बिर्तामोड–३ मा दैनिक १७०० लाई निःशुल्क खाना

0
1631

बिर्तामोड ।

लम्बिँदो लकडाउनका कारण दुई छाक खाना समेत जुटाउन समस्यामा परेका वडावासीलाई बिर्तामोड नगरपालिका वडा नं. ३को समन्वयमा निःशुल्क खाना वितरण शुरु भएको छ ।

वडाको समन्वयमा भएको उक्त कार्य अन्तर्गत दैनिक एक हजार सात सय बढीले खाना खाइरहेको वडाध्यक्ष भोजराज सिटौलाले जानकारी दिए । वडाका विभिन्न पाँच स्थानमा टोल समिति र स्वयम्सेवकको व्यवस्थापनमा खाना पकाएर निःशुल्क वितरण गर्ने कार्य भइरहेको अध्यक्ष सिटौलाले बताए ।

बिर्तामोड–३को करेलावारी, चौसठ्ठी काली मन्दिर टोल, समावेशी टोल, बिर्ताबजार र मेची आँखा अस्पताल अगाडि खाना पकाउने मेस खडा गरी खाना वितरण भइरहेको छ ।

करेलावारी टोलमा मंगलवारबाट निःशुल्क खाना वितरण शुरु भएको छ । पहिलो दिन नै तीन सय ५० बढीलाई खाना वितरण गरिएको र दोस्रो दिन त्यो संख्यामा अझ बृद्धि भएको करेलावारी टोल विकास समितिका सचिव तथा सञ्चारकर्मी अर्जुन राजवंशीले बताए ।

चौसठ्ठी कालीमन्दिर टोलमा दैनिक ६ सय जना भन्दा बढीले खाना खाइरहेको समन्वयका लागि वडा कार्यालयबाट खटिएका स्थानीयवासी तथा युवा नेता सन्तोष उप्रेती बताउँछन् । त्यहाँ ६ दिनदेखि निःशुल्क खाना वितरणको कार्य भइरहेको छ ।
अन्य टोलमा पनि ५÷६ दिनदेखि लगातार निःशुल्क खाना वितरण भइरहेको बताइएको छ । खाना पकाउनुको लागि स्वयम्सेवक परिचालन गरिएको छ । टोलवासीले व्यवस्थापन गरी पकाउने र वितरण गर्ने कार्य गरिरहेको बताइएको छ ।

वडा नं. ३लाई समेट्ने गरी पाँच स्थानमा खाना पकाउने र वितरण गर्ने कार्य भएको वडाध्यक्ष सिटौला बताउँछन् ।
करेलावारी टोलमा आफन्त टोल, सिंहवाहिनी टोल, स्वागत टोलका लागि खानाको व्यवस्थापन भए पनि त्यहाँ छिमेकी टोल सैनिकमोड र विराटपोखरबाट समेत स्थानीयवासी खाना खान आउने गरेको टोल समितिका सचिव राजवंशी बताउँछन् ।

वडा कार्यालयको संयोजनमा विभिन्न दाताहरु खोजेर विपन्न वडावासीलाई निःशुल्क खाना वितरण गर्ने कार्य भइरहेको बताइन्छ । बिर्तामोड–३मा थालनी भएको उक्त अभियान उदाहरणीय रहेको भन्दै एकका लागि एक अभियान झापाका संयोजक बिनोद बस्नेतले अभियानकोतर्फबाट त्यहाँ आवश्यक सामग्री सहयोग गर्ने बताएका छन् ।

स्थानीय सरकारबाट पहिलो चरणको राहत पाएका विपन्न परिवारले जसोतसो महिनादिन गुजारा चलाए पनि दोस्रो चरणको राहत वितरण नहुँदा समस्यामा परेको गुनासो गरेका छन् । दोस्रो चरणको राहत कार्यक्रम आइनसकेकाले वडा कार्यालयले विपन्न वडावासीका लागि निःशुल्क खानाको व्यवस्थापन गर्न बाध्य हुनुपर्ने बताइन्छ ।

वडाअध्यक्ष सिटौलाले सहयोग दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै थप सहयोगका लागि दाताहरुलाई आव्हान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here