तीर्थराज खरेल,
गएको जेठ ३ गते जननेता मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्मानमा श्रद्धाञ्जली अर्पण गर्दै २७ औं मदन–आश्रित स्मृति दिवस मनाइयो । मदन भण्डारीलाई सम्झनु फगत औपचारिकता पुरा गर्नु मात्र होइन । सिंहदरबार र पार्टी कार्यालयका भित्तामा प्रधानमन्त्री र पार्टी अध्यक्षका फोटाहरु झुण्ड्याइएका छन्, तर जनताको हृदयमा थोरै राजनेताको मात्र फोटा सजिएका हुन्छन् । महात्मा गान्धी न भारतका प्रधानमन्त्री भए, न राष्ट्रपति नै । तर भारतीय जनताका लागि गान्धीको नाम आज पनि उत्तिकै प्यारो छ । नेताजी सुभाषचन्द्र बोस कुनै राजकीय पदमा पुगेनन्, तर यो नाम हरेक भारतीयका लागि आदर्श नाम हो । नेपालको लुम्बिनीमा जन्मेका गौतम बुद्ध राजदरवारको सुखसयल छोडेर समस्त मानवजातिको हितमा आफ्नो सम्पूर्ण जीवन अर्पण गरेकाले नै महान भएका हुन् । अहिले नेपालमा राजकीय पद प्राप्त गर्ने रोग कोभिड–१९ जस्तै डरलाग्दो रुपमा फैलिएको छ । संसदमा जाने, प्रधानमन्त्री बन्ने चर्चापरिचर्चा भद्दा मजाकका रुपमा हावामा उडाइएका छन् । यस्तो बेलामा मदन र आश्रितलाई हामी संझिरहेका छौं ।
किन कमरेड मदन आज पनि नेपालीहरुका श्रद्धापूर्वक स्मृतिमा छन् ? नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्षपुरुषका रुपमा जनजनका हृदयमा रहेका मदन आफ्ना साथी जीवराजसँग निधन भएको अढाइ दशक बितिसक्दा पनि नेपालीका हृदयमा बाँचिरहेका छन् । मन्त्री र प्रधानमन्त्रीभन्दा धेरै माथि रहेर विचार दिने नेताका रुपमा सम्झना गरिने मदन भण्डारीलाई नेकपाभित्र एक सिद्धहस्त सिद्धान्तकार, कुशल संगठनकर्ता, प्रभावशाली वक्ता, कम्युनिष्ट आन्दोलनभित्र मौलिक सिद्धान्तका प्रतिपादकको रुपमा उच्च सम्मानका साथ हेरिन्छ । तत्कालीन नेकपा एमालेको २०४९ मा सम्पन्न पाँचौं महाधिवेशनमा उनीबाट प्रस्तुत र बहुमतले पारित गरेको जनताको बहुदलीय जनवादका कारणले उनी कम्युनिष्ट आन्दोलनको इतिहासमा अमर छन् । नेकपा (माले) को २०४६ को भदौमा भएको चौथो महाधिवेशनमा कम्युनिष्ट पार्टीले बहुदलीय प्रतिष्पर्धालाई स्वीकार्ने प्रस्ताव राखेर पारित गराए पनि त्यतिबेला त्यसले उति चर्चा पाएन । जनताको बहुदलीय जनवाद जननेता क. मदन भण्डारीले प्रतिपादन गरेको नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो । पाँचौ राष्ट्रिय महाधिवेशनद्वारा अत्याधिक बहुमतद्वारा जनताको बहुदलीय जनवाद पारित गरेपछि त्यसको सिद्धान्त, कार्यक्रम र कार्यनीतिका आधारमा अघि बढ्ने क्रममा नेकपा (एमाले) सर्वाधिक जनआधारित र लोकप्रिय पार्टी बन्न पुगेको थियो ।

‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं, माक्र्सवादको सृजनात्मक प्रयोग गरा’ैं भन्ने उद्घोषका साथ सम्पन्न पाचौं राष्ट्रिय महाधिवेशनद्वारा पारित जनताको बहुदलीय जनवादको कार्यनीतिका आधारमा अघि बढ्ने क्रममा आज नेकपा माओवादीसँग एकीकरण भएर नेकपा बनेको छ । पार्टीले पटकपटक केन्द्रीय सरकार संचालन गर्ने अनुभव हासिल गरेको छ । स्थानीय तहहरुमा पार्टी मुख्य सञ्चालक बन्न सफल भएको छ । यतिबेला प्रतिनिधि सभा र राष्ट्रियसभामा पार्टी सबैभन्दा ठूलो र प्रमुख पार्टीका रूपमा कार्यरत छ । यस बीचमा पाँचौं राष्ट्रिय महाधिवेशनद्वारा पारित सिद्धान्त, नीति र कार्यक्रमको व्यावहारिक परीक्षण भएको छ । अहिले जनताको बहुदलीय जनवादको कार्यक्रम आफ्नो विशिष्टता र मौलिकताका कारण जनता माझ र पार्टी पंक्तिमा अत्यन्त लोकप्रिय बन्न पुगेको छ । राष्ट्रिय राजनीतिमा पार्टीले प्राप्त गरेका महत्वपूर्ण सफलता र उपलब्धिहरूले यसको समय सापेक्षता र औचित्यतालाई पुष्टि गरेको छ । तर सिद्धान्त, नीति, कार्यक्रम र त्यसका आधारमा पार्टी निर्माण गर्नुको मुख्य अभिष्ट के हो ? सरकारमा जानु मात्र हो ? जीवनका निम्ति उपयोगी हुन नसक्ने सिद्धान्त फेरिन्छन र फेर्नुपर्दछ । जीवनका निम्ति आवश्यक पर्ने नयाँ सिद्धान्त निर्माण गरिन्छ र गर्नुपर्दछ । माक्र्सद्वारा प्रतिपादित जीवन र जगत्को अस्तित्व र विकासको नियमलाई बोध गराउने दृष्टिकोण द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो ।
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई मार्गदर्शक सिद्धान्त मान्नु पर्छ भन्ने कमरेड मदन दूरदर्शी, परिपक्व र निडर नेता थिए । जनताको बहुदलीय जनवाद अहिले नेपाली क्रान्तिको सिद्धान्तका रूपमा स्थापित हुनुका साथै यो नेपाली विशिष्टतामा आधारित र आफ्नै विशेषता भएको नेपाली क्रान्तिको कार्यक्रम, कार्यदिशा, कार्यनीति र रणनीतिलाई निर्देशित गर्ने नेतृत्वकारी विचार बन्न पुगेको छ । जनताको बहुदलीय जनवाद वा जनताको जनवादको मार्गदर्शनमा नेकपा २१ औं शताब्दिलाई नेपाली जनताको मुक्ति र समृद्धिको शताब्दिका रूपमा अघि बढाउन सफल हुने कुराको अपेक्षा गरिएको छ । माक्र्सवाद–लेनिनवादको मार्गनिर्देशनमा जनताको बहुदलीय जनवादको आलोकमा र विगतमा भएका जनान्दोलन, जनसंघर्ष र जनयुद्धको जगमा नेपालमा सामाजवादको विकास कसरी गर्न सकिन्छ भन्ने आजको मूल प्रश्न भएको छ । एकीकृत पार्टीको रुपमा रहेको हालको नेकपाको ‘जनताको जनवाद’ सारमा जनताको बहुदलीय जनवादभन्दा तात्विक रुपमा फरक छैन ।
विश्व कम्युनिष्ट आन्दोलनको विशद् अध्ययन र निष्कर्षका आधारमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको हो । नेपाली राजनीतिक आकासमा ज्वाज्वल्यमान ताराका रुपमा उदाएका राष्ट्रवादी भण्डारी कम्युनिष्ट आन्दोलनका निधि हुन् । विपक्षीलाई तर्कसहित ललकार्न सक्ने, नैतिक साहस भएका, मनोहारी भाषणकलाका धनी भण्डारीले विश्व कम्युनिष्ट आन्दोलन र विशेष गरी नेपाली कम्युनिष्ट आन्दोलनको गहिरो संश्लेषण गरी कम्युनिष्ट आन्दोलनको मौलिक बाटोको खोजी गरी जनताको बहुदलीय जनवादको रुपमा प्रस्तुत गरे । दुःखलाग्दो कुरा यो भएको छ कि आज जबज पुजिने वस्तु झैं भएको छ । कम्युनिष्टहरुले पनि श्रेष्ठता कायम भएको पुष्टि गर्न र शासन गर्न जनताबाट अनुमोदित हुन आवश्यक छ र क्रान्तिपूर्व पनि कम्युनिष्टहरु सरकारमा जाने, क्रान्तिपूर्व बनेका सरकारले सुधारका कामहरु गर्दै क्रान्ति सम्पन्न गर्ने भण्डारीको जबजको सार हो । माक्र्सवादी सिद्धान्त त निरन्तर जनताको माझमा दैनन्दिन जीवनमा आइरहने जीवनोपयोगी सिद्धान्त हुनुपर्छ भन्ने जबजको स्पष्टोक्तिलाई नेकपाले दह्रोसँग पक्रिन सकिरहेको छैन भन्ने गुनासो पनि उत्तिकै छ । बरु क्रान्ति सम्पन्न गर्न सघाउ पुग्ने गरी क्रान्तिपूर्व सरकार बनाउन सकिन्छ भन्ने विचारलाई टेकेर यथास्थितिमा चक्कर लाउने र जनताको बहुदलीय जनवादको रट पनि लगाइरहने डरलाग्दो परिस्थिति विकास हुने खतरा बढेको छ ।
तलको संघर्षलाई माथिको संघर्षसँग जोडी बलपूर्वक फड्को मार्ने र क्रान्ति सम्पन्न गरी समाजवादमा प्रवेश गर्ने जनताको बहुदलीय जनवादको मूल मर्म हो । सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर हुनुभएन । अहिले तलको संघर्ष कहाँ छ ? कुन योजना अनुसार कुन पार्टी संगठनले तलको संघर्ष सञ्चालन भइरहेको छ ? जबजलाई जनताको जीवनमा खुशहाली ल्याउने सिद्धान्त हो भनेर मानिन्छ, तर यही जबजकै आधारमा नेकपा संसदीय व्यवस्थालाई आफ्नो अभिष्ट मान्ने पार्टीको रुपमा परिणत भएमा मदनले सोच र विचार पूरा होला र ?
मदनलाई सम्झँदा उनको अन्तरपार्टी जनवादका बारेमा अघि सारेका दूरगामी सोचका बारेमा पनि बुझ्न आवश्यक छ । जनताको बहुदलीय जनवादले सैनिक वा राजकीय पार्टीको दृष्टिकोणलाई अस्वीकार गरेको छ । पार्टी जहिले पनि राजनीतिक पार्टी नै हुनुपर्ने कुरामा जोड दिएको छ । नीति र नेतृत्व निर्माणमा कार्यकर्ता र जनताको भूमिका निर्णायक हुने गरी जनआधारित कार्यकर्ता पार्टीको अवधारणालाई आत्मसात् गरेको छ । यो विचारले माथिबाट नियुक्त गरिएका नेता–कार्यकर्ता होइन, जनता तथा कार्यकर्ताबाट अनुमोदित नेता–कार्यकर्ताको अवधारणालाई आत्मसात् गरेको छ । यी मान्यताहरू आज पनि आधारभूत रूपमा सही छन् । हरेक लोकतान्त्रिक पार्टीले यी मान्यताहरूलाई निरन्तरता दिनुपर्दछ र समयोचित ढङ्गले विकसित पनि गर्दै जानुपर्दछ । अहिलेको मुख्य बहस समाजवादी कार्यक्रमका बारेमा भइरहेको छ । नेपालको संविधान २०७२ ले पनि नेपाललाई समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था मानेको छ ।
सबै प्रकारका शोषण र भेदभावको अन्त्य, कामअनुसारको दामको न्यायोचित वितरण प्रणाली, समानता, सामाजिक न्याय र समृद्ध समाजजस्ता मानवीय मूल्यहरू समाजवादका मूल विशेषता हुन् । विचारको स्वतन्त्रता, राजनीतिक प्रतिष्पर्धा, बालिग मताधिकार, आवधिक निर्वाचन, संसद्को सर्वोच्चता, कानुनी राज आदि हामीले आत्मसात् गरेका राज्यसत्ता सङ्गठित गर्ने र परिचालन गर्ने विधिहरू हुन् । यी विशेषताहरूलाई जनताको बहुदलीय जनवादमा मात्र होइन, समाजवादमा पनि उत्तिकै महत्वका साथ आत्मसात् गर्नुपर्दछ । मदनले भनेका थिए, ‘वर्गहरु रहेसम्म तत्तत् वर्गको स्वार्थ पक्षपोषण गर्ने पार्टीहरु रहन्छन् ।’ तसर्थ जनवादी र समाजवादी दुवै चरणमा बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अवलम्बन गर्नुपर्दछ भन्ने मदनको स्पष्ट दृष्टिकोण थियो । उग्रवामपन्थीहरुले उनको यो विचारलाई काउत्स्की र बन्र्सटाइनको विचार मानेर आलोचना पनि गरे । तर भण्डारीले यो कम्युनिष्ट आन्दोलन असफल हुने प्रमुख कारण माने । यस सन्दर्भमा हामीले पूर्वी युरोप र सोभियत सङ्घको अनुभवबाट पनि शिक्षा लिन जरुरी छ । ७० वर्षको सोभियत सङ्घ र दशकौं पुरानो पूर्वी युरोपको समाजवादी सत्ता पटकासम्म पनि नपट्काई बालुवाको घरझैं ढल्न पुग्यो र ती मुलुकहरू पुँजीवादी व्यवस्थामा फर्किए । रुस लगायत पूर्वी युरोपका समाजवादी भनिएका सत्ताको रक्षाका लागि किन कुनै पनि नागरिक विद्रोहमा उत्रेन ? यस निम्ति साम्राज्यवादको प्रयत्नले जरुर काम गरेको छ तर मुख्य कारण भने त्यहाँका कम्युनिस्ट पार्टी र समाजवादी सत्ताका गल्ती–कमजोरीहरूले उत्पन्न गरेको जनआक्रोश नै हो ।
जनताको असन्तुष्टिलाई सङ्गठित गरेर समाजवादी सत्तालाई पल्टाउने काममा त्यहाँका पुँजीवादपन्थीहरू सफल भएका हुन् । किन कम्युनिष्ट सत्तालाई बचाउन जनता सडकमा निस्केनन् ? यसको स्पष्ट जवाफ छ–कम्युनिष्ट पार्टी जनताबाट अलग भएर हो, शासकहरु पार्टीबाट कटिएर हो । अन्तरपार्टी जनवादको कमीबाट अधिनायकवादी सोचको उदय भयो र नेतृत्व जनताको सेवक नभएर शासक भए । यसबाट नेपालमा शिक्षा लिने कि नलिने ? यदि जनता कम्युनिस्ट पार्टी र समाजवादी सत्तासँग असन्तुष्ट भएका हुँदैनथे भने पुँजीवादपन्थीहरूको प्रयत्न सफल हुने थिएन । यस सन्दर्भमा पनि मदन भण्डारीको सोच स्पष्ट र दूरदर्शी थियो ।
संघ, प्रदेश र स्थानीय तहमा झण्डै दुई तिहाइको हाराहारीमा अहिले नेकपाको नेतृत्वमा सरकारहरु बनेका छन् । सरकार अभिष्ट हो कि साधन हो ? अहिले नेकपाका सबैजसो केन्द्रीय तहका नेताहरु सरकारलाई सर्वश्व मानिरहेका छन् । तीतो भए पनि नेकपाको सचिवालयमा रहेका गत आम निर्वाचनमा जनमतद्वारा पराजित नेताहरु राष्ट्रिय सभामा जान र प्रतिनिधिसभामा जाने बाटो बनाउन खोजिरहेका छन् । आजको मूलभूत प्रश्न भनेको पार्टी कहाँ छ ? जनसरोकारका मुद्दाहरुमा नेकपाको चिन्तन शुन्यप्रायः छ । नेकपाको पतनको शुरुवात यही विन्दुबाट हुने निश्चित छ । तीनै तहका सरकारहरुले जनमुखी कार्यक्रमहरु ल्याउनुपर्छ भन्नेमा विमति हुँदैन, तर ती नीति र कार्यक्रम निर्माण गर्न सबैभन्दा बढी सहजीकरण पार्टीले गर्नुपर्नेमा त्यो काम सरकारमा जानेहरुकै मात्र हो भनेर पन्छिनु नै सबैभन्दा ठूलो दुर्भाग्य हो ।
सरकारमा रहनेहरुले पनि पार्टी र कार्यकर्ता पंक्तिको सहयोग आवश्यक छैन भनेर आफ्नो प्रमुख आधारलाई नजरअन्दाज गर्नु महादुर्भाग्य हो । जनताको जनवाद भनेको जनताका वीचमा रहेका श्रेष्ठतम विचारहरुलाई समाज परिवर्तनका लागि नेतृत्व गर्न दिने हो । सरकारमा रहने, सरकारमा नरहने र संसदमा जानैपर्ने रोगबाट ग्रस्त सचिवालयदेखि राजनीतिलाई संसदीय मोर्चामा मात्र सीमित गर्ने नेता–कार्यकर्ताहरुले बुझ्नैपर्ने कुरा भनेको नेकपा अहिले नेपालमा सरकारमा छ, तर यो सत्ता कम्युनिष्ट सत्ता होइन । जनताबाट अलगथलग भएर पार्टी टिक्दैन र पार्टीबाट अलग भएर सरकार चल्दैन । विचार र कार्यक्रमको मूलस्रोत जनपक्षधरताको जगमा उभिएको पार्टी हो भन्ने सच्चाइलाई ग्रहण गर्न सकेमा मात्र नेकपाको भविष्य सुनिश्चित हुनेछ ।
























