नेपालको नक्सा तत्काल जारी गर्न जरोकिलोको माग

0
1506

विर्तामोड ।

नेपालको राष्ट्रिय चिह्नको चित्रमा रहेको नेपालको नक्सा परिवर्तन गरेर कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा प्रयोग गर्न मौलिक जरोकिलो पार्टीले सरकारसंग जोडदार माग गरेको छ ।

पार्टीका प्रवक्ता लक्ष्मण पोखरेलले विज्ञप्ती जारी गर्दै यस्तो जनाएका हुन् ।  नेपालको राष्ट्रिय चिह्नको चित्रमा नसमेटिएको भूभागमा भारतीय पक्षद्वारा अतिक्रमण भएको भनेर गरिएका कुटनीतिक पत्राचार आफैमा विरोधाभासपूर्ण हुने भएकोले यथाशिघ्र ती भूभाग समेटिएको नेपालको नक्सा सहितको नेपालको राष्ट्रिय चिह्न सार्वजनिक गर्न पार्टीले आग्रह गरेको विज्ञप्तीमा उल्लेख छ ।

सन् १८१६ मा तत्कालिन इष्ट इण्डिया कम्पनिसंग भएको सुगौली सन्धिमा महाकाली नदी नेपालको पश्चिम सिमाना उल्लेख भएको हुँदा उक्त बिन्दु भन्दा एक इन्च मात्रै वर सार्ने कार्यको पनि कुटनीतिक तवरबाट प्रतिवाद गर्न पार्टीले आग्रह गरेको छ ।

त्यस्तै, पार्टीले कोरोना संक्रमणको कारण विश्वभरी देखिएको आर्थिक मन्दीको कारण लाखौँको संख्यामा विदेशिएका नेपाली युवा स्वदेश फर्किने सम्भावना रहेकोले ती युवालाई स्वदेशमै उद्यमशील बनाउने योजना ल्याउन सरकारलाई आग्रह गरेको छ ।

विभिन्न किसिमका श्रम, सीप र क्षमता भएका युवालाई स्वदेशमा उद्यम गर्नको लागि सहुलियत कर्जामा ऋण उपलब्ध गराउनुपर्ने आवश्यकता पार्टीले औंल्याएको छ ।

त्यस्ता युवालाई लक्षित गरी सरकारी विद्यालय तथा क्याम्पसहरुमा बजार अनुसन्धान (मार्केट रिसर्च), सेवा तथा उत्पादनको बजारीकरण (मार्के्टिङ्ग) र ब्रण्डिङ्ग सम्बन्धि आधारभुत तालिम उपलब्ध गराउन सकिए स्वदेशमै पर्याप्त उद्यमशीलताको सृजना भई स्वावलम्वी अर्थतन्त्र निर्माण हुने भएकोले यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।

मौलिक जरोकिलो पार्टीको कार्यपद्धति नै अनुसन्धान, उद्यमशीलता र विकास रहेको र पटक पटक यस किसिमको तालिम संचालन गरिसकेको अनुभव रहेको हुँदा सरकारलाई यस किसिमको तालिम संचालन गर्न आवश्यक सहयोग गर्न तत्पर रहेको स्पष्ट पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here