पाँचथर,

कोरोना भाइरस संक्रमणको शंकामा पाँचथरमा शनिवारसम्म ९०३ जनाको आरडिटी परिक्षण गरिएको छ। आठवटै स्थानीय तहमा गरी उक्त संख्यामा परीक्षण गरिएको हो।
आरडिटी परीक्षण गरिएकामध्ये एकजनाबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको थियो। पोजिटिभ देखिएका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदीले जानकारी दिए।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाँचथरका विभिन्न स्थानीय तहमा बनाइएका क्वारेन्टाइन स्थलमा शनिवारसम्म ८१ जना रहेका छन्।
क्वारेन्टाइनमा रहनेहरुमा ५५ जना पुरुष र २६ महिला रहेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अधिकृत गुरुराज तिम्सिनाले जानकारी दिए। यस्तै, आइसोलेशनमा दुईजना राखिएको छ।
क्वारेन्टाइनमा रहेकामध्ये २० जनाको शनिबार आरडिटी परीक्षण गरिएको थियो। उनीहरुको रिपोर्ट नेगेटिभ आएका ले सात दिनसम्म वडाध्यक्ष र महिला स्वयंसेविकाको रोहरबरमा रहने गरी शनिवार नै घर पठाइएको प्रमुख सुवेदीले जानकारी दिए।































