बिर्तामोड ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणको आशंका रहेका व्यक्तिलाई राख्न झापाको भद्रपुरस्थित मेची वहुमुखी क्याम्पसमा निर्माणाधिन क्वारेन्टाइनका लागि लुथरन वल्र्ड फेडेरेसनको आर्थिक सहयोगमा सञ्चालित न्याय तथा विकासका लागि समाजिक सञ्जाल झापा (एसएनजेडी )ले अत्यावश्यक सामग्री प्रदान गरेको छ ।
भारतमा बिचल्लीमा परेका नेपालीहरुलाई नेपाल आउने अनुमति प्राप्त हुनसाथ उनीहरुलाई राख्न मेची वहुमुखी क्याम्पसको विज्ञान भवनमा १२५ वेडको क्वारेन्टाइन निर्माणधिन अवस्थामा रहेको नयाँ श्री नाथ गण चन्द्रगढीका मेजर जुद्धबहादुर निरौलाले वताए ।
उक्त संस्थाले निर्माणाधिन क्वारेन्टाइनका लागि दुई सय थान तन्ना, दुई सय थान झुल, दुई सय थान व्ल्याङ्केट, दुई सय थान म्याट्रेस , ४० थान माक्स लगायतका सामग्री प्रदान गरेको हो ।
उक्त सामग्री जिल्ला विपद् व्यवस्थापन समिति झापाका अध्यक्ष तथा झापाका प्रमुख जिल्ला अधिकारी उदयवहादुर राना , नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, ससस्त्र प्रहरी वल नं २ गण झापाका प्रहरी प्रमुख रेशमकुमार थक्सूलगायतलाई एसएनजेडी झापाका अध्यक्ष सोमनाथ भट्टराई , कार्यक्रम संयोजक कुमार चुडाल, योजना अनुगमन तथा मुल्याङ्कन अधिकृत रञ्जन धमलाले हस्तान्तरण गरेका थिए ।
एसएनजेडी झापाले यस अघि जिल्ला प्रहरी कार्यालय झापाको हाताभित्र रहने गरि निर्माण गरिएको क्वारेन्टाइनका लागि ३० थान खाट, ब्ल्याङ्केट, तन्ना, सिरानी , डस्टविन, चप्पल, तौलिया, झुल, साबुन, थाल, गिलास सामग्रीहरु प्रदान गरेको संस्थाका योजना अनुगमन तथा मुल्याङ्कन अधिकृत रञ्जन धमलाले जानकारी दिए ।
त्यसैगरी झापा गाउँपालिकाको सहकार्यमा झापा गाउँपालिका स्थित डिल्लिराज माविमा निमार्ण गरिएको २० वेडको क्वारेन्टाइन र जनता माविमा निमार्ण गरिएको २० वेडको क्वारेन्टाइनमा चाहिने २० थान खाट, ब्ल्याङ्केट, तन्ना, सिरानी , डस्टविन, चप्पल, तौलिया, झुल, साबुन, थाल, गिलास लगायतका सामग्रीहरु प्रदान गरेको उनले वताए । त्यस्तै झापा गाउँपालिकाका विपन्न वर्गका परिवारलाई दुई हजार पिस साबुन र गोरीगञ्ज गाउँपालिकाका विपन्न वर्गका परिवारलाई दुई हजार १६ पिस साबुन हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
त्यसैगरी संस्थाले ससस्त्र प्रहरी वल, नेपाल प्रहरी र जिल्ला विपद् व्यवस्थापन समिति झापालाई ज्वरो नाप्ने थर्मोमिटर ,मास्क , सेनेटाइजर ,ग्लोभ्स लगायतका सामग्री प्रदान गरिएको उनले वताए । २०६५ सालमा स्थापना गरिएको संस्थाले जीविकोपार्जन , सूशासन र विपद् व्यवस्थापनका क्षेत्रमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्थाका कार्यक्रम संयोजक कुमार चुडालले बताए ।































