भग्नावशेषमा सिमित ऐतिहासिक साम्योहाङ दरबार

0
1082

दिलकुमार लिम्बू

ताप्लेजुङ , ताप्लेजुङ जिल्लाको तमोरखोला क्षेत्र आदिम लिम्बु जातिको मुन्धुमको उद्गम थलोको रुपमा लिइन्छ । हालको नेपालको पुर्वी भागको लिम्बुवान क्षेत्रमा वसोवास गरिरहेका आदिम मुलबासी लिम्बु जातिको आगमन पनि हजारौं वर्ष अगाडि मंगोलियबाट उत्पत्ति हुदै चीनको सिचुवान प्रान्तबाट तिब्बतको वाटो भएर यही तमोरखोला क्षेत्रबाट यस नेपालको पुर्वी क्षेत्रमा प्रवेश गरेको इतिहास रहेको छ । यहींबाट हालको ताप्लेजुङ लगायत पाँचथर, धनकुटा, इलाम, तेह्रथुम, झापा, मोरङ र सुनसरी लगायत नेपालको विभिन्न क्षेत्रमा छरिएका बसोवास गर्न थालेका थिए भने हालको भारतको सिक्कीम, दार्जिलिङ, आसाम, लगायत र भुटान लगायतको देशहरुमा फैलिएर बस्न थालेको विभिन्न इतिहासकारको वर्णनबाट थाहा हुन्छ । त्यसैले ताप्लेजुङ जिल्ला ऐतिहासिक लिम्बु जातिको विभिन्न इतिहाससंग जोडिएको स्थलहरु रहेको छन् कतिका संरक्षण भएको छ भने कतिको संरक्षणको प्रयश सम्म भएको छ भने धेरैजसो ऐतिहासिक स्थलहरुको संरक्षणको अभावमा नासिन्दै गएको छ ।


ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ को खेजेनिममा रहेकोे ऐतिहासिक राजा साम्योहाङको दरबार पनि अहिले भग्नावशेष पनि नासिएर माटोको ढिस्कोमा सिमीत भएको छ । खेजेनिमको गढीथुममा रहेको सो स्थानमा विद्यालय निर्माण गर्दा, नजिकै अन्य संरचना निर्माण गरेको बेला अलिअलि भग्नावशेषमा रहेको ढुङ्गाहरुको पनि प्रयोग गरेर विनास भएपछि हाल सो स्थान माटोको ढिस्कोमा परिणत भएको स्थानीय ८७ वर्षीय धनसेर अन्छङ्वो लिम्बु बताउँछन् । उनका अनुसार इसाको ३०० मा ऐतिहासिक स्थानमा राजा माबोहाङको सन्तान राजा साम्योहाङले तमोरथुमको शासन गरेको बेलामा उनका २ छोराहरु सुत्लुफिाङ र मेदइनन् यहीबाट तत्कालीन विजयपुरको राज्यमा खान फौजहरुले आक्रमण गरेको बेला विजयपुरका राजा बुद्धिकर्ण रायले राजा साम्योहाङलाई सहयोग मागेपछि सहयोगका लागि विजयपुर गएका थिए । विजयपुरको लडाइमा उनिहरुले युद्धसमेत जितेपछि उनिहरु फर्केर यही आएका थिए भने त्यहाँबाट १ भाई इलामतिर गएको थियो ।
विशेष गरेर यही राजा साम्योहाङका सन्तान नै हालको खेजेनिममा बसोवास गरिआएको अन्छङ्बो लिम्बु, सवेनहिम, साम्रा, पतङ्वा, र त्यहीको सन्तान इलाममा गएकाले चेम्जोङ थर भएको स्थानीय राजेन्द्र अन्छङ्वोको भनाइ छ । अहिले सो स्थानमा सो थरि लिम्बुहरुको बाग्लै भएपनि किन सो ऐतिहासिक दरबारको अवशेषको संरक्षण हुन सकेन भन्ने प्रश्न पनि उठेको छ । तथापि स्थानीय राजेन्द्र अन्छङ्बो भन्छन् “ मैले थाहा पाउँदा यहाँ ढुङ्गाको पर्खाल थियो र बाहिर हतियार उध्याउने ढुङ्गा पनि थियो तर जनयुद्धकालमा यो विद्यालयको छेउमा रहेको हालको खेजेनिम आधारभूत विद्यालयको खेलमैदान निर्माण गर्दा सो पर्खालको ढुङ्गाहरु सबै फुटाएर प्रयोग गरियो र सबै नाश भयो ।” सो स्थानमा अझै पनि एउटा ठुलो ढुङ्गा रहेको छ जसमा शत्रुले दरबारमा आक्रमण गर्दा तिरले लागेर छियाछिया भएको छ जुन अहिले पनि देख्न सकिन्छ । तथापि सो स्थानलाई संरक्षणको काम भने कुनै भएको छैन, पहिले सो स्थानको वरिपरी खेतिपाती गरिन्थ्यो तर अहिेले त्यसलाई संरक्षण गर्नका लागि त्यस क्षेत्रलाई प्रयोग गरिएको छैन । अग्लो डाँडोमा रहेको सो स्थानमा ठुला रुखहरुले संरक्षण गरेको छ भने अन्य मानवीय संरक्षणको पहल भएको छैन । लिम्बु जातिको अस्तित्वको रुपमा रहेको एउटा जिउँदो प्रमाण रहेको यो स्थानलाई संरक्षणको टड्कारो आवश्यकता खड्कििएको छ । पहिचान र अस्तित्वको लागि जिउँदो इतिहासको संरक्षण र व्यवस्थापन गर्नु समन्धित जाति, सरकार, स्थानीय सरकार तथा समन्धित पक्षको दायित्व हो जसलाई पछिल्लो पुस्तका लागि हस्तान्तरण गर्दै जानु पर्ने हाम्रो जिम्मेवारी हो ।
फोटो ः सौंजन्य जितेन चेम्जोङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here