लुकेको यथार्थ

0
1158

विष्णु निरौला आचार्य,

निधारबाट निस्किएको पसिनाको धारा गाला हुदै खसिरहेछ।उकालो गोरेटो बाटो जता टेके पनि नमिलेका ढुङ्गा चिप्लिएर लडियो भने तल छङछङे छाँगो ,बढेमानको खरुकीको भारी सँगै सानी खुइय्य सुस्केरा हाल्दै उकालिइरहेकी छे।केहीबेर पछि तेर्सो बाटो हिडेर ऊ घर पुगी।घाँसको भारी गोठको छेउमा फ्यात्त फालेर दुबै हातले अनुहार सोहोरेर पसिना मात्र के पुस्न लागेकी थिई,घरभित्र बाट क्वीन्टलको ज्यान सकिनसकी ढल्काउदै सासू बज्यै घाँसको भारी पल्टाउन पुगिन्।

गलेर लखतरान परेकी सानी यसो पिढीमा बस्न मात्रै के लागेकी थिई सासू बज्यै गर्जिन सुरु गरिन्।एई अलच्छिनी बिहान उठेदेखि अहिलेसम्म भरखर यति घाँस ल्याउदैछेस्,यति काम त म एकैछिनमा गर्छु बुझिस्,,कामचोर कहीँकी,खुरुक्क गएर गाईको थला सफा गरेर आइज अनि सुन् आज तल्लो बारीमा मकै छर्ने दिन छ,पन्ध्र बीस भारी मल चाहिन्छ त्यति खुुरुखुरु बोकेर सक्नु अनि भात खान आउलिस्।सानी बिहान चारबजेदेखि उठेर घरको सारा काम सिध्याएर दुई घन्टा टाढाको जङ्गल बाट घाँस लिएर आएकी थिई,उसलाई असाध्यै भोक लागेको थियोे ।ऊ केही नबोली धारामा गई र कलकल चिसो पानी पिई।यी सबै दृश्य हेरिरहेको उसको लोग्नेले आफ्नो आमाको शासनको मौन समर्थन गर्नु बाहेक उसँग अरु केही विकल्प थिएन ।

आफ्नी जीवन संगिनीलाई ऊ चाहेर पनि साहारा दिन सक्तैनथ्यो ।सानीले गोठ सफा गरी अनि गोबरसरिका आफ्ना हातले डोको नाम्लो झिकी र मल बोक्न थाली।रातभरि पानी परेकाले मल भिजेर गर्हौ भएको थियोे ।भोको पेट,हिलो मल डोकाभरि नबोके सासुको जङ्गे शासन छ,भरी बोक्न भोको शरीरले सक्तैन ।बल गरेर बल्लतल्ल तीन भारी बारीमा पुर्याई।अर्को भारी बोक्न लाग्दा रिङ्गटा लागेर पुर्लुक्क लडी।पानी भनेर चिच्याएर बेहोस भई,नजिकै दाउरा चिर्दै गरेको उसको लोग्नेले सानी चिच्याएको सुनेर दगुर्दै त्यहाँ पुग्यो ।सानी भनेर बोलायो तर सानी बेहोस भइसकेकी थिई।पानी लगेर खुवायो तर निलिएन्।

आमालाई डराइडराइ सानीको हालत सुनायो।आमाले भनिन् ( तेरी स्वास्नीले काम गर्नका अल्छीले स्वाँग गरेकी,एकछिन त्यता नजा आफै उठेर आउँछे बरु आइज तँ र म खाना खाऊँ अहिले सेलाय‍ो भने रुच्दैन भन्दै आमा छोरालाई खाना पस्किन लागिन् ।एकबाते आमाको वचन नमाने तथानाम गाली खाइने डर,उता सानी अचेत अवस्थामा लडिरहेकी यस्तोमा ऊ मन नलागी नलागी भान्सामा पस्यो ।उसलाई खाना खान मन लागेन र भन्यो ,आमा तपाईं खानु मलाई अलि सञ्च‍ छैन बरु सानी उठेपछि हामी सँगै खान्छौं नि हुन्न? छ‍ोराले के यति बोल्न भ्याएथ्यो,आमाको रिसको पारो चढिहाल्यो,कहीँ नभाक‍ो जोइटिङ्ग्रे आफ्नी आमासँग खाना खान छोडेर कसैकी नभाकी स्वास्नी ,तेरी स्वास्नी ठग हो ,काम गर्नाको अल्छीले बहाना बनाकी,अहिले एकमाना चामलको भातले नि पुग्दैन ।अब तैंले यसैगरी टाउकोमा टेकाइस् भने झन यहाँ के के हुन्छ बुझिस्।आमाको पुराण एकोहोरो सुनिरह्यो चुपचाप ,यति नै बेला सानीको होस खुल्यो ।ब्युझँदा ऊ मलको थुप्रोमा थिई।सकिनसकी उठी ,धारा गएर हातखुट्टा धोईपखाली गरी र भान्सा घरतिर लागि ,मुख सुकेर आयो ,रिङ्गटा चलिरहेकै थियोे ।भुइँमा थचक्क बसी र लामो सुस्केरा हाली ।

आँखाबाट आसुका ढिक्काहरु झर्न थाले।लोग्नेलाई पानी मागेर खाई,त्यति नै बेला पुलुक्क सासुको आँखामा हेर्न पुगी।खाना खाइरहेकी सासुलाई पुगिहाल्यो,पुराण सुरु भो,त्यति जाबो मल बोक्नु पर्छ भनेर ठुलै नाटक गरिस् होइन ? खान त कहिले नाटक गर्दिनस् तआज खान्न बिरामी छु भनेर।कस्ताकि छोरी परिछे नि यो मेरो घरमा? हन तेरा बा आमाले तँलाई अर्काको घरमा गएपछि सासुलाई कामले रिझाउनु पर्छ कहिल्यै अटेरी गर्नुहुन्न भनेर सिकाएका छैनन्…आदि ….।सानी केही बोलिन ,उसलाई सासुको एकदिन तिखो वचन सुनिन भने अब त शुन्य लाग्न थालिसकेको थियोे ।अवश्य एकदिन सत्यको जित हुन्छ भनेर ऊ पर्खिबसेकी थिई।यति नै बेला सानीकी नन्द बाटुली माइत आइन्।बाहिर कोही नदेखेपछि सिधै भान्साघरमा पसिन्।आमा,दाजु भाउजुलाई नमस्ते गरेर खाटमा बसिन्।छोरीलाई देखेर खुसी हुदै हत्तपत्त चुठेर आई हालखबर स‍ोध्न लागेकी सासुलाई सानीले छड्के आँखाले हेरी।आमाले चेपारे घस्दै बाटुलीको घरको हालखबर सोध्न लागिन्।आमाको प्रश्न तिर छोरीको खासै ध्यान थिएन ।बाटुलीले अहिलेसम्ममा भाउजुप्रति आमाको सम्पूर्ण नराम्रो व्यवहारको अवलोकन गरिसकेकी थिइन्।

आमा सामुन्ने उनले भाउजुसँग कुरा गरिन्।भाउजू आजकाल तपाईंलाई सञ्चो छैन कि किन ,तपाईं दिनदिनै असाध्यै कमजोर देखिदै जानुभाछ।विरामी भइयो भने रोग लुकाएर बस्नुहुन्न ,उपचार गर्नुपर्छ।फेरि म जहिल्यै आउँदा नि तपाईं रातोदिन बाहिर देखि लिएर भित्रको सारा काममा ज‍ोतिइरहेको देख्छु ,भाउजू हाम्रो शरीरले सकेको काम मात्रै गर्नुपर्छ।मान्छे मेसिन होइन जतिबेलै काममा ज‍‍ोतिने,उसले त समय समयमा पोषणयुक्त खानेकुरा खानुपर्छ ,शरीरलाई आराम दिनुपर्छ।आफ्नो शरीर स्वस्थ र मजबुत भयो भने मात्रै काम गर्न सकिन्छ ।तपाईंले त आधा दिन बितिसक्दा पनि खाना खानुभाको छैन जस्तो लाग्यो।किन अहिलेसम्म भोकै बस्नुभाको भाउजू ? भाउजूले अहिले पकाएर खान्छे,माइत आ’कि छोरी लु पहिला खाना खा अनि बात मार्नु।आमाका कुरा टुङ्गिन नपाउँदै बाटुली बोलिन् । आमा( म आज यो घरमा खाना खान आएकी हैन ।मेरी भाउजूमाथि तपाईंले गर्नुभाको अत्याचारको भण्डाफोर गर्न आ’की हुँ। कुनैपनी कुरा सहने एउटा सीमा हुन्छ ,जब सीमा नाघ्छ नि त्यो भन्दा खतरा केहि हुँदैन ।मलाई त मेरी सासुआमाले सधैं असल कुरा सिकाउनुहुन्छ।

छोरी र बुहारीमा कहिले विभेद गर्नुहुन्न।मेरो घरमा ससुरा ,सासु ,छोरा ,बुहारी ,छोरी सबै सँगै बसेर खाना खाने,आफूले सकेको काम सबैले गर्ने,परिवारमा मिलेर बस्ने,परिवारमा देखा परेका समस्या सबै मिलेर समाधान गर्ने चलन छ ।तपाईंले जुन व्यवहार भाउजूमाथि गर्नुभा’छ नि ,मेरो घरमा मलाई यस्तै व्यवहार भो भने तपाईं सहन सक्नुहुन्छ आमा? आजदेखी यो घरकी बुहारी र छोरी दुबै भाउजू।एउटी असल सासू र आमाको व्यवहार भाउजूले पाउनुहुन्छ भने मात्रै म यो घर आउँछु नत्र मलाई यहाँ एकछिन बस्न छैन भनेर बाटुली झोला बोकेर बाहिर निस्किन्।आमाले रुँदै छोरी र बुहारीसँग आइन्दादेखि कहिल्यै बुहारीलाई नराम्रो नगर्ने भनी माफी मागिन्।अहिलेसम्म आफूबाट बुहारीलाई गरेको अत्याचारको आत्मालोचना गर्दै आफू एक असल आमा बनेर सानीलाई छोरीको दर्जामा राखेर हरेक दुख सुखमा साथ दिने बाचा गरिन्।परिवारमा मेलमिलाप गराइदिएर बाटुली आफ्नो घरतर्फ लागिन्।सानीलाई आफ्नी नन्द साक्षात देवी जस्तो लाग्यो।

आजका सबै कुराहरू सानामा हेरेका चलचित्रका घटना जस्तो लागेको सानीलाई आफूले जतिसुकै अन्यायमा पर्दा पनि मौन बसेर ठुलो युद्ध जिते झैं लाग्यो।उसको लोग्ने नतमस्तक भएर अगाडि उभिएको थियो।अबदेखि सानीलाई माया गर्न कसैसँग डराउनु नपर्ने कुराले ऊ पनि खुसी देखिन्थ्यो।परिवारमा मेलमिलाप गराइदिएर घरमा एक असल बुहारीको दर्जा प्राप्त गराइदिने नन्दलाई सानीले मनैदेखि अनेकौं धन्यवाद दिई।ओठमा खुसीका मुस्कानहरु सल्बलाउन थाले।एकाएक सासुको व्यवहार आमाको रूपमा बदलियो।अहिले यो परिवारका हरेक कुरा गाउँका धेरैले अनुसरण गर्न थालेका छन् ।अब सानी गाउँकै एक शालीन ,सुशील र भद्र बुहारीको रूपमा परिचित छे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here