काठमाडौं,

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २६७ पुगेको छ। शुक्रबार थप ९ जना पुष्टि भएसँगै संक्रमितको संख्या बढेर २६७ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्सा, उदयपुर, दाङ र काठमाडौंमा नौजना कोरोना संक्रमित थपिएका हुन्।
अधिकारीले दिएको जानकारी अनुसार पर्साको वीरगञ्जस्थित नौ र १० वर्षीय बालकमा कोरोना पुष्टि भएको छ। त्यसैगरी वीरगञ्जकै २३ र ४७ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ।
अर्कातिर उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। अर्कातिर प्रदेश ५ को दाङस्थित गढवा-४,५ र तुलसीपुर-७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुषमा पनि कोरोना भाइरस पुष्टि भएको छ।
त्यसैगरी संघीय राजधानी काठमाडौंको सतुङ्गल निवासी सात वर्षीय बालकमा पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना देखिएको छ।





























