एकता बलियो होस्

0
667

सम्पादकीय

आज अन्तर्राष्ट्रिय परिवार दिबस । संयुक्त राष्ट्र संघले सन् १९९३ मा मई १५ लाई परिवार दिवस मनाउन आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । यसो त वैदिक संस्कृति आफैंमा उदात्त छ। यसले विश्व बन्धुत्व उदात्त भाव बोकेको छ। सानो चित्त हुनेले मात्र ‘मेरो र तेरो’ भन्छन् , जसको मन उदार छ उसका लागि विश्वका सबै आफन्त हुन्छन् – यो सनातन संस्कृति हो। वैदिक सनातनी संस्कृति आज पाश्चात्य समाजका लागि समेत अनुकरणीय बन्दै गएको छ । तर वैदिक संस्कृतिको उद्गमस्थल भनिएको नेपालमा भने मौलिकता र मौलिक पहिचान कमजोर हुँदै गएको छ ।

आधुनिकताप्रतिको मोह र भौतिक विकासको आकर्षणले हाम्रो पहिचान र बिशिष्टता क्षयोन्मुख छ। हजुरबा,हजुरआमा, बडाबा,बडीआमा, काका, काकीसहित ठूलो परिबारमा सद्भाव,प्रेम , सम्मान र एकताले बलियो हाम्रो पारिवारिक ढाँचा अहिले एकाकी, निर्वल र असॅगठीत हुन पुगेको छ । हिजो एउटै चुलो – भान्सा, एउटै छाना र सिरानीमा विभेद र सङ्कोचरहीत सुरक्षित परिवार आज सङ्कुचित र संकीर्ण बन्दै गएको छ । संयुक्त परिवारमा रहँदाका आदर्श, मूल्य र मान्यतामा धमिराले माटो उठाएर छोपिसकेको छ। हजुरआमाहरूले नयाँ पुस्तालाई नीति,चरित्र, नैतिक मूल्य र मान्यताका लोटरी र कथा सुनाउन पाउँदैनन् । जसका कारण बन्धुत्व भावना, आपसी सद्भाव, पारिवारिक एकता र अग्रजप्रति सम्मान हराउन थालेको छ ।

भौतिकताको लालसा र आकर्षणले आज परिवारको मूल मान्छे बिदेशिएको छ। यसले सङ्कुचित पारिवारिक ढाँचालाई झनै कमजोर बनाउँदै लगेको छ। हिजोको आदर्श, नैतिकता र मूल्य मान्यता पनि खण्डित हुँदै अपनत्वको भावना समेत हराउन थालेको छ । कार्य सन्तुलन, सकारात्मकता, अन्तरपुस्ता संवाद दन्त्यकथा जस्तै भएको छ । मूलतः आजको नेपाली परिवार व्यक्तिवादी हुँदै बन्धुत्वको महानता र आदर्शबाट बिमुख हुने क्रममा छ । झण्डै तीन दशक अघि संयुक्त राष्ट्र संघले आह्वान गरेको परिवार दिवसले कति फल दियो त्यो तथ्याङ्कले देखाउला तर हामीकहाँ प्रति बर्ष निष्फल हुने यात्रामा छ।

विश्वका दुईसय बाह्रवटा राष्ट्र आज परिवार दिवसका दिन शायद परिवारसँगै बसेको छ। कोरोना भाइरसले निम्त्याएको कहरबाट जोगिन संयुक्त राष्ट्र संघकै एउटा हाँगा विश्व स्वास्थ्य संगठनको अनुरोधमा धेरै देशहरूले घर बाहिर ननिस्कन अनुरोध गरेको छ। अतिशय पीडामा रहेका देशहरूले यसैलाई प्रतिरोधको मूल सूत्र मानेर लकडाउनको पालना गरेका छन् । नजानिकनै भए पनि यसले परिवार दिवसको महत्वको उजागर गरेको छ । कोरोना भयले नै भए पनि पारिवारिक भावना र एकतालाई पुनर्जीवित गरेको छ। घर बाहिर हुनेहरू घर आउन आतुर छन् ।महाकवि देवकोटाले भनेको’ साग र सिस्नु खाएको बेस आनन्दी मनले’ को अनुशरण गर्न हतारिएका हुन सक्छन् । यही प्रकोपका बीच परिवार दिवसले हामी सबैलाई मौलिकताप्रति सम्मान र प्रेम बढाओस्। जो परिवारसँगै छन् तिनमा पनि परिवारसँग घरभित्रै बस्न प्रेरीत गरोस्। प्रहरीसँग लुकामारी खेल्दै ‘लखर लखर ‘डुल्न सकिएला तर भाइरससॅग सकिँदैन त्यसैले स्वनिगरानीमा रहौं । आपसी सम्मान र एकता बलियो होस् परिवार दिवसको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here