बाह्रदशी, बह्रदशी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई प्रोत्साहन भत्ता प्रदान गरिएको छ ।
उनीहरुलाई ४५ दिनको प्रोत्साहन भत्ता प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारी चेतनाथ न्यौपानेले जानकारी दिए । 
सरकारले स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी, गुणस्तरीय एवम् पहुँचयोग्य बनाउन स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीहरुको सेवा प्रवाहमा थप जिम्वेवार बनाई विशिष्ट सेवा प्रदान गर्न प्रोत्साहन भत्ताको व्यवस्था गरिएको थियो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९को संक्रमणको यो क्षणमा मानव जीवनलाई नै त्रसिद बनाइरहेका बेला अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता सहित स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) लगायतका सुरक्षा उपकरण दिने निर्णय गरेको थियो ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा कार्यरत सबैलाई प्रोत्साहन भत्ता प्रदान गरिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । उनका अनुसार चैत १५ देखि बैशाख मसान्तसम्मको प्रोत्साहन भत्ता प्रदान गरिएको छ । उनीहरुलाई १२ लाख ७२ हजार २ सय ७० रुपैयाँ प्रादान गरिएको छ ।
कोरोना भाइसरको संक्रमण बढ्दै गएर विकराल रुप लिए कार्यपालिकाको वैठकले अर्काे निर्णय गर्ने बताइएको छ ।
कोरोनासम्बन्धी उच्चस्तरीय समितिले २५ देखि ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको थियो । तर, सबै स्वास्थ्यकर्मीले नपाउने भएका छन् । कोरोनाका विरामीको उपचार गर्ने अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले मात्र प्रोत्साहन रकम पाउने भएका हुन् । मन्त्रिपरिषद्ले त्यसलाई बढाएर ५० देखि शतप्रतिशत बनाएको थियो ।
यसैबीच गाउँपालिकामा कार्यरत कर्मचारीले समेत महामारीको यो क्षणमा सहयोग गरेको छन् । अधिकृत स्तरका कर्मचारीले पाँच दिनको तलव दिएका छन् भने चौथो र पाँचौ तहका कर्मचारी तथा शिक्षकले तीन दिनको कार्यलय सहयोगी स्तरका कर्मचारीले दुई दिन र अन्यको हकमा भने एक दिनको रकम कोरोना भाइसर रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने निर्णय शाखा प्रमुखहरुको वैठकले गरेको छ । यसरी हुन आउने रकम करिव ६ लाख हुने बताइएको छ । यसैबीच स्वास्थ्यकर्मीलाई समेत स्वेच्छाले राहत कोषमा सहयोग गर्ने अनुसारेध गर्ने निर्णग भएको बताइएको छ ।





























