विवाहमा दाइजो मास्क र सेनिटाइजर

0
1007

पोखरा । 

कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच पाेखराका एक जोडी वैवाहिक जीवनमा प्रवेश गरेका छन् । वैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा–३० का बेहुला दीविन भट्टराईको बिहीबार सम्पन्न विवाहमा दुवै पक्षका घरपरिवारका सदस्यको मात्रै उपस्थिति थियो ।

सामाजिक दुरी कायम राख्दै स्थानीय निकायसँग स्वीकृति लिएर विवाह सम्पन्न गरिएको हो। विवाहमा बेहुली पक्षले बेहुला पक्षलाई अन्य कुनै उपहार नभई मास्क र सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री दाइजोका रूपमा दिएका थिए ।

संस्कार र संस्कृतिको संरक्षण गर्दै परम्परागत चलिआएको दाइजो प्रथालाई तोड्दै सन्देशमूलक ढङ्गले विवाह गर्न बेहुलापक्ष राजी भएपछि छोरी दिने निर्णय गरेको बेहुलीका बुबा नेत्रपाणि बाँस्तोलाले जानकारी दिए । सो विवाहले कम खर्चमा विवाह गर्न सकिन्छ र स्वयं आफैँ रोगसँग डराउने हो । तर, काममा डराउने होइन भन्ने दरिलो उदाहरण समेत बनेको छ ।

यसअघि गत वैशाख १३ गते नै विवाह गर्ने कार्यक्रम तय भए पनि बन्दाबन्दीका कारण प्रभावित भएको र अझै लम्बिने अवस्था आएपछि दुवै पक्ष विवाहका लागि राजी भइएको बेहुलाका बुबा दीपक भट्टराईले बताए । विवाहमा दाइजोको रूपमा तडकभडक गर्नैपर्छ भन्ने छैन भन्ने कुरामा दुवै पक्षबीच सहमति भएसँगै आफ्नो संस्कृतिको रक्षा गर्दै कम खर्चमा पनि विवाह गर्न सकिने कुरालाई यो वैवाहिक सम्बन्धले पुष्टि गरेको छ ।

यसैबीच विवाहको खर्च कटाएर बेहुली पक्षले विभिन्न १२ वटा सामाजिक संघसंस्थालाई पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । विवाह समारोहमा नेपाल पत्रकार महासंघ कास्की शाखालाई ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरिएको छ । बेहुलीका बुबा बाँस्तोलाले उक्त रकम महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्दै पत्रकारको सुरक्षाका लागि ज्याकेटको व्यवस्थामा सहयोग गरेको बताए ।

उक्त अवसरमा महासङ्घ कास्कीका अध्यक्ष श्रेष्ठले नवविवाहित जोडीलाई बधाई एवं सफल दाम्पत्य जीवनको शुभकामना दिँदै विवाहमा गरिने फजुल खर्चको कटौती गरेर कम खर्चमा पनि विवाह गर्न सकिने कुराको सबैले अनुकरण गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here