बिर्तामोड ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपाने झापाले विभिन्न संघ संस्थाकोे सहयोगमा शुरु गरेको ‘एकका लागि एक’ अभियान अन्तर्गत आइतवारबाट तयारी खानेकुरा वितरण कार्यक्रम शुरु गरिएको छ ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनका कारण भोकभोकै रहनुपर्ने अवस्थामा रहेका विपन्न, गरीव तथा असहाय परिवारलाई सहयोग गर्न झापामा शुरु गरिएको एक परिवारले अर्को एक विपन्न परिवारलाई सहयोग गर्ने अभियान अन्तर्गत खाद्य सामग्री वितरण संगै आइतवारबाट तयारी खानेकुरा वितरण कार्यक्रम शुरु गरिएको अभियानमा सहकार्य गरेको संस्था वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलले जानकारी दिए ।

बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म बिर्तामोडस्थित वान स्टप मल अगाडी स्टल राखेर शाकाहारी विरियानी र पानी निःशुल्क वितरण गरिने उनले बताए ।
आइतवार मात्र मजदुर, बटुवा, असहाय सडक नागरिक, हस्पिटलमा रहेका विरामी कुरुवा गरि पाँच सय बट्टा खाना वितरण गरिएको र उक्त कार्यक्रम आगामी जेठ ५ गतेसम्म दैनिक रुपमा सञ्चालन गरिने खाना व्यवस्थापन समितिका संयोजक सञ्जिव घिमिरेले बताए ।































