ए गाउँ नै राम्रो भन्नेहरु हो ! अवसरको खोजीमा शहर नपस्नु

1
1678

(कथा)

भुवन तामाङ,

सुनिता हातमा ब्याग झुन्ड्याउँदै हतारहतार घरबाहिर निस्किन्छिन् । घरेबेटीकी छोरी रीता आश्चर्य मान्दै सोध्छिन्, ‘अहो सुनिता ! तिमी कहाँ जान लागेकी ब्याग पनि ठीक पारिछ्यौ ?’ जवाफमा सुनिता भन्छिन्, ‘कोराना भाइरसको त्रासले गर्दा काठमाडौ बाहिरका मानिसहरु काठमाडौ छाडेर आआफ्नो गाउँ जाँदैछन् । हामी पढ्ने कलेज पनि बन्द भैसक्यो । सरकारले लकडाउन गरिसक्यो । हाम्रो गाउँ नजिक पुग्ने नाईट बस चढेर रातारात गाउँ जान लागेको क्या । यहाँ बस्दा कोरोना लाग्ला । त्यै भएर गाउँ हिँडेको ।’

अँध्यारो मुख लाउँदै रीता भन्छिन्, ‘ए ए । अनि हामी काठमाडौँबासी चाहिँ कहाँ जाने नि सुनिता ?’ जवाफमा सुनिता भन्छिन्, ‘त्यो त म के जान्नु रीता ।’ सुनिता उनलाई लिन आएको मोटरसाईलमा चढेर ओझल पर्छिन् । रीता हेरेको हेरेयै हुन्छिन् । रीता मनमनै सोच्छिन्, ‘हेर मैले नदेखेको भए त सुनिता मलाई थाहै नदिई गाउँ जाने रहिछन् । सुनिता डेरावाल भएपनि मैले कहिल्यै त्यस्तो खालको व्यवहार देखाइन त । दिदी बहिनी जस्तै व्यवहार गर्छु त । सँगै कलेज जान्छौँ । सँगै खाजा खान्छौँ । सँगै घुम्नडुल्न निस्कन्छौँ । उनीसँग पैसा नहुँदा मैले नै खाजा ख्याउँछु । दुबैको गाडीभाडा मै तिर्छु त । अभर पर्दा मेरी आमालाई भनेर सापट पैसा मिलाइ दिन्छु । मेरी आमाले पनि उनलाई मलाई जत्तिकै माया गर्छिन् । चाडबाडमा सुनितालाई पनि बोलाएर खुवाउँछिन् । उनी गाउँजाने कुरा मलाई अगाडि नै भन्दा के बित्थ्यो र ? बरु म उनलाई सघाउँथे । जसले गर्दा उनलाई सहज हुनेथियो ।’

रीता चिउँडोमा हात राखेर सोच्छिन्, ‘के हामी काठमाडौबासी चाहिँ कोरोना भाइरस लागेर मरौँ ? हामीलाई यहिँ काठमाडौ खाल्डोमा मर्न छाडेर सारा डेरावालहरुचाहिँ बाँच्न गाउँ भागेका ? यो कस्तो सोच ? यो कस्तो यथार्थता ? हामी सबै नेपाली होइनौ र ? सबैको दुःख सुख एकै होइन र ? हामी सबै बाँच्नु राम्रो होइन र ? अहो कसरी भयौँ भिन्न ?’ उनी गहिरोगरी सोच्छिन्, ‘गाउँ नै राम्रो, सुरक्षित हो भने लाखौँ मानिसहरु किन शहर आउँछन् त ?’ रीतालाई काठमाडौ छाडेर गाउँ जानेहरुलाई प्रश्न गर्न मन लाग्छ, ‘किन काठमाडौ काठमाडौ या शहर, शहर भनेर आउँनु त ?’

मानिसहरु काठमाडौ उपत्यका छाडेर तँछाडमछाड गर्दै सवारी साधनमा अटाइनअटाइ हुँदै, हतारहतार झोलीतुम्बी बोकेर, बालबच्चा च्यापेर गाउँ गइरहेका दृष्यले रीताको मन कुँडिन्छ । उनी सोचमग्न हुन्छिन् । ‘जब हामी यहिँ सुरक्षित हुनसक्छौँ भने अरुचाहिँ कसरी असुरक्षित हुन्छन् ? हामी सबै सुरक्षित हुने विचार उत्तम होइन र ?’ मानिसहरुका अचम्मका व्यबहार देखेर रीतालाई नमिठो लाग्छ । उनलाई त्यतिबेला झनै नमिठो लाग्छ । जब मानिसहरु आपतविपत परेका बेला गाउँघर नै राम्रो रहेछ भन्दै सामाजिक सञ्जाल र सञ्चार माध्यममा भनाई व्यक्त गर्दछन् ।

सुनिताले काठामाडौ छाडेको हप्तादिनपछि सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्छिन् । ‘आपतविपद तथा महामारीबाट बच्ने सबैभन्दा सुरक्षित ठाउँ गाउँ नै रहेछ । गाउँको स्वच्छ हावा र अर्गानिक खाना खाँदै, शहरको कोलाहल र महामारीको संक्रमणबाट टाढा रहेको गाउँमा आनन्दको जीवन बिताउनु जस्तो मज्जा शहरमा हुन्छ र ? जे छ गाउँ मै छ । जुनसुकै खतराबाट बाँचिन्छ त गाउँ मै बाँचिन्छ । शहर त छ्या, एटम बम जस्तो । कहिल्यै जानु नपरोस् जस्तो ।’

सुनिताको त्यही स्टाटस ‘खिन्द्रिङ्ग’ आवाजसँगै रीताको मोबाइलमा आइपुग्छ । सुनिताको स्टाटस पढेपछि रीता निक्कै सक्ड हुन्छिन् । उनी मनमनै प्रश्न गर्छिन्, ‘धेरैधेरै अवसर प्रदान गर्ने शहरप्रति मानिसहरुको मनमा यति धेरै घृणा ?’ रीता अनायासै रुन पुग्छिन् । साथीको स्टाटसले उनको मन थामिन सक्दैन । उनी आमालाई सो स्टाटस देखाउँछिन् । आमा बोल्न नै सक्दिनन् । आफ्नो घरमा डेरा गरेर बसेपनि आफ्नै छोरी रीतालाई जत्तिकै सुनितालाई पनि माया गरेको आमा सम्झन्छिन् । उनलाई पनि असाध्यै नरमाईलो लाग्छ ।

तर, सुनिताले मात्र यस्तो स्टाटस लेखेकी होइनन् । काठमाडौ शहर छाडेर गाउँ पुगेका हजारौँले यस्ता स्टाटस पोष्ट गर्न छाडेका छैनन् । त्यसैले रीता, सुनिताको स्टाटस स्वभाविकै भएको स्वीकार्दै बिर्सने कोशिश गर्छिन् ।

तर, गाउँ पुगेका मानिसहरु शहरभन्दा गाउँ नै राम्र्रो, गाउँ नै सुरक्षित भन्दै गाउँघरको तस्वीर पोष्ट गरिरहन्छन् । रीतालाई भन्न त धेरै कुरा भन्न मन छ कि, ‘गाउँ छ र त शहर छ । शहर छ र त गाउँ छ । शहरको आवश्यकता परेर त शहर बसाईयो । ठूलाठूला शहरको विकास गरियो । राम्रो शिक्षाको अवसरका लागि, राम्रो स्वास्थ्य, राम्रो रोजगारी, राम्रो उद्यम र विदेश जाने राम्रा अवसरका लागि शहरको विकास भएको हो । अनि गाउँको महत्व छ र त गाउँ गाउँ नै रहिगयो । गाउँ र शहर विशेषताहरुमा भिन्नै होलान् तर यी दुबैबिना मानव सभ्यता असम्भव छ । यस्तो कुरा मानिसहरु किन बुझ्दैनन् ।’ रीता असाध्यै हैरान पर्छिन् । ‘आ होस् है’ भनेर रीता सिरकले मुख छापेर ओछ्यानमा सुतिरहन्छिन् ।

लकडाउन हुनथालेको महिनादिन पुग्दा रीताको मोबाईलमा पुनः ‘खिन्द्रिङ्ग’ गरेर गाउँमा उब्जाइएका टमाटर, मकै, सिमी, मुला, साग र काँक्राका तस्वीर सहित, ‘कुनैपनि अर्थमा शहरभन्दा गाउँघर नै उत्तम र सुरक्षित रहेछ’ लेखिएको सुनिताको अर्को स्टाटस देखापर्छ । सुनिताको यस्तो स्टाटसलाई पनि रीता बिर्सने कोशिश गर्छिन् ।

केहीदिनपछि, ‘शहरमा लुटेराहरुमात्र बस्दा रहेछन् । त्यहाँ गाउँबाट आएकालाई महिनैपिच्छे लुटेर खान पल्केकाहरुमात्र हुन्छन् । शहरमा निर्दयी र स्वार्थीहरुमात्र हुँदा रहेछन् ।’ शहरमा कमाएको शहरमै छाड्नु पर्ने । आदि इत्यादि लेखिएको, गाउँमा उब्जिएका अन्न, सागसब्जी, कुख्रा, बाख्रा र सुँगुरका फोटा सहितका कसैको स्टाटस रीताको मोबाईलमा ‘खिन्द्रिङ्ग’ गर्दै देखापर्छ । काठमाडौ उपत्यकामा उब्जिएका, लहलह परेका अन्न र सागसब्जी, काठमाडौका नेवारी मौलिक खानाका परिकारहरु लगायत धेरैधेरै कुराहरु कसरी चटक्कै बिर्सन सकेका होलान् गाउँ पुगेकाहरुले ? यसले भने रीताको मनको बाँध भत्काइदिन्छ । उनी सोच्दछिन्, भन्नुको पनि हद् हुन्छ र सहनुको पनि हद् हुन्छ ।

रीताको पालो दह्रोसँग स्टाटस लेखेर सामाजिक सञ्जालमा पोष्ट्याउँछिन्, ‘ए गाउँ नै राम्रो र सुरक्षित भन्नेहरु हो ! अवसरको खोजीमा कहिल्यै शहर नपस्नु ।’

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here