरुले जानकारी गराउन जरुरी छ। स्थानिय बासिन्दाहरुको सहजताका लागि स्थानिय बजार संचालन गर्न सकिन्छ। यसतर्फ पत्रकार र संचार माध्यमको ध्यान जान सकोस ।

गणेशमान मुखियाः पूर्वअध्यक्ष
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)झापा

सर्वप्रथमतः सञ्चारमा आवद्ध सम्पूर्ण सञ्चारकर्मीलाई विश्व प्रेस स्वतन्त्रताको उपलक्ष्यमा शुभकामना । प्रेस स्वतन्त्रता मात्र होइन, नेपालको संविधान २०७२ले प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरेको छ । त्यसैले प्रेस स्वतन्त्रता वा स्वतन्त्र प्रेस भनेर परिभाषित गरिरहनु जरुरी छैन । उसले कसरी उपभोग गर्छ, त्यो महत्वपूर्ण कुरा हो ।
नोवेल कोरोना भाइरस (कोभिड–१९) को विश्वभरी महामारीको रुपमा फैलिरहेको अवस्थामा नेपालमा पनि आइपुग्यो । कोभिडसंग शक्तिशाली मुलुक समेत लड्न सकि रहेको अवस्था छैन । बिरामी संख्याको आधारमा स्वास्थ्य सामग्री र उपकरण न्यून थियो अर्थात् छ । झन् कोरोना भाइरसको उत्पत्ति भएको मुलुक चीन तथा भूसको आगोझै संक्रमित बढिरहेको भारत नेपालको दुवै देश छिमेकी हो । यसले हामीमा झनै जोखिम बढाएको छ । भलै आजको मितिसम्म संक्रमित बने पनि कोरोना भाइरसले ज्यान गएको छैन् । यो अवस्थामा सञ्चारकर्मीको भूमिका अन्य समयको भन्दा झनै बढी जिम्मेवार हुनुपर्ने अवस्था रहेछ । आफ्नो अनुभव । उखानै छ, जीऊ रह्यो भने मात्र घीउ खान पाउँछ । सर्वप्रथमः त आफू सुरक्षित हुनुपर्यो । रेडियो, अखवार र अनलाइन पत्रकारिता गर्न एकान्तबासबाट सम्भव भए पनि टेलिभिजनमा गाह्रो छ ।
दृष्यको लागि हिँड्नैपर्ने । स्पर्शबाट मात्र नभई हावाबाट समेत कोरोना भाइरस सर्न सक्ने भएकोले दुरी कायम गर्न पर्यो । अन्य समाचार संकलनभन्दा संवेदनशील हुनुपर्यो । समाचारको सानो कमजोरीले व्यक्ति र परिवार मात्र नभई समाज नै प्रताडित हुन जान्छ । एउटै सूचनाको स्रोतले समाचार बनाउँदै आएकोमा तीनवटा स्रोत आवश्यक पर्न थाल्यो ।

दिलकुमार लावतीः संयोजक
संघीय पत्रकार मञ्च, नेपाल

चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वको २०८ मुलुकभन्दा धेरै राष्ट्रहरुमा प्रत्यक्ष असर गरेको छ । विश्वका अधिकांश देशहरुमा लकडाउन गरिएको छ ।
विशेष गरेर हवाई मार्गबाट आवतजावतलाई नियन्त्रण गरेसँगै भाइरस फैलन नदिएर नै विश्वले यो भाइरसलाई जित्न सक्छ भन्ने बुझाई आम नागरिकको हो । हाम्रो जस्तो भूपरिवेष्ठित मुलुकमा भारतले तीनतिरबाट घेरिएको हुँदा भारतसँगको खुल्ला सीमानाका कारण धेरै कोरोना संक्रमितहरु भारतबाट आएको प्रष्ट भएको छ ।
सरकारले हवाई मार्गलाई बन्द गरेसँगै कोभिड–१९ देशभरि फैलन सकेन । त्यसैगरी सरकारले लकडाउनलाई कडाइका साथ लागू गरेको हुँदा संक्रमण पुरै देशमा फैलिएन त्यसका बाबजुद छिट्फुट रुपमा मात्रै बिरामी भए ।
विशेषतः आम सञ्चारकर्मीहरुले कोरोना सम्बन्धी जनचेतनामूलक आवाजहरुलाई उत्कृष्ट ढंगबाट आ–आफ्नो सञ्चारमाध्यमहरुबाट प्रचारप्रसार गरेको हुँदा पनि जनताहरु सुरक्षित भएको पाइयो । यस्तो जटिल परिस्थितिमा एक नेपालीले अर्को नेपालीमाथि गर्नुपर्ने मानवीय सहायताका कामहरु पनि सन्तोषजनक नै भएको छ । लकडाउनको समयमा संघीय सरकार, प्रदेश र स्थानीय तहले आ–आफ्नो स्थानबाट निम्न आयस्तरका गरीब, मजदुर र विद्यार्थीवर्गलाई समेत राहत वितरण गर्ने प्रयास गरेका छन् ।
विभिन्न सञ्चारमाध्यम र सञ्चारगृहहरुबाट पनि राहत लगायतको कार्यमा सहयोग गरेको पाइयो । त्यसकारण विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ नियन्त्रण तथा रोकथाममा सञ्चारकर्मीहरुको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।
विश्वमै जलवायु परिवर्तनसँग उब्जिने सङ्कटबाट विभिन्न महामारी निम्त्याउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताइरहेको छ । त्यसकारण हामी सञ्चारकर्मी र सञ्चारमाध्यमहरुले आ–आफ्नो माध्यमबाट स्वास्थ्य सम्बन्धि भोलुम नै बनाएर राख्नुपर्दछ । जस्तोः हालको अवस्थामा कोभिड–१९ का बारेमा सचेतनामूलक लेख, अडियो, भिडियोको माध्यमबाट गाउँगाउँ वस्तीवस्तीहरुमा कार्यक्रमहरु पु¥याउनु उपयुक्त हुन्छ ।

इन्द्रसिंह राजवंशी
संस्थापक अध्यक्ष
आदिवासी पत्रकार संघ, झापा

विश्व प्रेस स्वतन्त्रता दिवस पत्रकार र पत्रकारितालाई सम्मान गर्ने दिन । अरु पेशाकर्मीहरुले आ–आफ्नो दिवसमा विदा पाउँछन् अनि रमाइलो गर्छन् । तर, यो महान पर्वका दिन समेत पत्रकारहरु आराम गरेर बसेका छैनन् ।
आ–आफ्नो कर्मक्षेत्रमा खटिएका छन् । त्यसै पनि विश्वव्यापी कोरोना भाइरसको महामारीका बेला पत्रकारहरुको जिम्मेवारी अझ बढेर गएको छ । जेसुकै व्याख्या गरिए पनि पत्रकारको जिम्मेवारी समाजलाई सुसूचित गराउनु नै हो । अहिले कोरोनाले विश्वलाई नै संकटमा पारिरहँदा यो महामारीको रोकथाममा पत्रकारहरु पनि लागिरहेका छन् । सूचना, समाचार र विश्लेषण दिने क्रममा हामीले समाजलाई महामारीबाट सजग र सर्तक गराउने हो । आतंकित पार्ने काम कहिल्यै गर्नु हुँदैन । लकडाउनका कारण पत्रपत्रिका बन्द भएको बेला हेर्ने र पढ्ने भनेको अहिले अनलाइन नै हो । एकपछि अर्को गरी खोलिएका अनलाइनको अस्वस्थ्य प्रतिष्पर्धाले अहिले चलेको यो पेशालाई हामी आफैले धरापमा पार्न खोजिरहेका छौँ । हल्दिबारीको एउटै घटनालाई लिएर फरक–फरक समाचार आयो ।
कसैले कोरोना पोजेटिभ देखियो भने कसैले होइन भने । अरुले खण्डन छाप्न दिएका थिएनन् , आफैले खण्डन लेखे । पोजेटिभ लेख्नेले पछि सच्याए । भ्यूअर्सले के बुझे र के मूल्यांकन गरे होलान् ? भर्खरैको अर्को उदाहरण बिर्तामोडको एउटा अनलाइनले जनता समाजवादी पार्टीको एकतापछि हुँदै नभएको ‘एकताको मसी सुक्न नपाउँदै पार्टी फुट्यो’ भनेर समाचार लेख्यो । म स्वयम् ताजुव भएँ । त्यसकारण यो संकटकालमा समेत हामीले जिम्मेवारीपूर्वक पेशा निर्वाह गरिरहेका छैनौँ कि भनेर सोच्ने बेला भएको छ । अनि बारम्बार उठ्दै आएको मर्यादाको सवालमा पनि हामी गम्भीर बन्न सकेका छैनौँ । अरुबेला भन्दा यो संकटका बेला हामीले हाम्रा आचारसंहितालाई बढी ख्याल गर्नुपर्छ । मानिसहरु संक्रमित बन्दैछन्, भोकै छन्, पीडित छन् । यस्तो बेलामा पेशासँगै आफ्नो सामाजिक उतरदायित्व पनि निर्वाह गर्न सक्नुपर्छ भन्दै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण पत्रकारहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here