होटल व्यवसायी संघ मेचीनगरले बुझायो तीनै तहका सरकारलाई चार सुत्रीय मागसहितको ज्ञापन पत्र

0
1384

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

होटल व्यवसायी संघ मेचीनगरले लकडाउन अवधिभर व्यवसाय सञ्चालनका लागि बैंकबाट लिएको ऋणको व्याज मिनाहलगायतका ४ सुत्रिय माग सरकारसँग राखेको छ ।

मेचीनगरमा ठुला १०, मझौला ८५, साना १ सय ५० र सामान्य ८६ वटा गरी कुल ३ सय ३१ वटा होटल सञ्चालनमा रहेका छन भने २ सय ९७ वटा बैंकबाट ऋण लिएर सञ्चालनमा रहेको संघले जनाएको छ । संघका अनुसार २ सय २६ होटल वहालमा तथा १ सय ५ वटा आफ्नै घरमा सञ्चालनमा छन् ।

सोमबार झापाको मेचीनगरमा १ नम्बर प्रदेश सभा सदस्यद्वय गोपालचन्द्र बुडाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितीमा भएको छलफलमा संघले तीनै तहका सरकारको ध्यानाकर्षणका लागि चारसुत्रीय माग सहितको ज्ञापन पत्र समेत बुझाएको छ ।

संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठ र सचिव हस्तकुमार तामाङको हस्ताक्षर रहेको ज्ञापन पत्रमा बैंकको व्याज मिनाहसहित लकडाउन अवधि भरको घरवाहल मिनाह गर्नुपर्नै, होटल व्यवसायमा कार्यरत मजदुरहरुलाई लकडाउन अवधिको न्यूनतम पारिश्रमिक राहत स्वरुप सरकारले उपलब्ध गराउनुपर्ने, कोरोना प्रकोपका कारण व्यवसाय तहस नहस भएका कारण विद्युत, खानेपानी तथा व्यवसाय कर महशुलहरुमा छुटको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । अघिल्लो वर्षको चैत्र ११ गतेदेखि शुरु लकडाउनका कारण अहिले आवत जावत ठप्प हुँदा व्यवपार व्यवसायी गरी खाने वर्ग प्रत्यक्ष प्रभावित भएको ज्ञापन पत्रमा उल्लेख छ ।

खास गरी पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको र आर्थिक गतिविधि शुन्य रहदा समग्र अर्थतन्त्रलाई नकरात्मक प्रभाव परेको, त्यस मध्ये पनि होटल व्यवसाय सञ्चालन गर्ने व्यवसायी अत्यन्त मारमा परेको, लकडाउनको अवस्थामा पूर्णरुपमा बन्द भएका होटल व्यवसाय लकडाउन खुले पश्चात पनि अनिश्चत काल सम्म प्रभावित हुने सम्भावना रहेको ज्ञापन पत्रमा भनिएको छ यो महासंकटमा सरकारको तर्फबाट आवश्यक सहयोग र राहतका लागि पहल गरिदिनन समेत संघले ज्ञापन पत्रमा माग गरेको छ ।

प्रदेश र संघीय सरकारको ध्यानकार्षण हुने गरी संघकातर्फबाट अध्यक्ष श्रेष्ठसहितका पदाधिकारीहरुले १ नम्बर प्रदेश सभा सदस्यद्वय गोपालचन्द्र बुडाथोकी र श्रीप्रसाद मैनाली र स्थानीय सरकार मेचीनगर नगरपालिकाको ध्यानाकर्षणका लागि ६ नम्बर वडा सरकार प्रमुख ललितबहादुर तामाङलाई ज्ञापन पत्र बुझाएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझ्दै प्रदेश सभा सदस्यद्वय बुडाथोकी र मैनालीले प्रतिनिधि सभा सदस्य सुरेन्द्रकमुार कार्की मार्फत संघीय सरकार समक्ष ज्ञापन पत्रका बारेमा जानकारी गराउने र यस विषयमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउदैं समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । प्रदेश सभा सदस्यद्वयले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण विश्वमा लाखौं मानिसको ज्यान गइरहेका बखत सवैभन्दा पहिला यसबाट हरेक समुदाय बच्नुपर्ने सुझाँव दिनुभएको थियो ।

नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि अहिले विश्व लकडाउनको अवस्थामा रहेको चर्चा गदैं उहाँहरुको लकडाउनका कारण अहिले विश्वकै अर्थतन्त्र डामाडोल रहेका बखत विश्व सामान्य स्थितमा फर्केपछि के गर्ने ? तथा अहिलेको विग्रीएको अर्थतन्त्रलाई कसरी पुरानै अवस्थामा फर्काउने लगायतका विषयमा अहिले सरकार गम्भीर बन्नुपर्ने जोड थियो । लकडाउनका कारण हरेक नागरिकले भोग्नु परेको पीडाका बारेमा आफुहरु जानकार रहेको भन्दैं दुवै प्रदेशसभा सदस्यले यसको रोकथाम र स्थानीयको जनजीवन सहज बनाउने कुरामा आफुहरु लाग्ने बताउनुभयो ।

कार्यक्रममा ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्र, मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतले लकडाउनका बखत व्यवसायीहरुको भोग्नु परेको पीडाका बारेमा जानकारी गराउदैं समाधानका लागि स्थानीय, प्रदेश तथा संघीय सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न संघ संस्था,राजनीतिक दलका प्रमुख प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here