कमल गाँउपालिकाको कोरोना कोषको हिसाव सार्वजनिक

0
850

केर्खा ।

झापामा पहिलो पटक कोरोना भाइरस रोकथाम तथा नियन्त्रण राहत कोषको हिसाव सार्वजनिक भएको छ ।
झापाका स्थानीय तहमा एकमात्र महिला अध्यक्ष रहेको कमल गाँउपालिकाले पत्रकार सम्मेलन गरेर कोषको हाल सम्मको हिसाव सार्वजनिक गरेको हो । झापामा कमलगाँउपालिका बाहेक कुनैपनि स्थानीय तहले औपचारिक रुपमा कोषको हिसाव सार्वजनिक गरेको छैन ।

गाउँपालिकाको राहत कोषमा ४५ लाख ८६ हजार ८ सय ६ रुपैयाँ संकलन भएको पत्रकार सम्मेलनमा पालिकाकी अध्यक्ष मेनुका काफ्लेले जानकारी दिएकी छन् । उनका अनुसार संघ संस्थाहरुबाट ११ लाख ४४ हजार ९ सय ७, सहकारी संस्थाहरुबाट ५ लाख ३ हजार ९ सय ७१, सामुदायीक तथा संस्थागत विद्यालयहरुबाट ६ लाख ८ हजार ६ सय ५०, पालिकाका जनप्रतिनिधिबाट ५ लाख १ हजार, समाजसेवीले व्यक्तिगतरुपमा १ लाख ७५ हजार ४ सय ७०, कर्मचारीहरुबाट १ लाख ५२ हजार ८ सय ८, गाँउपालिकाको विपत्त कोषबाट १० लाख र प्रदेश सरकारबाट ५ लाख संकलन भएको हो ।

पालिकाले ३ हजार ५ परिवारलाई पहिलो चरणमा राहत वितरण गरेको थियो । दोश्रो चरणमा यो संख्या कम हुन सक्ने उपाध्यक्ष बेणु सिवाकोटीले बताए । सामाजिक सुरक्षा भत्ता, बैदेशिक रोजगार, अधियाँ ठेक्का वा लिजमा लिएर साहुको जग्गाखेती गरेका परिवारलाई दोश्रो चरणमा राहत दिन पालिकाले नसक्ने भएको हो ।

पालिकामा ४ हजार ६ सय ३० केजी चामल, १ सय १६ केजी दाल १ सय ३ केजी नुन, १ सय ३७ लिटर खाने तेल र ८ सय ९५ थान हातधुने साबुन जिन्सी संकलन भएको थियो । पालिकाका अनुसार अब दोश्रो चरणको लागि राहत वितरण सुरु भएको छ ।

पालिकाबाट कोरोना भाईरस रोकथाम तथा नियन्त्रण राहतकोषबाट ३६ लाख ७६ हजार, ८९ रुपैयाँ ५० पैसा खर्च भएको छ । अध्यक्ष काफ्लेका अनुसार औषधी तथा औषधीजन्य सामानहरु ५ लाख ९२ हजार १ सय ६१ रुपैँयाँ ५० पैसा, स्वास्थयकर्मी, क्वारेन्टाइनमा खटिने सुरक्षाकर्मी, राहत वितरणमा खटिने कर्मचारीको खाना र खाजामा १ लाख १४ हजार ६ सय ७०, क्वारेन्टाइन व्यवस्थापन तथा खाना र खाजामा, १ लाख १८ हजार ५०, राहत सामान ढुवानी ३२ हजार ७ सय , एम्बुलेन्स भाडा ५ हजार, स्वास्थ्यकर्मी सञ्चारमा ६ हजार ४ सय, कोरोना भाइरस नियन्त्रण तथा राहतकोष झापामा २ लाख, माईकिङ तथा प्रचार प्रसारमा ६ हजार ५ सय, आरआरटीलाई ब्याग ५ हजार ४ सय, सरसफाई कर्मचारीलाई रेनकोट ३ हजार ६ सय खर्च भएको छ । पालिकाको राहत कोषमा ९ लाख १० हजार ७ सय १६ रुपैयाँ ५० पैसा मौज्जाद रहेको अध्यक्ष काफ्लेले जानकारी दिएकी छन् ।

पालिकाका उपाध्यक्ष सिवाकोटीका अनुसार संघिय सरकारले एकद्धार प्रणाली द्धारा राहत वितरण गर्ने गरि दिएको निर्देशन अनुसार कमल गाँउपालिकामा छिटफुट बाहेक सरकारकै निर्देशन र मापदण्ड अनुसार राहत वितरण भएको छ । ‘ वडा समिति, टोलविकास संस्था र सर्वदलिय समन्वय समितिमार्फत सिफारिस भएका परिवारवालाई पालिकाले राहत वितरण गरेको हो,’ उपाध्यक्ष सिवाकोटीले भने । एकाध परिवार राहतको लागि लाभग्राही बन्ने अवस्था नरहेपनि सिफारिस भएर आएका परिवालाई नछुटाई राहत वितरण भएको उनले बताए ।

पालिकामा सबै भन्दा धेरै राहत वडा नम्बर ५ मा गएको छ भने सबै भन्दा थोरै वडा नम्बर ४ मा २ सय ४१ परिवारले राहत पाएका छन् । वडा नम्बर १ मा ५ सय १७, वडा नम्बर २ मा ४ सय ७४ जनाले राहत बुझेका छन् । यस्तै ३ नम्बर वडामा २ सय ७७, ६ नम्बर वडामा ५ सय ७७ र वडा नम्बर ७ मा ३ सय ३४ परिवारले राहत बुझेका छन् ।

अध्यक्ष काफ्लेले कोरोना कोभिड १९का बेला कमल गाउँपालिकाको राहत कोषमा नगद तथा जिन्सी सहयोग गरेर सहयोग गर्ने दातालाई सदैव सम्मान गर्ने बताईन । उनले भनिन् ‘ विपतका बेला दाताको सहयोग अतुलनिय छ । पालिकाले वहाँहरुलाई सधै स्मरण गर्ने छ ।’

पत्रकार सम्मेलनमा वडा नम्बर ५ का अध्यक्ष डम्बरवहादुर निरौला, वडा नम्बर १ का केदार कटवाल, ३ नम्बर वडा का नरप्रसाद दंगाल, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here